आज म गौरवभन्दा पनि गह्रौं मन लिएर तपाईंहरूसामु उभिएको छु । पछिल्ला दिनहरूमा हामीले राष्ट्रका होनहार युवा गुमायौँ– उनीहरू हाम्रो देशको उज्ज्वल भविष्य थिए । उनीहरूको त्याग र साहसले परिवर्तनको जग हालेको छ । सबैप्रति सम्मान व्यक्त गर्दछु । साथै, कर्तव्य पालनाको क्रममा ज्यान गुमाउनु भएका तथा घाइते सुरक्षाकर्मीलाई सम्मान व्यक्त गर्न चाहन्छु । तपाईंहरूको पीडा मेरो हृदयमा गहिरो रूपमा बसेको छ ।
आज मैले भारी जिम्मेवारीका साथ ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकास मन्त्रीको रूपमा शपथ लिएको छु । मुलुकको पूर्वाधार क्षेत्रको मार्ग कोर्ने मन्त्रालयहरू सम्हाल्ने पद सम्मान मात्र होइन, पीडा र आशाको बीचमा आएको ठूलो जिम्मेवारी हो । अहिले मेरो उद्देश्य छ– जे भत्किएको छ, त्यसलाई मर्मत गर्ने; जे जलेको छ, त्यसलाई पुनर्निर्माण गर्ने ।
जनताको आवाज सडकमा उठेको छ तर एउटा कुरा स्पष्ट पार्न चाहन्छु — न्यायको लडाइँ विद्यालय, अस्पताल, सार्वजनिक सम्पत्ति जलाएर जितिँदैन । यी सम्पत्ति सबै नेपालीका हुन्, विशेषगरी गरिब र युवाका आवाज उठाऔँ तर सम्पत्ति बचाऔँ । हिंसा होइन, समाधान हाम्रो बाटो हो । विध्वंस होइन, निर्माण हाम्रो अभियान हो । त्यसका लागि हरेक व्यक्ति, संस्था र सुरक्षा निकायदेखि सबैको साथ आवश्यक छ । तपाईँहरूको साथ नपाई त्यो सम्भव छैन ।
सर्वप्रथम विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो पटक देशबाट भ्रष्टाचार अन्त्य, सुशासनलगायत माग राखी जेन–जीले गरेको आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु । आन्दोलनका क्रममा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
जेन–जी पुस्ताले देशभित्रै सुन्दर भविष्य र व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि ऐतिहासिक प्रतिरोध गर्नुभयो र अहिलेको अवस्था सिर्जना भयो यसका लागि सबै बधाइका पात्र हुनुहुन्छ । अहिलेको विषम परिस्थितिमा मलाई विश्वास गरी जुन जिम्मेवारी दिनुभयो यसका लागि सम्माननीय प्रधानमन्त्री, आन्दोलनरत जेनजी लगायत सबैलाई विशेष धन्यवाद दिन्छु । जेन–जी पुस्ताले देखेको समुन्नत नेपालको सपना साकार पार्ने यात्राको यो सुरुवात अब पुनःनिर्माण, सहकार्य र साझा भविष्य निर्माणका लागि हातेमालो गर्नु पर्दछ ।
आन्दोलनका कारण सार्वजनिक एवम् निजी क्षेत्रका संरचनामा ठूलो क्षति पुगेको छ । सार्वजनिक सेवा प्रभावको चक्र नराम्ररी प्रभावित भएको छ । अर्थतन्त्रको एउटा हिस्सेदार निजी क्षेत्रको मनोबल गिरेको छ । यस्तो अवस्थामा सबैको मनोबल उच्च राखी पुनर्निर्माणको कार्य अगाडि बढाउनु र तोकिएकै समयमा चुनाव गराउनु पर्ने दायित्व सरकारसँग छ ।
हामीसँग समय छोटो छ तर एक सेकेण्ड खेरा नफाली मुलुकको हितका लागि काम गरिने छ । हालको विषम परिस्थिति र छोटो समयको चुनौती अवसरको रूपमा प्रयोग गरी कार्य अगाडि बढाइने छ । सार्वजनिक संरचनामा क्षति पुग्दा प्रभावित भएको सार्वजनिक सेवालाई तत्काल सुचारु गर्ने कार्यलाई उच्च प्राथमिकता राखी सोही वमोजिम द्रुत गतिमा कार्य अगाडि बढाइने छ । आम चुनावका लागि आवश्यक पूर्वाधार तयार गरिने छ ।
विगतमा मुलुकले बेहोरिरहेको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा हासिल गरेको प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय अनुभव भरपुग प्रयोग गरिने छ । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल अभियानलाई कार्यान्यनतर्फ अगाडि बढाइने छ ।
विगतमा मुलुकले बेहोरिरहेको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा हासिल गरेको प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय अनुभव भरपुग प्रयोग गरिने छ । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल अभियानलाई कार्यान्यनतर्फ अगाडि बढाइने छ । ‘उज्यालो नेपाल’ बत्तीको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियानलाई सार्थक बनाउन सोही अनुसार कार्य गर्न सबैलाई निर्देश गर्दछु ।
उज्यालो नेपाल अभियान मेरो जीवन–मार्ग हो । युवापुस्ताको भविष्य उज्यालो बनाउने, जनताको जीवनमा उज्यालो ल्याउने र नेपालको भविष्य उज्यालो बनाउने राजनीतिक ब्रत पालनमा मैले आफ्नो जीवन समर्पित गरेको छु । जेनजी पुस्ताको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै आजको प्रमुख राष्ट्रिय एजेण्डा हो । यसको सफल कार्यान्वयनको लागि राष्ट्रिय राजनीति र शासकीय संस्कृतिलाई जनचाहनाबाट निर्देशित, जनहितमा समर्पित र जनता प्रति जवाफदेही बनाउनु परेको छ ।
मेरो कर्मक्षेत्र यही हो, सँधै यही रहने छ । यहि सोचबाट निर्दिष्ट भएर सम्माननीय प्रधानमन्त्रीज्यूको टिममा बसेर जेन–जी पुस्ताको दृढ सङ्कल्प, सङ्घर्ष र बलिदानलाई सार्थक सिद्ध गर्न सुन्दर, समुन्नत नेपाल निर्माणमा समर्पित छु । यो विश्वासका साथ जिम्मेवारी पाएको छु । यो विश्वास मेरा लागि प्रेरणाको स्रोत हो र म यो विश्वासलाई नतिजामा परिणत गर्ने छु । यसका लागि सबैको साथ र सहयोगका लागि अनुरोध गर्दछु ।
तत्काल अगाडि बढाइने कार्यहरू
१. सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनर्निर्माण कार्य तत्काल अगाडि बढाइने छ ।
२. पुनःनिर्माणका लागि ‘हाम्रा सार्वजनिक संरचना हामी आफैं बनाउँने छौँ’ भन्ने अभियान सञ्चालन गरिने छ । देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई पुनर्निर्माणमा सहभागी गराई अपनत्व लिने गरी सबैको साथ र सहयोगबाट पारदर्शी रूपमा पुनर्निर्माण कार्य अगाडि बढाइने छ ।
३. मन्त्रालय र यसअन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमिता र ढिलासुस्तिमा शून्य सहनशीलता अवलम्बन गरिने छ । यस्ता क्रियाकलाप सह्य हुने छैन । कसैले त्यस्ता कार्य गरेको फेला परेमा तत्कालै कारबाही गरिने छ । जेन–जीले मुख्यरूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।
४. कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने लगायत विगतमा सुनिएका अनियमितालाई नियन्त्रण गरी सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी (Right Person in Right Place) लाई कडाइका साथ लागू गरिने छ । कसैप्रति पूर्वाग्रह र प्रतिशोध साधिने छैन तर सुशासन र आफ्नो जिम्मेवारीलाई इमान्दारपूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्तैक जिम्मेबारीबाट हटाइने छ । असल नियत राखी ढुक्क भएर काम गर्न सबैलाई निर्देश गर्दछु ।
५. चालु रहेका ठूला पूर्वाधारका आयोजना तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको बिडम्बनापूर्ण अवस्था छ । यसलाई चिर्न चालू अवस्थामा रहेका ठूला आयोजना निर्माण कार्यलाई तीव्रता दिइने छ । रणनीतिक महत्त्व र रूपान्तरणकारी केही ठूला योजनालाई अगाडि बढाइने छ । प्राथमिकताको आधारमा आयोजना छनोट गरी परिणाम निक्लने गरी कार्य अगाडि बढाइने छ । अहिले हाम्रा लागि हरेक सकेण्ड महत्त्वपर्ण छ ।
यो समय खादा माला लगाएर तामझाम गर्नु होइन, काम गरेर जेन–जी पुस्ताले देखेको समना साकार पर्ने हो । जसरी विगतमा यहाँहरूबाट हौसला, प्रेरणा, साथ र सहयोग प्राप्त हुँदा लोडसेडिङ अध्यारोबाट मुलकलाई मुक्त गर्न सक्यौँ । तसर्थ, अहिलेको विषम परिस्थितमा विगतको जस्तै साथ सहयोग प्राप्त हुने विश्वास लिएको छु । मप्रति यहाँहरूले देखाउनु भएको उक्त विश्वासको लागि जेन–जीका भाईबहिनी सहित सम्पुर्ण आमाबुबा, दाजुभाई, दिदीबहिनीप्रति कृतज्ञा छु ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भाैतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कर्मचारीहरू समक्ष राखेको विचार ।