स्याङ्जा । माओवादी सशस्त्र द्वन्द्वको रापले देश पिल्सिएको तत्कालीन समयमा स्याङ्जाका ग्रामीण भेगका बैंकहरू असुरक्षाका कारण विस्थापित भए । केही सदरमुकाम तथा अधिकांश पोखरातिर केन्द्रित भए । दुर्गम गाउँका सर्वसाधारणले सामान्य वित्तीय कामका लागि पनि दिनभरिको पैदल यात्रा तय गर्दै पोखरालगायत सहरी क्षेत्रमा जाुनपर्ने बाध्यता बन्यो ।
काठमाडौँमा स्नातकोत्तर सकेर सुरक्षित भविष्यको सपना बुनिरहेका स्याङ्जाकै फापरथुमका एक युवक, जसलाई गाउँलेको यो सास्तीले नराम्ररी बिझायो । तिनै युवक हुन्– भरतराज ढकाल । जो आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् ।
काठमाडौँको सुरक्षित र विलासी जीवन त्यागेर जन्मथलो फर्किएका ढकालले २०५६ सालमा स्याङ्जा सदरमुकाममा रोयल सहकारी संस्था स्थापना गरी प्रबन्धकका रूपमा जनताको सेवा सुरु गरे । समाजसेवामा रुचि राख्ने उनले ‘सहारा नेपाल’ संस्थामार्फत 'मुठ्ठीदान अभियान' चलाए । अनाथ बालबालिकाको लालनपालनमा योगदान पुर्याए । २०६० सालदेखि सहकारीमार्फत गाउँ–गाउँमा लघुवित्त कार्यक्रम सुरु गरेका ढकालले महिलाहरूको समूह निर्माण, साना बचत सङ्कलन र वित्तीय जागरण फैलाउने कामलाई तीव्रता दिए ।
उनको जीवनकै सबैभन्दा ठूलो मोड २०६३ साल पुस १९ गते आयो, जब उनले २९ जना सेयरधनीहरूलाई समेटेर १ करोड ३० लाख रुपैयाँको लगानीमा मुक्तिनाथ विकास बैंक दर्ता गरी सञ्चालनमा ल्याए । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने क्रान्तिकारी नारा अघि सार्दै उनी आफैँ सिइओ बनेर कर्मचारीसहित घर–घर पुगे । विपन्न परिवार र महिलाहरूलाई व्यावसायिक तालिम तथा वित्तीय साक्षरता प्रदान गर्ने उनको यही प्रयासले बैंकलाई १० वर्षमै राष्ट्रिय स्तरको अब्बल संस्था बनायो । आज सोही बैंकले देशभर १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ भने यसको वासलात आकार १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । महिला उद्यमशीलतामा पुर्याएको योगदानका लागि बैंकले युरोपियन माइक्रोफाइनान्स अवार्डसहित दर्जनौँ राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान समेत प्राप्त गरिसकेको छ ।
बैंकिङ क्षेत्रमा सफलताको शिखर चुमेपछि ढकालले २०७५ सालमा वैदेशिक पलायन रोक्ने र कृषि क्षेत्रमा संरचनात्मक सुधार गर्ने उद्देश्यले मुक्तिनाथ कृषि कम्पनी स्थापना गरे । ‘गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा’ भन्ने मूल मन्त्र बोकेर पहिलो दुई वर्ष बिना कुनै सेवा–सुविधा काम गरेका उनकै नेतृत्वमा आज यो कम्पनीले सातै प्रदेशका हजारौँ कृषकलाई सीप, प्रविधि र बजारसँग जोडेको छ । यही सफल उद्यमशील यात्राबाट राजीनामा दिएर उनी अहिले राजनीतिमा उदाएका छन् ।
‘एउटै ध्येय, एउटै सन्देश—समुन्नत स्याङ्जा, समृद्ध देश’ भन्ने सङ्कल्प बोकेका ढकालले आफ्नो बैंकिङ अनुभव र उद्यमशील सोचलाई अब राजनीति मार्फत ऊर्जा तथा कृषि अर्थतन्त्रको सुधारमा लगाउने लक्ष्य राखेका छन् । स्याङ्जाली तथा यस क्षेत्रकै बहुप्रतिक्षित १८० मेगावाटको आँधीखोला बहुउद्देश्यीय आयोजनालाई अघि बढाई ऊर्जामा आत्मनिर्भरताका साथै रोजगारी सिर्जना, कृषि उत्पादनमा वृद्धि र जिल्लासहित समग्र देशकै अर्थतन्त्र विकासमा टेवा दिने लक्ष्यसहित उनले आफ्नो चुनावी सङ्कल्प–पत्र समेत सार्वजनिक गरिसकेका छन् ।
जेनजी आन्दोलनपछिको फरक सन्दर्भमा हुन लागेको निर्वाचनको राजनीतिक माहोल पनि फरक नै देखिएको छ । कुशल नेतृत्व र सुशासनका पर्याय मानिने ढकालको उम्मेदवारी तथा विजयले स्याङ्जाको विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।