विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण ७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

‘म प्रधानमन्त्री छँदा, मैले अठोट गर्न सकेको थिएँ कि, मेरो परिवारको जस्तो व्यवस्था यहाँका गरिबभन्दा गरिब परिवारलाई १५ वर्षमा उपलब्ध गराउन सक्छु ।’
– वी‍.पी. कोइराला

उक्त भाषणको अंश देशमा प्रजातन्त्र र आर्थिक समृद्धिका लागि इतिहासमा सबैभन्दा बढी सङ्‌घर्ष गरेका पूर्वप्रधानमन्त्री तथा तत्कालीन नेपाली काँग्रेसका सभापति स्व. विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको हो । जुन, काँग्रेसको वेबसाइटमा सुरक्षित उनको छोटो भिडियोमा उल्लेख छ । वीपीले यत्ति बोलीसक्दा दर्शकदीर्धाबाट परररर...... ताली बजेको सुनिन्छ ।

वीपीले कति वर्ष अगाडि, कुन सालमा, कुन ठाउँमा त्यो कुरा बोलेका थिए ? थाहा पाउन इतिहासको गहिरो खोज अनुसन्धान गर्नुपर्ला । प्रजातन्त्र र आर्थिक समृद्धिको मुद्दालाई सँगसँगै बोकेर हिँडेको काँग्रेसले भने अनुसार साँच्चै देशले समृद्धिको उचाई नाप्न सक्यो त ? ‘समयान्तरमा राजनीतिक दलहरूले बोकेका मुद्दाहरू फेरिएर, योजना, रणनीति र कार्यक्रम कार्यान्वयन नभएर विकास निर्माणका काम मूलधारभन्दा बाहिर भएका हुन् भन्ने कुरामा विश्वस्त हुने बलियो आधार बनेको छ ।

अझ, पछिल्ला दशकहरूमा अधिकार, आर्थिक समृद्धि र लोकतन्त्रका नाममा उठेका असन्तुष्टिका सङ्‌घर्षले छिटो–छिटो राजनीतिको रङ र सत्ता परिवर्तन हुँदै आयो । यस्तै, अन्तरविरोध र सत्ता सङ्‌घर्षका खेलले आमनागरिकमा चरम निराशा भरिँदै गएको पक्षलाई स्वीकार्नै पर्ने हुन्छ ।

तत्‌तत् समयमा सडक पूर्वाधार, ऊर्जा तथा जलविद्युत्‌को समुचित विकास हुन नसक्दा, सर्वसाधारणको जीवनस्तर नफेरिँदा, चरम निराशा उत्पन्न हुँदा निम्तिएको विद्रोहले विकास निर्माणको गतिशीलतामा ब्रेक लगाएको पक्ष सजिलै बुझ्न सकिन्छ । नागरिकको यही निराशालाई प्रतिनिधित्व गर्दै कुनै कालखण्डमा खरो स्वभावका राजनीतिज्ञ तथा पूर्व–राष्ट्रिय पञ्चायत सदस्य स्व. रुपचन्द्र विष्टले कहीँ बोलेको भेटिन्छ– नेता जनताको कानमा बलात्कार गरिरहने, जनता आनन्दले सहिरहने ।

देशको पछिल्लो तीन दशकको इतिहासमा यही भनाइ दोहोरिरहे जस्तो लाग्छ ।

देशबाट पञ्चायती व्यवस्था फाल्न राजनीतिक दलहरूले जुन ताकत देखाएका थिए; त्यसपछि, बहुदल र लोकतन्त्र ल्याउन जे जस्तो जोडबल भयो– त्यही सामर्थ्य, इच्छाशक्ति र हुटहुटी विकास निर्माणमा देखाएको भए देश पक्कै समृद्ध र समुन्नत बनिसक्थ्यो; नेपालीहरू समुन्नत देशका नागरिक भइसक्थ्यौँ ।

पञ्चायती व्यवस्था फालेपछि पहिलो पटक २०४८ सालमा आमनिर्वाचन भयो । अनि सुरु भयो, राजनीतिक दलहरूले सपना बाँड्ने सिलसिला; त्यसअघि पनि सपना नबाँडिएका होइनन् तर ती अधिकांश व्यवहारमा परिणत भएको इतिहास पाइन्छ । आज देश विकास गर्ने राजनीतिक पार्टीका घोषणा, योजना र अधिकांश कार्यक्रम कागजमा सीमित हुन थालेका छन् । २०३६ सालपूर्व तत्कालीन राजा वीरेन्द्रका पालामा निर्मित विद्युतीय संरचनाहरूले जेनतेन विद्युत् आपूर्ति हुँदै आएको तथ्य हाम्रा सामु छ ।

ऊर्जा तथा जलविद्युत् र पूर्वाधार विकासबाट देशलाई समृद्ध बनाउने योजनाको खेत धेरै रोपियो तर भने जस्तो बाली कहिल्यै लागेन । देशमा अपार जलसम्पदा छ; यसको सदुपयोग गर्दै जलविद्युत् विकास गर्ने मुद्दामा प्रायः राजनीतिक दलहरू एकै ठाउँ उभिदै आए, उभिएकै छन् । यो नै आर्थिक विकासको मूलआधार भन्ने गरेको दशकौँ भयो तर नतिजामुखी हुन सकेको छैन । तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यले निजी क्षेत्रलाई अगाडि बढाउने पहल नगरेको भए आज विद्युत् विकासको अवस्था भयावह हुने रहेछ ।

राजनितीक दल, तिनका योजना र जनतासामु पेस गरिएका ‘घोषणाभित्रको विद्युत् विकास हुन नसकेको’ तीतो यथार्थ सबैका सामु छर्लङ्ग छँदैछ । दशकौँदेखि कागजमा हजारौँ मेगावाट विद्युत् उत्पादन भयो तर देश अन्धकारमा रुमल्लिइरह्यो ।

राणाकालदेखि आफूलाई प्रजातन्त्र, समाजवाद र विकासको पहरेदार ठान्दै आएको जेठो राजनीतिक दल काँग्रेसले २०४८ सालयताका ३० वर्षमा अनगिन्ती योजना तथा कार्यक्रम बनायो तर पूरा गर्ने दिशातर्फ पर्याप्त काम हुन सकेनन् । काँग्रेस बहुदल, मध्यावधि र लोकतन्त्रसम्म भयो; २०४८ सालअघि २०१५ सालको पहिलो निर्वाचनसमेत जोड्दा यो पार्टी सहभागी भएको निर्वाचन संख्या ८ हुन्छ ।

राजनीतिक घोषणापत्रहरू तथ्यपरक हुन् वा होइनन् ? उनीहरूले ती घोषित योजना कार्यान्वयनमा किन तदारुकता देखाएनन् ? यसबारे नागरिकस्तरबाट पनि लेखाजोखा हुन सकेन । हजारौँ मेगावाट उत्पादन गरेर विदेश निर्यात गर्ने सपनाका पछाडि कहिलेसम्म दौडिरहने ?

यसैगरी, नेकपा एमालेले जनतासामु राज्य निर्माणमा आफूलाई निर्विकल्प दल घोषित गर्दै आयो । हरेक निर्वाचनमा जनताका अघि सार्ने घोषणापत्रभित्रको विकास कागजबाट बाहिर आएन; उसले पनि ७ वटा निर्वाचनमा सहभागिता जनाइसकेको छ । एमालेको कनिके कार्यक्रम र बजेटले ऊर्जा क्षेत्र थप उपेक्षित भइरहेको पाइयो ।

उता देशलाई १० वर्षमै सिंगापुर बनाउने परिकल्पना गर्दै विद्रोह गरेको नेकपा माओवादी केन्द्रले देशलाई अग्रगमनको दिशातर्फ लैजानुको साटो विकास निर्माणलाई झन्डै ५० वर्ष पछडि धकेल्यो । जन–आन्दोलन २०६२/६३ वा लोकतन्त्रपछि पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बनेर सत्तामा पुगेको ऊ काण्डै–काण्ड मच्चाएर ९ महिनामै बाहिरियो । यद्यपि, त्यसयता माओवादी अधिकांश समय सत्तामै छ ।

पछिल्ला १० वर्षदेखि ऊर्जा क्षेत्र कम्युनिष्ट, अझ माओवादीको नेतृत्वमा चलिरहेको छ । यो नेतृत्वले ऊर्जा क्षेत्रमा भएका प्रशासनिक, प्राविधिक र वित्तीय संरचनाको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुको साटो दोहोलो काढ्दै आएको निजी विद्युत् उत्पादकहरूको गुनासो सुनिन्छ ।

माओवादी दुई पटक संविधानसभा र दुई वटा आमनिर्वाचनमा सम्मिलित भयो तर छिटपुटबाहेक घोषित योजना कार्यान्वयनमा कहिल्यै दिलचस्पी देखाएन । सत्तामा पुग्न केही क्षेत्रीय पार्टीहरूको मुख्य भूमिका हुने गरे पनि दशकौँदेखि यिनै तीन दलले बाँडीचुँडी देशको बागडोर सम्हाल्दै आएका छन् । इतिहासदेखि नै यी दलले भनिरहे– विकास निर्माणको एउटै आधार, ऊर्जा तथा जलविद्युत् विकास । अहिले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)’ थपिएको छ, सपना बाँड्ने भीडमा ।

कागजमा हजारौँ मेगावाट विद्युत् उत्पादन भइरह्यो तर नागरिकले उपभोग गर्न पाएनन् । केही सरकारी, निजी उत्पादन र केही भारतबाट आयातित विद्युत्‌को भरमा अहिले देशमा ऊर्जा उपभोग भइरहेको छ । २०४८ सालको निर्वाचनदेखि राजनीतिक दलले विद्युत् उत्पादन गर्न घोषणापत्रमा के–के लेखे ? ती योजना कति पूरा गरे ? अब नागरिकहरूले नेता, मन्त्री र विकासवादीलाई प्रश्न सोध्ने कि नसोध्ने ?

राजनीतिक घोषणापत्रहरू तथ्यपरक हुन् वा होइनन् ? उनीहरूले ती घोषित योजना कार्यान्वयनमा किन तदारुकता देखाएनन् ? यसबारे नागरिकस्तरबाट पनि लेखाजोखा हुन सकेन । हजारौँ मेगावाट उत्पादन गरेर विदेश निर्यात गर्ने सपनाका पछाडि कहिलेसम्म दौडिरहने ? यहाँ त्यसको उठान गरिएको छ ।

नेपाली काँग्रेस

काँग्रेस देशकै जेठो राजनीतिक दल हो; जो २०१५ सालमै निर्वाचनमा सहभागी भएर सत्तामा पुगेको थियो । २०१७ सालको पञ्चायती व्यवस्थापछि खुम्चिएको काँग्रेस २०४८ सालदेखि निरन्तर सत्ताको केन्द्रमा छ । उसले त्यतिबेलै, विद्युत् उत्पादन गरेर विदेश निर्यात गर्ने सपना बाँड्यो; जुन आर्थिक, प्राविधिक र पूर्वाधार निर्माण नभइसकेको अवस्थामा सम्भव थिएन । उसले ७ वटा निर्वाचनमा सहभागी भइसक्दासम्म विद्युत् विकासका मुद्दा, नीति तथा रणनीतिमा खासै नयाँ सोच पस्किएको देखिएन । रणनीतिक महत्त्वका आयोजना अध्ययन, निर्माण योजना तथा कार्यान्वयन पक्ष दयनीय पाइन्छ । घोषित योजना कार्यान्वयनलाई नागरिकको आर्थिक अवस्थासँग तादम्यता मिलाउन नसक्दा यो पार्टीको राजनीतिक यात्रा पनि निकै उतारचढाव हुँदै आएको छ । जसका कारण नेपाल लोडसेडिङमुक्त हुन सकेको हो भन्दा अत्युक्ति हुँदैन ।

घोषित योजना र कार्यान्वयन

१. २०१५ सालको आमनिर्वाचन

घोषणा : नदी र झरनामा लुकेर रहेको विद्युत् शक्ति छ । निर्वाचनमा सफलता पाएको खण्डमा कृषि उत्पादनमा व्यापक वृद्धि तथा औद्योगिकीकरण गर्ने ।

कार्यान्वयन : लामो राजनीतिक क्रान्ति सफल तुल्याएर विकासको नयाँ चरणमा उक्लेको काँग्रेसले यो निर्वाचनका क्रममा विद्युत् विकासबारे बोलेको विषय उल्लेखित एक लाइनमात्र हो । ‘कृषिको उत्पादन बढाउँछु’ भनिरहँदा सिँचाइका लागि बाँध तथा कुलो निर्माणसँगै ‘विद्युत् अपरिहार्य छ’ भन्ने कुरामा उसको दृष्टि नपुगेको देखिन्छ ।

द्रुत गतिबाट औद्योगिकीकरण गर्न साना ग्रामीण घरेलु उद्योग स्थापना, मझौला र ठूला उद्योग विस्तारका योजना छन् । तर, यी उद्योग सञ्चालन कसरी गर्ने ? कसरी सञ्चालन हुन्छन् ? यिनको इन्धन के हो ? यसमा एक शब्द पनि कहीँ उल्लेख नहुनु ज्यादै दुःखद पक्ष हो । दुनियाँ बुझेका, दशकौँदेखि भारतमा बसेर त्यहाँको विकास देखेका वीपीले औद्योगिकीकरणको कच्चा पदार्थ के रहेछ भन्ने नबुझेको भन्न मिल्दैन ।

अझ त्यसअघि राणाहरूले फर्पिङ (५०० किलोवाट) र सुन्दरीजल (६४० किलोवाट) निर्माण गरिसकेको देखेका, सुन्दरीजलमै जेल–जीवन बिताएका वीपीले जन्माएको काँग्रेसले विद्युत् उत्पादन, प्रसारण र वितरणमा ‘चुँ’सम्म नबोल्नुले इतिहासदेखि विद्युत् विकासलाई कतिसम्म नजरअन्दाज गरिएको रहेछ भन्ने प्रस्ट हुन्छ । विकसित देशालाई हेर्दा विद्युत् विकास र औद्योगिकीकरण सँगसँगै भएको पाइन्छ तर नेपालले यो पक्षमा ध्यान नदिनु तथा आजसम्म परिस्थिति नबदलिनु उदेकको कुरा हो ।

राणाहरूले फर्पिङ (५०० किलोवाट) र सुन्दरीजल (६४० किलोवाट) निर्माण गरिसकेको देखेका, सुन्दरीजलमै जेल–जीवन बिताएका विपिले जन्माएको काँग्रेसले विद्युत् उत्पावन, प्रसारण र वितरणमा ‘चुँ’सम्म नबोल्नुले इतिहासदेखि नै विद्युत् विकासलाई कतिसम्म नजरअन्दाज गरिएको रहेछ भन्ने प्रस्ट हुन्छ ।

२. २०४८ सालको आमनिर्वाचन

घोषणा :
(१) सबै गाउँ तथा सहरमा बिजुली पुर्‍याउने; विद्युत् उत्पादन गरी निर्यात गर्ने र राष्ट्रको आय वृद्धि गर्ने, साना जलविद्युत् विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ।
(२) पूर्व मेचीदेखि–पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल, ट्रली बस तथा साना सडकमा ट्रली बस चलाउने ।

कार्यान्वयनः २०१५ सालमै देशको मुहार फेर्ने सङ्कल्प लिएको दलले २०४८ सालको प्रजातन्त्र पुनस्थापनापछि त आफ्ना मुद्दालाई धमाधम कार्यान्वयन गर्दै लैजान सक्नुपर्थ्याे । उसका घोषणा मध्ये साना जलविद्युत् विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने योजना सफल भयो । तत्कालीन जलस्रोत राज्यमन्त्री लक्ष्मणप्रसाद घिमिरेको जोड–बलमा विद्युत् ऐन र नियमावली बने र निजी क्षेत्रलाई अनुमतिपत्र दिएर जलविद्युत् विकासमा प्रवेश गराइयो । जसलाई अभूतपूर्व उपलब्धि मान्न सकिन्छ तर पूर्व–पश्चिम विद्युतीय रेल र ट्रली बस चलाउने कुरो कतिको सामन थियो ? सम्भव थिएन भने त्यसलाई दीर्घकालीन योजनामा राख्न सकिन्थ्यो होला ।

३. २०५१ सालको मध्यावधि निर्वाचन

घोषणा : ग्रामीण विद्युतीकरणमा जोड दिने र साना आयोजना निर्माण गर्ने ।

कार्यान्वयन : काँग्रेसले जनताबाट पाएको समर्थन जोगाउन सकेन; पूर्ण बहुमतको सरकार ३ वर्ष नपुग्दै ढल्यो । आन्तरिक कलह, गुटबन्दी र प्रतिपक्षको उदण्ड व्यवहारका कारण पनि सरकार टिकेन; घोषित योजना पनि कार्यान्वयन भएनन् । आज पनि अधिकांश ग्रामीण क्षेत्र अँध्यारोमै छन् । विद्युत् पुगेका ठाउँमा समेत नियमित आपूर्ति छैन । काँग्रेसले ५ वर्ष सरकार टिकाएको भए देशमा राजनीतिक संस्कार स्थापित हुन्थ्यो । पूर्वाधार तथा विद्युत् विकासका लक्षित योजना कार्यान्वयन हुँदै जाने आधार बन्न सक्थ्यो ।

४. २०५६ सालको मध्यावधि निर्वाचन

घोषणा : देशका सबै गाउँमा विद्युत् पुर्‍याउने र बढी भएको बेच्ने; विद्युत् बिक्रीबाट बर्सेनी अबौँ रुपैयाँ आम्दानी वृद्धि गर्ने ।
कार्यान्वयन : वर्षमा १ मेगावाट उत्पादन नभए पनि विद्युत् बेच्ने सपना बाँड्न भने छोडिएन । जुन घोषणामा मात्र सीमित रह्यो ।

५. २०६४ सालको संविधानसभा निर्वाचन

घोषणा :
(१) जलस्रोतको प्रवर्द्धन गर्ने अविलम्ब राष्ट्रिय सहमतिमा राष्ट्रिय र वैदेशिक लगानी प्रवर्द्धन गरिने ।
(२) माथिल्लो तामाकोसी, पश्चिम सेती, अरुण तेस्रो, माथिल्लो कर्णाली लगायत ठूला, मझौला र साना आयोजना यथाशीघ्र कार्यान्वयन गर्ने ।
(३) विद्युत् निर्यातबाट अर्बौँको विदेशी मुद्रा आर्जन मात्र होइन, सुलभ र सस्तो ऊर्जा विकास गरी देशभित्रका औधोगिकीकरणको आधार सिर्जना गरिने ।
(४) वैकल्पिक ऊर्जा स्रोतहरूको उपभोग गरी आगामी १० वर्ष अर्थात् २०७४ सालभित्र देशका सम्पूर्ण भू–भागमा विद्युत् पुर्‍याइने ।

कार्यान्वयन : २०७० सालसम्म आइपुग्दा घोषित ५ वर्ष पूरा भयो तर काँग्रेसका योजना कार्यानयनमा गएनन् । उल्टो संविधान निर्माण गर्न भनी गरिएको निर्वाचनले जिम्मेवारी पूरा गर्न सकेन र पुनः अर्को निर्वाचनको तयारी गरियो । घोषित कुनै पनि ठूला आयोजना निर्माणमा गएनन् । १० वर्षमा ५ हजार मेगावाटका आधारमा ५ वर्षमा २५०० मेगावाट उत्पादन हुनुपर्थ्याे; जुन घोषणामै सीमित रह्यो । वैदेशिक लगानी भित्र््याउने योजना तथा नीति–कार्यक्रम बन्नै सकेनन् । विद्युत् अत्पादनमा निजी क्षेत्र अति उत्साहित हुँदा पनि सरकारले उचित वातावरण बनाउन सकेन ।

६. २०७० सालको संविधानसभा निर्वाचन

घोषणाः ‘नेपालको समृद्धि, कृषि पर्यटन र ऊर्जा विकास औद्योगिक क्रान्ति ।’

(१) ३ वर्षभित्र नेपालमा लोडसेडिङको अन्त्य गरिने; अगामी २ वर्षभित्र औद्योगिक क्षेत्र तथा कोरिडर र राजधानीलाई लोडसोडिङमुक्त गराइने ।

(२) सबै दलहरूसँग समन्वय गरी राष्ट्रिय ऊर्जा सुरक्षा नीति तयार गरिने; सबै प्रकारका नवीकरणीय ऊर्जाका स्रोतहरूलाई आवश्यक सहयोगसहित प्रबन्ध गरिने ।

(३) उच्च–भोल्टेज क्षमताका कम्तीमा तीन वटा अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न गरिने ।

(४) आगामी ५ वर्षभित्र कर्णाली, गण्डकी र कोसी कोरिडोरमा उच्च–भोल्टेज क्षमताका प्रसारण लाइन निर्माण सम्पन्न गरिने ।

(५) मुलुकका सबै ग्राम विकास समितिमा राष्ट्रिय प्रसारण ग्रिड पुर्‍याउने गरी कार्यक्रम सञ्चालन गरिने ।

(६) निर्माणाधीन माथिल्लो तामाकोसी, पश्चिम सेती, अरुण तेस्रो, माथिल्लो कर्णाली, माथिल्लो सेती लगायत ठुला मझौला र साना आयोजनालाई द्रुत गतिमा सम्पन्न गरिने ।

(७) आगामी ४ वर्षभित्र सबै नेपाली परिवारलाई सुपथ मूल्यमा प्रदूषणमुक्त आधुनिक ऊर्जा उपलब्ध गराउने; आन्तरिक मागभन्दा बढी ऊर्जा उत्पादन गरी ऊर्जा निर्यातलाई वैदेशिक मुद्रा आर्जनको स्रोत बनाउने ।

कार्यान्वयन : निर्वाचन भएको करिब तीन वर्ष पुग्दा, नपुग्दा देशबाट घोषितरुपमा लोडसेडिङ त हटाइने तर आपूर्ति व्यवस्थामा सुधार हुन सकेको छैन । दैनिकजसो विद्युत् कटौती भइरहने समस्या उही छ । उता, विद्युत् उत्पादनको लक्ष्यमा खासै सुधार हुन सकेन । लोडसेडिङ अन्त्यमा दलको प्रतिबद्धता भन्दा विद्युत् प्राधिकरणका कर्मचारीको कार्यदक्षता बढी जिम्मेवार रह्यो भन्दा फरक पर्दैन । बाँकी योजना कागजमा सीमित रहे ।

७. २०७४ सालको आमनिर्वाचन

घोषणा :

(१) कम्तिमा ४०० सय के.भी. क्षमताका ५ वटा अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न गरिने ।

(२) ५ वर्षभित्र पूर्व–पश्चिम उच्च भोल्टेज क्षमताको १०५० किलोमिटर ट्रंक प्रसारण लाइन निर्माण सम्पन्न गरिने ।

कार्यान्वयन : देशले संविधान पायो । संघीयतामा देश बाँडियो । यही संघीयतामा कार्यान्वयन गर्ने पहिलो निर्वाचन मंसिर १० र २१ गते सम्पन्न भयो । यद्यपि, काँग्रेसले घोषणा गरेको ५ वर्षमा ५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा हुन सकेन; जुन उसको दस्तावेजमा २०४८ देखि निरन्तरत लेखिएकै छ । २०७० सालमा घोषित योजना अनुसार ३ वर्षभित्र लोडसेडिङ अन्य गर्ने लक्ष्य पूरा भएको हुँदा अब यस उपलब्धिलाई दिगो बनाउन राष्ट्रिय ऊर्जा सुरक्षा नीति तयार गरी लागू गरिने भनिए पनि त्यसको आजसम्म मस्यौदा समेत बनेको छैन ।

८. २०७९ सालको आमनिर्वाचन

घोषणाः

(१) प्रतिव्यक्ति विद्युत् ऊर्जा खपत १२०० युनिट पुर्‍याइने ।

(२) ४०० के.भी. पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न गर्ने; विद्युतीय सवारी र चुलोको प्रयोग ५० प्रतिशत पुर्‍याई कूल ऊर्जाको १० प्रतिशतभन्दा बढी वैकल्पिक स्रोतको विद्युत् उत्पादन गर्ने ।

(३) बुटवल–गोरखपुर अन्तर्राष्ट्रिय प्रसारण लाइन सम्पन्न गरी लम्की–बरेली सहित भारतसँग थप ३ वटा र चीनसँग एउटा अन्तरदेशीय प्रसारण लाइनको अध्ययन सम्पन्न गर्ने ।

(४) विद्युत् पहुँचका लागि वितरण प्रणालीको उपलब्धता र आपूर्तिको विश्वसनीयता बढाउँदै ऊर्जा निर्यातको दीर्घकालीन सुनिश्चितता खोज्न आवश्यक पूर्वाधार र कूटनीति बलियो बनाइने ।

उल्लेखित बुँदाहरू कार्यान्वयन गर्न आवश्यक स्रोत साधन, वित्तीय व्यवस्था र नीतिगत सुधार कसरी गर्ने भन्ने कुरा कहीँ कतै उल्लेख गरिएको छैन ।

नेकपा एमाले (घोषित योजना र कार्यान्वयन)

१. २०४८ सालको आमनिर्वाचन

घोषणा : तराईमा पूर्व–पश्चिम विद्युतीय रेल्वे सञ्चालन गर्न कार्ययोजना बनाई काम थाल्ने ।

कार्यान्वयन : देशमा कहिले पहिलो त कहिले दोस्रो स्थान बनाउँदै आएको राजनीतिक दलको उपर्युक्त घोषणा कति सतही रहेछ भन्ने प्रस्टै हुन्छ । राजनीतिमा काँग्रेससँग काँध मिलाउँदै त कहिले तिक्तता साँध्दै आएको एमालेले अझ ठूला सपनाका भारी बोकाउँदै आयो । बहुदलीय निर्वाचनदेखि नै विद्युत् उत्पादन बढाएर तराईमा पूर्व–पश्चिम विद्युतीय रेल चलाउने घोषणा गर्‍यो; जुन ३० वर्षसम्म दोहोरिएकै छ ।

२. २०५१ र २०५६ सालको मध्यावधि निर्वाचन

घोषणाः पूर्व–पश्चिम रेल्वे निर्माण गर्ने, प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थ अन्वेषण गरी वैकल्पिक ऊर्जा विकास गर्ने ।

कार्यान्वयनः पूर्व–पश्चिम रेल्वे निर्माणको योजना नछोडेको एमालेले योजनाको पुनरावृत्ति मात्र गरिरहेको छ । यो अवधिमा दुई ठूला दलले सपना बाँडे तर कम्युनिष्टको तुलनामा काँग्रेसले धरातलीय पक्षमा जोड दिएको देखिन्छ । विद्युत् विकासको हकमा ‘विद्युत निर्यात्’ को सपना बाहेक पूरा गर्न सकिने मुद्दालाई प्राथमिकता दिएको देखिन्छ तर कम्युनिष्टहरू बढी क्रान्तिकारी हुनमात्र सिकेको प्रस्टिन्छ ।

३. २०६४ सालको संविधानसभा निर्वाचन

घोषणा :
(१) पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने र त्यसलाई मुख्य सडक हुँदै चीनको तिब्बतसँग आधुनिक रेल यातायात सञ्जालले जोड्ने ।

(२) स्थानीय निकाय, उपभोक्ता समिति र निजी उद्यमीले सञ्चालन गर्ने १० मेगावाटसम्मका आयोजनालाई प्रशासनिक झन्झटमुक्त बनाइने र देशका सबै भागमा विद्युत् पुर्‍याइने ।

कार्यान्वयन : लोकतन्त्र घोषणापछिको पहिलो निर्वाचनमा एमालेले पुरानै घोषणा दोहोर्‍यायो; जुन नयाँ थिएनन् । केही कामहरू कर्मचारीतन्त्र र प्रशासनिक संयन्त्रबाट हुँदै आए पनि ठूला आयोजना तथा पूर्वाधार विकास न घोषणा नै भए न त निर्माणमा लगियो ।

४. २०७० सालको संविधानसभा निर्वाचन

घोषणा : ५ वर्षभित्र आधुनिक ऊर्जामा सबै जनताको पहुँच पुर्‍याइने; लोडसेडिङ पूर्ण रुपमा अन्त्य गरिने ।

कार्यान्वयन : एमालेले यो निर्वाचनमा पनि अङ्‌कमा किटेर विद्युत् विकासको घोषणा गरेन । लोडसेडिङ अन्त्यको कुरा उल्लेख गरिएको त्यो व्यवहारमा नभए पनि घोषितरुपमा पूरा भयो ।

५. २०७४ सालको आमनिर्वाचन

एमाले–माओवादीको साझा घोषणा :

(१) ५ वर्षमा सबै उत्पादन तथा औद्योगिक क्षेत्र र सडकमा चौबीसै घन्टा पर्याप्त विद्युत् उपलब्ध गराइने । आगामी ३ वर्षमा काठमाडौँ उपत्यकाभित्र विद्युतीय सवारी मात्र उपयोग गर्ने कार्ययोजना लागू गरिने ।

(२) आगामी १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहोर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट विद्युत् उत्पादन गरिने । आन्तरिक खपत प्रतिव्यक्ति प्रतिघन्टा ११० किलोवाटबाट बढाएर १० वर्षमा १५०० किलोवाट पुर्‍याइने । आन्तरिक खपतबाट बचेको ऊर्जा निर्यात गर्न प्रसारण लाइनहरू निर्माण गरिने ।

विद्युत् उत्पादनमा मुख्य राजनीतिक पार्टीहरूको घोषणा (२०६४–२०७९)

निर्वाचन वर्ष (उत्पादन, मेगावाट)
राजनीतिक पार्टी २०६४ २०७० २०७४ २०७९
१. नेपाली काँग्रेस १० वर्षमा ५,००० ५ वर्षमा ५,००० ५ वर्षमा ५,००० ५ वर्षमा १०,०००
२. नेकपा एमाले १० वर्षमा १०,०००

 – ५ वर्षमा ६,५००

 – १० वर्षमा १५,०००

३. नेकपा (विघटित माओवादी केन्द्र) १० वर्षमा १०,०००  – १० वर्षमा १०,०००
– २० वर्षमा २५,०००
– ४० वर्षमा ४५,०००
१० वर्षमा १५,००० ५ वर्षमा ८,०००

स्रोत : सम्बन्धित राजनीतिक दलहरूको चुनावी घोषणापत्र

(३) स्वदेश र प्रवासमा रहेको नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई ४९ प्रतिशतसम्म सेयर खरिद गर्न पाउने व्यवस्था गरिने । गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जोड्न र बिजुली उपभोगमा सहुलियत दिइनेछ ।

(४) सरकार बनेको पहिलो वर्षमै पूर्व–पश्चिम राजमार्गको समानान्तर र रसुवागढी काठमाडौँ–वीरगन्जसम्म ७६५ केभी विद्युत् प्रसारण लाइनहरू निर्माण सुरु गरिने । ५ वर्षमा कार्णाली, गण्डकी र कोसी करिडोर तथा मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर उच्च क्षमताका प्रसारण लाइन जडान गरिने । 

कार्यान्वयन : दुई कम्युनिष्ट पार्टी एक भएर देशको द्रुत विकास गर्ने लक्ष्यअनुसार योजनाहरू तय गरिए पनि तिनले सार्थकता पाउन सकेनन् । अन्तरकलह र सत्ता सङ्‌घर्षकै कारण एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए; तिनका घोषित योजना तथा कार्यक्रम पनि कागजमै थन्किए ।

देशमा अझै शतप्रतिशत विद्युतीकरण भएको छैन, विद्युतीय सवारी प्रवर्द्धन तथा गार्हस्थमा विद्युत् उपभोग बढाउने आकर्षक योजना छैनन् । १० वर्षमा पूरा गर्ने भनिएका योजनाहरू बिर्सिने हो भने ५ वर्षभित्र पुरा हुने बाचा गरिएका २५ प्रतिशत कार्यक्रमले पनि पूर्णता पाएनन् । ठूला आयोजना निर्माणको घोषणा राजनीतिक दलहरूले दस्तावेजमा लेख्ने निरन्तरता मात्र बनेको देखिन्छ ।

६. २०७९ सालको आमनिर्वाचन

घोषणा :

(१) सर्वसाधारणले बेहोर्न सक्ने मूल्यमा विद्युत्‌को प्रतिव्यक्ति उपभोग वृद्धि गरिने ।

(२) घरायसी, औद्योगिक र व्यावसायिक प्रयोगबाट सबै प्रकारका सवारीहरू विद्युत्‌बाट सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणसहित प्रोत्साहनका प्याकेज ल्याइने ।

(३) प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट प्रतिघन्टा पुर्‍याइने ।

नेकपा

२०५२ सालमा सशस्त्र द्वन्द्वबाट उदाएको नेकपा माओवादी पार्टी २०८२ साल अर्थात् ३० वर्षमा अनेक भाग, भङ्गाला, विचार र दर्शनमा विभक्त भयो । २०८२ सालमा त उसले ‘माओवादी’ शब्द नै छोडेर पार्टीको नाम नै ‘नेपाली कम्युनिष्ट पार्टी (नेकपा)’ बनायो । २०७९ सालसम्म अस्तित्वमा रहेको नेकपा माओवादी २०८२ सालको चुनावसम्म आइपुग्दा करिब बिलिन भएको अवस्थामा छ । ऊ अनेक हाँगामा विभाजित कम्युनिष्ट दलसँग गाँसिएर नेकपा बनेको छ । अब उसँग इतिहासको सशस्त्र द्वन्द्व, सामाजिक एवम् सांस्कृतिक रूपान्तरण र तीव्र आर्थिक विकासका मुद्दा बाँकी देखिँदैनन् । तथापि, भाषण र कागजमा दोहोर्‍याउन भने छोडेको छैन ।

१. २०६४ सालको संविधानसभा निर्वाचन

घोषणा : सबै गाउँघरमा विद्युत् वितरण गर्दै देशलाई १० वर्षमा मध्यमस्तर, २० वर्षमा उच्चस्तर र ४० वर्षमा अति उच्चस्तरको विकासको कोटीमा पुर्‍याउने ।

कार्यान्वयनः जनयुद्धको तापबाट उठेर एकै पटक सरकारमा पुगेको माओवादीले यसरी आशालाग्दो घोषणा गर्नु सुन्दर पक्ष थियो । युद्धको त्रासबाट शिथिल नागरिकले उसबाट ठूलो अपेक्षा पनि राखेका थिए तर पछिल्लो एक–डेढ दशकमा देश र जनतालाई सबैभन्दा बढी धोका यही पार्टीले दिएको देखियो ।

२. २०७० सालको संविधानसभा निर्वाचन

घोषणा : तीन वर्षमा मुलुकलाई लोडसेडिङमुक्त गर्ने, १० हजारदेखि ४५ हजार मेगावाटसम्म जलविद्युत् उत्पादन गरिने ।

कार्यान्वयन : पहिलो संविधानसभाबाट देशले संविधान पाएन; पुनः संविधान लेख्न दोस्रो निर्वाचनको तयारी भयो । यो तयारीका बेला माओवादीले गरेको घोषणा अझ आश्चर्य लाग्दो देखिन्छ । दोस्रो संविधानसभाको निर्वाचनपछिका अधिकांश समय माओवादी नै बढी सत्तामा रह्यो तर विद्युत् विकासका योजना पूरा गर्नतिर अग्रसरै देखिएन ।

सँगसँगै, प्रसारण र वितरणतर्फ पनि उल्लेखनीय काम हुन सकेनन् । ३ वटै दलको साझा घोषणा बनेको ‘३ वर्षमा लोडसेडिङमुक्तले भने आंंशिक उपलब्धि हासिल गर्‍यो । माओवादी सत्तामै हुँदा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले त उत्पादनमा अझ महत्त्वाकांक्षी अङ्‌क प्रस्तुत गरे, ७ वर्षमा १७ हजार मेगावाट उत्पादन ।

३. २०७९ सालको आमनिर्वाचन

घोषणा 

(१) ऊर्जाका स्रोतहरू जल ऊर्जा, सौर्य, वायु, बायोग्यास र पेट्रोलियम पदार्थ आदिको वस्तुगत तथ्याङ्‌क तयार गरी सोही आधारमा कार्यान्वयन अघि बढाइने ।

(२) जलविद्युत् लगानी गर्न अभिप्रेरित गर्दै ४ हजार मेगावाटका विद्युत् आयोजना निर्माण गर्न स्वदेशी पुँजी परिचालन गरिने; विद्युत् आपूर्तिलाई गुणस्तरीय र भरपर्दो बनाउन इनजी मिक्सको कार्ययोजना लागु गरिने ।

(३) विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न मुलुकभर पर्याप्त चार्जिङ स्टेसनहरूको व्यवस्था गरी डिजेल, पेट्रोल तथा ग्यासबाट चल्ने सवारी विद्युतीयमा रूपान्तरण गरिने ।

(४) प्रमुख सहरहरूमा विद्युत् आपूर्ति गर्न भूमिगत वितरण प्रणाली विस्तार गरी ताररहित सहर बनाउने अभियानलाई अगाडि बढाइने ।

(५) प्रसारण एवम् वितरण लाइन निर्माण, विस्तार र स्तरोन्नती गर्न प्रभावकारी कार्ययोजना बनाई लागु गरिने ।

(६) ५ वर्षमा हाल निर्माणाधीन बाहेकका ५ हजार मेगावाट विद्युत् उत्पादन लगानी जुटाइने; सिँचाइमा प्रयोग विद्युत् निःशुल्क उपलब्ध गराइने ।

रास्वपा (२०७९ सालको आमनिर्वाचन)

२०७९ सालको निर्वाचन पूर्व मात्र वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग ऊर्जा विकासका खासै योजना देखिँदैनन् । तथापि उसले यस क्षेत्रको विकासका सन्दर्भमा केही बुँदाहरू उल्लेख गरेको छ ।

– सुख्खा याममा पर्याप्त उर्जाका लागि नवीकरणीय उर्जाका स्रोतहरूमा विविधिकरण गरिनेछ । जस अन्र्तगत सौर्य उर्जा र वायु उर्जामा पनि लगानी बढाइने छ । साथै पम्प स्टोरेज, लिथियम आयन ब्याट्री बैंक, ग्रिन हाइड्रोजन उत्पादन जस्ता नवीन प्रविधिहरूमा पनि सम्भाव्यता हेरिने छ ।

– विद्युतीय सवारी साधनमा शुन्य कर तथा पेट्रोलियम इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा परिवर्तन गर्न शतप्रतिशत कर्जा दिइनेछ । यसका साथै ५ वर्षभित्र पेट्रोलियम इन्धनबाट चल्ने सवारीको बिक्री–वितरण बन्द गरिने छ ।

– वि.सं. २११० सालमा नेपाल हरित (कार्बन नेगेटिभ) राष्ट्रको रूपमा स्थापित हुनेछ । दुर्लभ वन्य जन्तुको सङ्ख्यामा वृद्धि भई दुर्लभ रहने छैनन् ।

बिजुली बाँड्ने होड

जलविद्युत् विकासको १११ इतिहासमा विद्युत् उत्पादन क्षमता करिब २४ सय मेगावाट पुगेको छ । हरेक निर्वाचन बेला वा सरकारमा रहँदा ५ वा १० वर्ष १५–२० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राख्नु महत्त्वाकांक्षी मानियो तर असम्भव थिएन । यद्यपि, कुनै सरकारले पनि यी तत्परता देखाएनन् । अझ, २०७० सालपछि सरकार हाँकेकाहरूले सस्ता, लोकप्रिय कुरा मात्र गरेर समय बर्बाद गरे । यसतर्फ काम नगरे यी नागरिकलाई निःशुल्क बिजुली बाँड्नेमा प्रतिस्पर्धा देखियो ।

सरकारमा रहँदाका बाचा

पछिल्लो डेढ दशक अर्थात् जनआन्दोल २०६२/६३ पछि सत्ता बामपन्थी दलकै घेरा वरिपरि रह्यो । यो अवधिमा देशमा ११औँ पटकसम्म प्रधानमन्त्री फेरबदल भए र २९ जना नेताले सत्ताको नेतृत्व गरे । तीमध्ये काँग्रेसबाट गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा (दुई पटक) छन् ।

२०६९ सालमा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधीश खिलराज रेग्मी मन्त्रीपरिषद् अध्यक्ष भए; बाँकी समय कम्युनिष्टकै नेताले सत्ता सम्हाल्दै आएका छन् । यसबीचमा पुष्पकमल दाहाल दोहोरिए तर विद्युत् विकास मात्र होइन सम्बन्धित पूर्वाधारका कार्यक्रम कार्यान्वयनले खासै प्राथमिकता पाएनन् ।

निःशुल्क बिजुली बाँड्ने मुख्य ४ पार्टीको घोषणा

नेपाली काँग्रेस नेकपा एमाले माओवादी केन्द्र नेकपा एकीकृत एस
निर्वाचन वर्ष विद्युत् निर्वाचन वर्ष विद्युत् निर्वाचन वर्ष विद्युत् निर्वाचन वर्ष विद्युत्
२०७० दैनिक १ युनिट २०७० निःशुल्क विद्युत् दिने नीति बनाउने २०७० २०७०  –
२०७४ मसिक ३० युनिट २०७४ गरिब परिवारलाई निःशुल्क जलविद्युत्‌को सेयर २०७४ गरिब परिवारलाई निःशुल्क जलविद्युत्‌को सेयर २०७४  –
२०७९ मसिक ५० युनिट २०७९ – बर्खामा मासिक ५० युनिट
– हिँउदमा मासिक ३० युनिट
२०७९ सिँचाइमा निःशुल्क २०७९ मसिक २०० युनिट

स्रोतः सम्बन्धित राजनीतिक दलहरूको चुनावी घोषणापत्र

प्रधानमन्त्रीको कुर्सीमा बसेर २० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने उद्घोष गरेका एमाले नेता माधवकुमार नेपालले २० महिना हल्ला गरेरै कटाए । यो सरकारले विज्ञहरू खटाएरै विद्युत् उत्पादन सम्बन्धी दीर्घकालीन नीति तर्जुमा गरेको थियो तर कार्यान्वयनमा गएन । नेपालपछि प्रधानमन्त्री भएका झलनाथ खनालका ६.५ महिना पनि बोलेरै सकिए । उता, २०६८ भदौमा प्रधानमन्त्री भएका बाबुराम भट्टराईको कार्यकाल विद्युत् विकासमा खासै चर्चायोग्य रहेन ।

त्यसपछि, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली र पुनः दाहाल सत्तामा आए, गए ।

विगतलाई छोडेर पछिल्लो ९–१० वर्षलाई केलाउँदा सबैभन्दा बढी सरकार चलाउनेमा एमाले अध्यक्ष केपी शर्मा ओली अगाडि छन् । उनले ५० महिना सरकारको नेतृत्व गरे तर यसमा ४० महिना एमाले र माओवादी मिलेर बनेको नेकपाको बहुमत सरकार थियो । यसपछि, सुशील कोइरालाको २० महिना तथा शेरबहादुर देउवा (हालसम्म) नेतृत्वको करिब २६ महिना गरी ४६ महिना काँग्रेसले मिलिजुली सरकार चलाइरहेको छ । उता, माओवादी अर्थात् पुष्पकमल दाहालले १०.५ महिना सरकारको नेतृत्व गरे ।

दोहोरिएर प्रधानमन्त्री भएका दाहालको पालाका ऊर्जा मन्त्री जनार्दन शर्माले विद्युत् विकासमा चमत्कारै गर्ने घोषणा गरे । उनले अघिल्लो सरकारले तयार गरेको ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी’ योजना कार्यान्वयनमा ध्यान नदिई ३७ बुँदे कार्ययोजना अघि सारे । त्यसमा ७ वर्षमा १७ हजार मेगावाट उत्पादनको योजना थियो । ३७ बुँदेभन्दा अझ अघि बढेर शर्माले १० वर्षमा २० हजार मेगावाट उत्पादनको भाषण गर्दै हिँडे । कार्यान्वयनका जटिलता केलाउने प्रयासै गरेनन्; १० महिना कुर्सीमा रहँदा उनले एक–दुई देखिने कामबाहेक बाँकी समय गफै गरेर बिताए । यस्तै, करिब ३ वर्ष सत्तामा रहेका वर्षमान पुनले पनि एउटा प्रतिस्पर्धी दस्तावेज ल्याउने बाहेक काम गरेको पाइएन ।

निष्कर्ष

राजनीतिको धार परिवर्तन हुँदै आउँदा २०४८ सालदेखि देशले धेरै नै उतारचढाव बेहोर्‍यो । चीनले ३५–४० वर्षमा विकास निर्माणमा चमत्कारै गर्‍यो । सिङ्गापुर, श्रीलंका तथा भुटान विकासको लिकमा दौडिइरहे । नजिकैको भारतले विद्युत् तथा पूर्वाधार विकासमा छलाङ मार्दैछ तर नेपाल तीन दशकसम्म राजनीतिक संक्रमण भन्दै अल्मलिइरहेको छ । यति लामो अवधिसम्म सबै पार्टीहरूले कोरा सपना मात्र बाँडिरहे । कम्युनिष्टहरूको तुलनामा काँग्रेसले थोरै भए पनि धरातल टेकेको पाइयो । उसले ‘विद्युत् निर्यात’को सपना बाहेक विद्युत् विकासको हकमा पूरा गर्न सकिने मुद्दालाई प्राथमिकता दियो तर कम्युनिष्ट (एमाले, माओवादी हुँदै नेकपा) बढी क्रान्तिकारी हुनमात्र सिकेको देखियो ।

२०६० सालपछि कुन सरकारले के बोल्यो ?

वर्ष   प्रधानमन्त्री  ऊर्जा/जलस्रोत मन्त्री  पदमा बहाल अवधि   घोषणा (उत्पादन, मेगावाट)
 २०६५   पुष्पकमल दाहाल   विष्णुप्रसाद पौडेल        ९ महिना  १० वर्षमा १०,०००
 २०६६  माधवकुमार नेपाल           डा. प्रकाशशरण महत २० महिना  २० वर्षमा २५,०००
 २०६७   झलनाथ खनाल  भरतमोहन अधिकारी ६.५ महिना  ४ वर्षमा २,५००
 २०७२     केपी शर्मा ओली   टोपबहादुर  रायमाझी                 १० महिना    १० वर्षमा १०,०००
 २०७३       पुष्पकमल दाहाल  जनार्दन शर्मा १०.५ महिना   ७ वर्षमा १७,०००
 २०७५   केपी शर्मा ओली  वर्षमान पुन    करिब ३ वर्ष  १० वर्षमा १५,०००

स्राेत : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

आजसम्म, बूढा नेताहरूको साङ्लोले राजनीतिलाई बाँधिरहेकै छ । नयाँ जोश, योजना र कार्यक्रम लिएर अगाडि बढ्ने युवाहरूको बाटो छेकिएको छ । यतिन्जेलसम्म, राजनीतिक दल तथा नेताहरूले ढाँटेरै निर्वाचन जितिरहेका छन् । नागरिकहरू पनि ढाँटढुटमै रमाइरहेका हुन् कि ! यो वातावरण चिर्दै अब बूढा नेताको बैशाखी समाइरहने मतदाता र नागरिकप्रति पनि प्रश्न उठाउनुपर्ने बेला भइसकेको छ ।

अतः विद्युत् उत्पादन, प्रसारण, वितरण तथा व्यापारमा छलाङ मार्ने र घोषित कार्यक्रमहरू कार्यान्वयन गर्न तत्तत् क्षेत्रमा विद्यमान संरचनाहरूको पुनर्संरचना गरी निजी क्षेत्रलाई समेत सँगसँगै लिएर अगाडि बढ्नुको विकल्प देखिँदैन । आम उपभोक्तको संरक्षण र हित पनि यसैभित्र लुकेको छ ।

सन्दर्भ सामग्री

१. नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र अन्य राजनीतिक दलको निर्वाचन घोषणापत्र
२. सरकारमा रहँदा विभिन्न राजनीतिक पार्टीले घोषणा गरेका दीर्घकालीन योजना तथा कार्यक्रम
३. दशवर्षीय जलविद्युत् विकास योजना तर्जुमा कार्यदल, २०६५ को मुख्य प्रतिवेदनः भाग १
४. बीस वर्षीय जलविद्युत् विकास योजना तर्जुमा कायर्दल – २०६६ को प्रतिवेदन

यो खोजमूलक फिचर आलेख ऊर्जा खबर तेस्रो अङ्क (वर्ष २, अङ्क ३ पुस १ २०७९) बाट साभार गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३