विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विभिन्न जिल्लामा निर्माण सम्पन्न भएका ४ जलविद्युत आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिन लागेकाे छ । सिन्धुपाल्चाेक, पाँचथर,संखुवासभा र नुवाकाेटमा निर्माण भएका यी आयोजनाकाे ५९ मेगावाट प्रसारण प्रणालीमा जाेडिन लागेकाे हाे ।

३६ मेगावाटकाे माथिल्लाे बलेफी ‘ए’, ८ मेगावाटको माथिल्लो हेवा, १० मेगावाटको काबेली बी–१ क्यासकेड र ५ मेगावाटको तल्लाे तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भइ विद्युत उत्पादनकाे चरणमा पुगेका हुन् । यी सबै आयोजना अहिले संरचना तथा उपकरण परीक्षणकाे चरणमा छन् ।

आयोजनामा जडान भएका उपकरणको परीक्षण गरी संरचनामा पानी भरेर परीक्षण भइरहेको  प्रवर्द्धक कम्पनीहरूले जानकारी दिएका छन् । परीक्षणकाे सबै चरण पूरा भएपछि यी आयोजनाबाट विद्युत उत्पादन सुरु गरिने भएकाे छ । सबै आयोजनाबाट २ सातासम्म परीक्षण उत्पादन गरिनेछ ।

याे अविधमा नेपाल विद्युत प्राधिकरणले निशुल्क विद्युत पाउने छ । २ साताकाे परीक्षण उत्पादनपछि यी आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु हुनेछ ।

परीक्षण अन्तिम चरणमा पुगेकाे माथिल्लाे बलेफी ए बाट उत्पादन हुने विद्युत विद्युतगृहदेखि २२ किलोमिटर दुरीमा रहेको लामोसाँघु सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहमा १२ मेगावाट क्षमताका ३ वटा उत्पादन युनिट छन् । आयोजनाको विद्युत दशैअघि नै प्रसारण प्रणालीमा जोड्ने योजना अनुसार काम गरिरहेकोमा गत असारमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोको अवरोधले उत्पादन लम्बिएको हो ।

यसअघि आयोजनाबाट २०७८ साल जेठदेखि नै विद्युत उत्पादन गर्ने लक्ष्य थियो । यही समयमा कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको समयमा  लगाइएको निशेधाज्ञाका कारण निर्माण प्रभावित हुँदा तालिका असोजमा सारिएको थियो ।

यो आयोजना सम्पन्न हुँदा ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ३० प्रतिशत ऋण र ७० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा ५ बैंकले ऋण लगानी गरेका छन् ।

यस्तै, अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीले निर्माण सम्पन्न गरेको १० मेगावाटको काबेली बी–१ क्यासकेडको गत माघ दोस्रो सातादेखि परीक्षण भइरहेको छ । निर्माण पूरा भइसकेको आयोजनाको सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरणको परीक्षण भइरहेको हो ।

यो आयोजना निर्माण सुरु भएको करिब २० महिना अवधिमा सम्पन्न भई प्रसारण प्रणालीमा जोडिन लागेको हो । आयोजनाबाट गत असोजमा नै विद्युत उत्पादन गर्ने तालिका बनेको भए पनि कोरोना (कोभिड–१९) महामारीले निर्माण अवधि लम्बिँदा आयोजनाको विद्युत उत्पादनको मिति  पनि धकेलिन पुगेको हो ।

यो आयोजना २५ मेगावाटको काबेली–‘बी’–१ को क्यासकेड आयोजना हो । काबेली–‘बी’–१ को विद्युतगृहबाट विद्युत उत्पादन भई निकास हुने पानीको उपयोग यो आयोजनाबाट विद्युत उत्पादन हुनेछ ।

आयोजनाको विद्युत प्रवाह गर्न प्रसारण लाइनको समस्या छैन । आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १ अर्ब ४० करोड रुपैयाँ बैंकको ऋण लगानी हो । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकको पनि लगानी छ । ६० करोड रुपैयाँ स्वपुँजी लगानी हो ।

संखुवासभामा निर्माण सम्पन्न ८ मेगावाटको माथिल्लो हेवाको भने आन्तरिक परीक्षण सकिएको प्रवद्र्वक अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न सबै चरणको आन्तरिक परीक्षण पुरा भइसकेको हो ।

प्राधिकरणका प्राविधिक टोली आएपछि उत्पादन परीक्षण सुरु हुनेछ । आयोजनाले उत्पादन गर्ने  विद्युत कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिनेछ ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक ४६.२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन ६.९५ र बर्खाको उत्पादन ३९.३२ गिगावाट घन्टा हुने कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा १ अर्ब ४१ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा नेपाल बैक र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

नुवाकोटमा पनि ५ मेगावाटको तादी खोला जलविद्युत आयोजनाको परीक्षण भइरहेको छ । बुद्वभुमी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत उत्पादन गर्न उपकरण र संरचनाको परीक्षण भइरहेको हो । गत माघ २२ देखि परीक्षण भइरहेको कम्पनीले जनाएको छ ।

आयोजनाको परीक्षण पूरा भएपछि प्राधिकरणको २ साता परीक्षण उत्पादनपछि व्यापारीक उत्पादन सुरु हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit