विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको इलेक्ट्रो मेकानिकल (ईएम) उपकरणको आयात तथा जडानको काम भारतको बी–फोरेस प्रालि (बीएफएल हाइड्रो इन्डिया) ले गर्ने टुंगो लागेको छ । हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिसँग ईपीसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन अर्थात् अध्ययन, खरिद र निर्माण) ठेक्का सम्झौता भएको यो आयोजनामा ईएमको काम बीएफएललाई दिइएको हो ।

उपकरण आयात तथा जडान गर्ने सम्बन्धमा ईपीसी ठेक्का पाएको हाइ हिमालय र बीएफएलबीच शुक्रबार (जेठ ३२ गते) एक सम्झौता भएको छ । सम्झौतापत्रमा हाइ हिमालयका अध्यक्ष किरण मल्ल र बीएफएलका प्रमुख कार्यकारी अधिकृत गोविन्द नायकले हस्ताक्षर गरे । सम्झौता अनुसार बिएफएलले आयोजनामा जडान हुने ईएम उपकरणको डिजाइन, उत्पादन, आयात तथा जडानको सम्पूर्ण कार्य गर्ने छ । साथै, विद्युत्‌गृहको कार्यमा प्राविधिक सहयोगसमेत प्रदान गर्ने सम्झौता भएको छ ।

कार्यक्रममा हाई हिमालयका अध्यक्ष मल्लले आयोजनामा ईएम उपकरण आयात तथा जडानको काम बीएफएलले तोकिएको समययिभत्रै पूरा गर्ने विश्वास व्यक्त गरे । ‘त्यसमा उसलाई आवश्यक सहयोग गर्न हाई हिमालय जहिले पनि तयार छ,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी र बीएफएलबीच पुल बनेर काम गर्न पाउनु हाम्रो लागि गर्वको विषय भएको छ ।’

यसैगरी, बीएफएलका प्रमुख कार्यकारी अधिकृत नायकले निर्धारित समयभित्र व्यावसायिक निष्ठाका साथ ईएमको सम्पूर्ण काम पूरा गर्ने प्रतिबद्धता जनाए । हाइ हिमालयमार्फत प्राधिकरणको सहायक कम्पनीले निर्माण गर्ने आयोजनासँग जोडिएर काम गर्न पाउँदा कम्पनीको गरिमा बढेको बताए । ‘आगामी दिनमा नेपालका अन्य आयोजनासँग यसरी नै जोडिएर काम गर्ने आशा र अपेक्षा छ,’ उनले भने, ‘हामीले त्यही योजनाका साथ नेपालमा काम गरिरहेका छौँ ।’

हालसम्म यहाँका २६ वटा जलविद्युत् आयोजनामा आफ्ना उपकरण जडान गरिसकेको बताउँदै बीएफएलका नेपाल प्रमुख राजीव अधिकारीले रोल्वालिङ खोला कम्पनीको २७औँ आयोजना भएको जानकारी दिए । अप्पर तामाकोसीले एक वर्षअघि करिब ६ अर्ब रुपैयाँमा ईपीसी मोडलमा हाइ हिमालयलाई आयोजनाको ठेक्का दिएको थियो । प्राधिकरण अन्तर्गतको कम्पनीले निर्माण गर्ने जलविद्युत आयोजनामा यसरी स्वदेशी निर्माण कम्पनीलाई ईपीसी ठेक्का दिएको सम्भवतः यो पहिलो हो ।

हाइड्रो मेकानिकल (एचएम) तर्फको काम अहिले डिजाइनको चरणमा रहेको र डिजाइन स्वीकृतपछि ठेक्का सम्झौता हुने मल्लले जानकारी दिए । हाइ हिमालयका अनुसार अहिलेसम्म आयोजनाको मुख्य सुरुङ ३ सय मिटर खनिएको छ । विद्युत्‌गृहमा पुग्ने सुरुङमा पनि काम भइरहेको छ । रोल्वालिङबाट विद्युत् उत्पादन भएपछि ‘टेलरेस’बाट निस्केको पानी माथिल्लो तामाकोसीकै जलाशयमा मिसाइने छ । त्यसपछि, तामाकोसीको ऊर्जा उत्पादनमा समेत वृद्धि हुनेछ ।

वार्षिक ११८ गिगावाट घन्टा (११ करोड ८० लाख युनिट) ऊर्जा उत्पादन हुने आयोजनाबाट उत्पादित विद्युत् ८.४ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन निर्माण गरी बिगु गाउँपालिका–१ गोंगरस्थित माथिल्लो तामाकोसीको  २२०÷३३ केभी स्वीचयार्डमा लगेर जोडिने छ । आयोजनाबाट २०८४ साल मंसिर १ गतेभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको अध्ययन तथा डिजाइनको सबै काम प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीले गरेको हो ।

बीएफएल हाइड्रोको विगत

सन् १९७२ मा स्थापना भएको बीएफएल हाइड्रोले एसिया, अमेरिका र युरोप लगायत देशका दर्जनौं जलविद्युत् आयोजनामा काम गरिसकेको छ । विशेषतः साना तथा मझौता खालका आयोजनाका लागि उपकरण डिजाइन, निर्माण तथा उत्पादन गर्दै आएको कम्पनीले अहिलेसम्म दक्षिण अमेरिकामा ७ वटा, एसियाली देशमा १९ वटा आयोजनासँग जोडिएर काम गरिसकेको छ ।

यसैगरी, २ अर्ब अमेरिकी डलर बराबरका आयोजना पाइपलाइनमा रहेको कम्पनीले जानकारी दिएको छ । साना तथा मझौला खालका आयोजनाको उपकरण उत्पादनमा आफू विश्वकै नेतृत्वकर्ता कम्पनी दाबी गर्ने बीएफएलका विश्वभर २०० भन्दा बढी ग्राहक, ५०० बढी टर्बाइन सञ्चालनमा छन् भने ६ वटा देशसँग व्यापारिक सम्बन्ध कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३