स्याङ्जा । भोटेकोसी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका करिब १ सय ३० परिवारलाई स्याङ्जाको पुतलीबजार नगरपालिकासहित विभिन्न संघसंस्था र नागरिकबाट संकलित करिब ८८ लाख रुपैयाँ बराबरको राहत सहयोग गरिएको छ ।
नगरप्रमुख तुलसीराम रेग्मीको नेतृत्वमा गएको टोलीले आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुच्चुङ तामाङको उपस्थितिमा बाढी प्रभावित नागरिक तथा परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।
पुतलीबजार नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा करिब ४७ लाख रुपैयाँ नगद जम्मा गरेको तथा ११ लाख रुपैयाँ बराबरको वस्तुगत सामग्री संकलन गरी कुल ५८ लाख ६९ हजार ५२ रुपैयाँ बराबरको राहत सहयोग गरेको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिए ।
नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले समेत आफ्नो पारिश्रमिकबाट राहत रकम सहयोग गरेका छन् । नगरप्रमुख र उपप्रमुखले १५ दिन, वडाध्यक्ष तथा कार्यपालिका सदस्यले १० दिन र वडा सदस्यले आफ्नो सेवा सुविधाबाट जनही ४ हजार ५ सय रुपैयाँका दरले सहयोग गर्ने भएका छन् । वडा सदस्यबाट मात्रै ३ लाख ८८ हजार ७ सय ५० रुपैयाँ सहयोग हुने जनाइएको छ ।
यसैगरी, नगरपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमध्ये श्रेणीविहीन कर्मचारीको दुई दिन, राजपत्र अनंकित वा सोसरहका कर्मचारीको पाँच दिन तथा राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीको सात दिनको तलबबाट गरी १२ लाख ५१ हजार १ सय ८ रुपैयाँ राहत सहयोग जुटेको छ ।
नगरपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट समेत ३१ लाख २९ हजार १ सय ९४ रुपैयाँ सहयोग हुने नगर प्रवक्ता पौडेलले बताए । पुतलीबजार कपडा बैंक तथा लत्रेपिपल क्लबद्वारा सञ्चालित राहत अभियानबाट करिब ३० लाख रुपैयाँ बराबरका सामग्री संकलन गरिएको अभियानमा सक्रिय पवन मरासिनीले जानकारी दिए ।
संकलित राहत सामग्रीमा दाल, चामल, तेल, भाँडाकुँडा, लत्ताकपडा, डसना, ब्ल्याङ्केट, कम्बल तथा मेडिकल सामग्रीलगायत विपद्पछि प्रभावित परिवारलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री रहेका छन् । आमाछोदिङ्मो गाउँपालिकाको आधिकारिक विवरणअनुसार २०८३ भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट गाउँपालिका प्रभावित भएको थियो । बाढीपछि प्रभावित परिवारको आवश्यकताका आधारमा राहत वितरण गरिएको हो ।
राहत वितरण टोलीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल, जिन्सी शाखा प्रमुख राजेन्द्र अर्याल, विधान समिति संयोजक मुबारक मियाँ, लत्रेपीपल क्लबका अध्यक्ष तथा राहत अभियान संयोजक मनोज मल्ल, समाजसेवी अर्जुनकुमार शर्मा, क्लब सदस्य डम्बरबहादुर मल्ल तथा पत्रकार पवन मरासिनी लगायत सहभागी थिए ।
पुतलीबजारबाट सङ्कलित सहयोग रसुवाका प्रभावित नागरिक तथा परिवारसम्म पुगेपछि स्थानीय सरकार, सामाजिक संस्था, नागरिक, स्वयंसेवक र सञ्चारकर्मीबीचको सहकार्य तथा मानवीय एकताको उदाहरण बनेको सहभागीहरूले बताएका छन् ।