काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक मोहनकृष्ण उप्रेतीद्वारा लिखित ‘नेपालको बिजुली र जनसरोकार’ नामक कृति बजारमा आएको छ । विद्युत विकासको चक्र र यससँग जोडिँदै गएको आमसर्वसाधारणको चासोलाई समेटेर लेखिएको पुस्तक गत साता प्राधिकरणकै सभाहल सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिक समारोहमा प्रा.डा. जगन्नाथ श्रेष्ठले विद्युत विकासको पछिल्लो अवस्था, चुनौती र वैकल्पिक सम्भावनाका विषय पुस्तकमा समेटिएको बताए । ‘यो पुस्तक विद्युत क्षेत्रमा काम गर्ने, इन्जिनियर तथा बौद्धिक व्यक्तित्वहरूले पढ्नैपर्छ,’ उनले भने, ‘जलस्रोतको व्यापक सदुपयोगबाट बढीभन्दा बढी विद्युत उत्पादन गर्दै जानुपर्ने पक्षमा पुस्तकले जोड दिएको छ ।’
उप्रेतीले लेखेका विषयमाथि व्यापक बहस, छलफल र विमर्श गर्दै तिनलाई कार्यान्वयनको तहसम्म पुर्याउन गर्नुपर्ने पहलमा हरेक क्षेत्रका व्यक्तिहरूले हातेमालो गर्नुपर्ने श्रेष्ठको भनाइ थियो । नेपालमा जलविद्युत उत्पादनको सम्भाव्यता अब ८३ हजार मेगावाटमा टेकेर बस्न नहुने बताउँदै उनले भने, ‘त्यो पुरानो अध्ययन हो । हामीले एउटा खोलामा अध्ययनका आधारमा कतिसम्म जलविद्युत उत्पादन गर्छौं, त्यसमा जोड दिनुपर्छ ।’
यसैगरी, कार्यक्रममा पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले नेपालमा भएका गलत कुराहरू सच्याउन र राजनीतिक दलका नेता कार्यकर्तालाई पढाउनका लागि लेखिनुपर्ने विषय नै उप्रेतीले उठाएको बताए । श्रेष्ठले जस्तै ज्ञवालीले पनि पुस्तकले उठाएका विषयमा व्यापक चर्चा परिचर्चा गरेर आमसर्वसाधारणसम्म पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा पुस्तकका लेखक उप्रेतीले पछिल्ला वर्षहरूमा विद्युत विकासका क्षेत्रमा चुनौती थपिँदै गएको सन्दर्भ जोड्दै जलविद्युत सत्ताको टिप्पणी मात्र भइरहेको बताए । ‘विद्युत उत्पादनसँगै आन्तरिक खपत र बाह्य बजार व्यवस्थापनका विषय चुनौतीका रूपमा अगाडि आएका छन्,’ उनले भने, ‘विद्युत निर्यात प्राधिकरणको प्रयासले मात्र सम्भव नहुने हुँदा यसमा सरकारले खेलाँची नगरे हुन्थ्यो ।’
सक्दो आन्तरिक खपत बढाउँदै निर्यात गर्न सरकार, राजनीति र कुटनीतिबाट मात्र विद्युत निर्यातको दीर्घकालीन बाटो खुला हुन सक्ने उप्रेतीको भनाइ थियो । आफूले यिनै विषय पुस्तकमा उल्लेख गरेको पनि उनले बताए ।
यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलस्रोत तथा जलविद्युत उपयोगका सम्बन्धमा धेरैको धारणा फरक रहे पनि सबैको ध्येय राष्ट्र हित नै रहेको बताए । ‘बर्खामा बढी हुने विद्युत निर्यातको विकल्प नरहेको र हिउँदमा नपुग परिमाण आयात नगरी हुँदैन,’ उनले भने, ‘हामीले बर्खाका लागि पुग्ने मात्र परिमाण उत्पादन ग¥र्यौँ भने हिउँदमा झन् धेरै किन्नुपर्छ । हिउँदका लागि पुग्ने गरी उत्पादन गर्दा बर्खामा खेर जान्छ ।’ विद्युत आपूर्तिको सन्तुलन मिलाउन र क्षेत्रीय बजारसम्म पुग्न पनि विद्युत व्यापार अर्थात् व्यापार अपरिहार्य रहेको उनले बताए ।