काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा) प्रणाली विस्तारसम्बन्धी आयोजनाका आवश्यक कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकमा आयोजनाको आर्थिक, प्राविधिक तथा प्रक्रियागत पक्षबारे छलफल भएपछि थप अध्ययनका लागि आवश्यक कागजात माग गर्ने निर्णय भएको हो ।
समितिका सभापति भरतबहादुर खड्काले आयोजनासम्बन्धी विषयमा व्यापक छलफल भएको र थप जानकारी आवश्यक देखिएकाले सम्बन्धित निकायलाई सात दिनभित्र कागजात बुझाउन निर्देशन दिएको बताए । बैठकपछि सभापति खड्काले आयोजनाका विभिन्न पक्षमा उपयोगी छलफल भएको उल्लेख गर्दै समितिले थप अध्ययन गरेर मात्रै आवश्यक प्रक्रिया अघि बढाउने बताए । उनले राज्यको सेवा प्रवाह प्रभावकारी बनाउनु सबैको साझा दायित्व भए पनि सरकारी कामकारबाही सञ्चालन गर्दा विधि, प्रक्रिया, पद्धति र प्रणालीको अनिवार्य पालना हुनुपर्नेमा जोड दिए ।
उनका अनुसार समितिले आयोजनाको विषयवस्तु अध्ययन गर्ने, आवश्यक सहजीकरण गर्ने र सम्बन्धित विषयको प्रकृति हेरेर थप प्रक्रिया अघि बढाउनेछ । यसका लागि प्राप्त हुने कागजात तथा विवरणका आधारमा आयोजनाका आर्थिक, प्राविधिक र प्रक्रियागत पक्षमा थप छलफल गरिनेछ ।
सभापति खड्काले सार्वजनिक लेखा समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अदालतजस्तो निकाय नभएको स्पष्ट पार्दै समितिको आफ्नै निश्चित कार्यक्षेत्र रहेको बताए । उनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई विधि, प्रक्रिया र प्रणालीभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्नसमेत आग्रह गरे ।
समितिले माग गरेका कागजात प्राप्त भएपछि आयोजनाको थप अध्ययन र छलफल अघि बढाउने उल्लेख गरेको छ ।