विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी विद्युत उत्पादकहरूको छाता संस्था ‘स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)’ मा नयाँ अध्यक्ष तथा कार्यसमितिका लागि चुनावी बहस तात्न थालेको छ । वर्तमान कार्यसमितिको ३ वर्षे कार्यकाल पूरा हुनै लाग्दा चुनावी सरगर्मी सुरु भएको हो ।

२०७७ साउन ३२ गते ३ वर्षका लागि चुनिएको वर्तमान कार्यसमितिको पदावधि सकिनु अगाडि नै निर्वाचन गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने हुन्छ । अहिले अन्य पदाधिकारीमा चासो र चर्चा खासै नसुनिए पनि अध्यक्षको प्रत्याशीमा भने विद्युत विकासमा लामो समयदेखि लगानीकर्ताको रूपमा परिचित ४ जना अनुहार प्रतिस्पर्धी हुने देखिएको छ ।

अध्यक्षको प्रत्याशीमा इपानकै उपाध्यक्ष त्रय मोहनकुमार डाँगी, आशिष गर्ग र गणेश कार्की रहेका छन् भने संस्था बाहिरबाट जलविद्युत उद्यमी किरण मल्लले उमेद्वारी घोषणा गरेका छन् । उपाध्यक्ष त्रयहरू इपानमै सदस्यबाट प्रवेश गरेका हुन् भने मल्ल यसअघि कार्यसमिति सदस्यमा रहे पनि हाल इपानभित्र छैनन् ।

इपानले विद्यान संशोधन गरी अबको कार्यकालदेखि एक जना वरिष्ठ उपाध्यक्षको पद थप गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा जस्तै वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने मापदण्डभित्र रहेर अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीको चयन हुने इपानले जानकारी दिएको छ । यसर्थ, यसपाली अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदलाई निकै आकर्षणको रूपमा हेरिएको छ ।

संस्था बाहिरबाट उमेद्वारी घोषणा गरेका मल्ललाई खासै समस्या नरहे पनि इपानका उपाध्यक्ष त्रयलाई कसले छोड्ने र कसले, कसलाई सहयोग गर्ने भन्ने अप्ठ्यारो परिस्थित सिर्जना हुँदै गएको देखिन्छ । अर्को पाली वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि यसमा पनि रस्साकसी हुने प्रस्ट छ । अहिलेसम्म उपाध्यक्ष त्रयले अध्यक्षमा आफूलाई एक से एक सक्षम दाबी गरिरहेका छन् ।

हाइ हिमालय हाइड्रो कल्सल्ट प्रालिका अध्यक्ष रहेका मल्लले जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल व्यक्तिको रूपमा स्थापित गर्दै आएको देखिन्छ । यही आधारमा आफू इपानको अध्यक्षको दाबेदार रहेको उनले बताउँदै आएका छन् । उनका अनुसार उनको कम्पनीले अहिलेसम्म ३ दर्जन आयोजना निर्माणको नेतृत्व गरिसकेको छ ।

यसैगरी, ७.५ मेगावाटको तल्लो खोरुङ्गा खोलाबाट जलविद्युत व्यवसायमा जोडिएका डाँगीले थप ३–४ वटा आयोजना अगाडि बढाइरहेका छन् । इपानभित्र उनी छिटो निर्णय गर्न सक्ने र प्रस्ट व्यक्तिको रूपमा परिचित छन् । आफूले ३ वर्षमा गरेका काम र मुद्दाहरू अगाडि राखेर अध्यक्षमा दाबी गरेको उनले बताएका छन् ।

यसैगरी, अर्का उपाध्यक्ष कार्की झण्डै २ दर्जनभन्दा बढी जलविद्युत आयोजनाहरूको विकाससँग आवद्ध छन् । विगतमा मार्सल आर्टका खेलाडी समेत रहेका उनी हाल गणतन्त्र मोरिससका अवैतनिक महावाणिज्यदूत समेत छन् । सबैजसो राजनीतिक दलका नेताहरूसँग निकट सम्बन्ध राख्न सिपालु कार्की संस्थामा सन्तुलित वातावरण तयार गर्न सक्ने तथा वैदेशिक क्षेत्रमा समेत कुटनीतिक सम्बन्ध कायम गर्न सक्षम व्यक्ति मानिन्छन् ।

देशभित्र र बाहिरका विभिन्न व्यक्ति, संस्था तथा सरकारी निकायसँग बलियो सम्बन्ध रहेको हुँदा यही आधारमा भोलि निजी क्षेत्रका समस्या र मुद्दाहरू सम्बन्धित ठाउँसम्म पुर्याउन तथा समाधानमा प्रयास गर्न सक्ने भएकैले अध्यक्षमा आफ्नो दाबी रहने उनले बताएका छन् । मोरिससको महावाणिज्यदूत भएका कारण पनि अध्यक्षमा कार्कीको पल्ला भारी रहेको केही प्रवर्द्धकहरू बताउँछन् ।

अर्का उपाध्यक्ष गर्ग इपानभित्र तथा सिंगो निजी विद्युत क्षेत्रमा विज्ञ व्यक्तिका रूपमा परिचित छन् । ८२ मेगावाटको तल्लो सोलुको प्रवर्द्धक रहेका उनले अहिले त्यसको आधा स्वामित्व अर्का विद्युत व्यवसायी सुवास सांघाईलाई बिक्री गरेका छन् । उनी अहिले नेपालबाट भारतमा विद्युत बिक्री गर्न सकिन्छ र गर्नुपर्छ भन्दै सरकारीदेखि भारतका उच्च निकायसम्म लबिङ गर्दै आएका छन् ।

यस पटकदेखि पुराना जलविद्युत प्रवर्द्धक तथा अग्रजहरूलाई समेत मानार्थ सदस्य बसिदिन आग्रह गर्दै विगतमा धमिलिएको इपानको छबी सुधार्ने चर्चा पनि सुनिएको छ । बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, टिएन आचार्य लगायतलाई इपानभित्र प्रवेश गराउन निकै जोडबल गरिने भएको छ ।

इपानका वर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यसँग प्रतिस्पर्धा गरेका प्रवर्द्धक तथा जलविद्युतविदको रूपमा समेत परिचित सूर्यप्रसाद अधिकारीलाई यसपटक जसरी पनि इपानमा प्रवेश गराउने केही प्रवर्द्धकहरूले कसरत गरिरहेका छन् । विद्युत क्षेत्रको तथ्यांक विश्लेषण र अध्ययनको हकमा ‘तथ्यांक मास्टर’ नै मानिने उनलाई इपानभित्र ल्याउन यसपटक धेरैले प्रयास गर्ने भएका छन् ।

इपानका हरेक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्दै आएका बलराम खतिवडा, उत्तम भ्लोन लामा, अविज्ञा मल्ल, भरतबहादुर खत्री, प्रकाश दुलाललगायत युवाहरूको जिम्मेवारीलाई पनि विशेषरूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit