विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ३, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

हिमाली क्षेत्रका साँघुरा नदी उपत्यकाहरूमा निर्माण हुने नदीको बहावमा आधारित (आरओआर) जलविद्युत्‌ आयोजनाका लागि सबैभन्दा ठूलो चुनौती कडा र धारिलो क्वार्ट्जयुक्त लेदो (Sediment) हो । प्रत्येक वर्षामा नेपालका कलिला भू-गर्भीय संरचना भएका नदीमा २५,००० PPM (Parts Per Million) भन्दा बढी बालुवा तथा लेदो प्रवाह हुन्छ । यसले टर्बाइनका रनर, नोजल र गाइड भेनलाई द्रुत गतिमा खियाएर नष्ट पुर्‍याउँछ ।

यस्तो गम्भीर समस्याका बाबजुद दक्षिण एसियाका अधिकांश जलविद्युत्‌ आयोजना अझै एक शताब्दी पुरानो परम्परागत बालुवा थिग्राउने पोखरी (Gravity Desanding Basin) मै निर्भर छन् । आखिर यो क्षेत्र किन पुराना डिजाइनमै सीमित छ ? नेपालमै भएको पछिल्लो अनुसन्धानले 'मल्टि-इन्लेट स्पाइरल हाइड्रोसाइक्लोन' प्रविधिमार्फत बालुवा पृथकीकरणमा कसरी रूपान्तरण ल्याएको छ भन्ने बुझ्नुपर्छ ।

परम्परागत ढाँचा र हिमाली यथार्थ

परम्परागत डिसेन्डरको प्रयोग बुझ्न यसको इतिहास हेर्नुपर्छ । सुरुका जलविद्युत्‌ डिजाइन कोडहरू युरोपका एल्प्स (Alps) र स्क्यान्डिनेभियाली क्षेत्रका नदीमा विकसित थिए । ती पुराना र स्थिर चट्टानी नदीमा बालुवाको मात्रा कम र दानाहरू ठूला हुन्थे । त्यो परिस्थितिमा पानीको गति ०.२ देखि ०.५ मिटर/सेकेन्डमा घटाएर बालुवा प्राकृतिकरूपमा थिग्राउने दुफुर (Dufour) वा बिएरी (Bieri) प्रकृतिका लामो कंक्रिट पोखरी प्रभावकारी मानिन्थे ।

जब नेपालजस्ता हिमाली क्षेत्रमा जलविद्युत्‌ इन्जिनियरिङ भित्रियो, युरोपेली ढाँचा यहाँको स्थानीय भू-बनोट अनुकूल परिमार्जन नगरी जस्ताको तस्तै अपनाइयो । हिमाली नदीहरूको भौतिक अवस्था पूर्णतः फरक रहेको तथ्यतिर खासै खासै ध्यान दिइएन ।

हिमाली नदीहरूको भू-बनोटको अवस्था

  • कलिलो भूगर्भ: निरन्तर पहिरो जाने र कमजोर पहाडका कारण बर्खामा अत्यधिक लेदो (२५,००० PPM भन्दा बढी) बग्छ ।
  • खियाउने क्षमता (Hardness): हिमाली बालुवामा ७० देखि ८० प्रतिशतसम्म ज्यादै कडा र धारिलो क्वार्ट्ज (Quartz) हुन्छ, जसले तरल पिसानी (Sandpaper) को काम गर्छ ।
  • मिहिन दानाको बाहुल्यता: युरोपेली नदीमा ठूला दाना (>२०० माइक्रोन) हुने भए पनि हिमाली नदीमा ज्यादै मिहिन बालुवा र लेदो (५० देखि १०० माइक्रोन) बग्छ ।

परम्परागत कंक्रिट पोखरीले यस्ता महिन क्वार्ट्जका दाना थिग्राउन सक्दैन । फलतः बालुवा थिग्रिनुको साटो सोझै पेनस्टक pipe हुँदै टर्बाइनमा पुग्छ र उपकरणहरू छिट्टै ध्वस्त बनाउँछ ।

स्थानीय अनुसन्धान

परम्परागत डिसेन्डरका सीमा बुझेर नेपाली अनुसन्धानकर्ताले औद्योगिक सिंगल-इन्लेट हाइड्रोसाइक्लोन (Single-Inlet Hydrocyclone) जलविद्युत्‌मा प्रयोग गर्ने प्रारम्भिक प्रयास गरेका थिए । अध्ययनले गुरुत्वाकर्षणभन्दा सेन्ट्रीफ्युगल (Centrifugal) बल बालुवा छुट्ट्याउन बढी प्रभावकारी हुन्छ भन्ने प्रमाणित गरे । तथापि, हिमाली नदीमा सिंगल-इन्लेटका केही गम्भीर प्राविधिक सीमाहरू देखिए :

१. अत्यधिक स्थानीय अशान्ति (Turbulence) र एकांकी खियावट: एउटा मात्र प्रवेशद्वार हुँदा पानी अधिक गतिमा भित्रिँदा भित्तामा असमान खियावट हुन्थ्यो र भित्री चक्रवात (Vortex Core) खलबलिन्थ्यो ।

२. अत्यधिक प्रेसर ड्रप (Head Loss): पुराना सिंगल-इन्लेट मोडलहरूलाई सञ्चालन गर्न ५ देखि १० मिटरसम्मको 'हेड लस' चाहिन्थ्यो, जसले आयोजनाको विद्युत् उत्पादन क्षमता घटाउँथ्यो ।

३. जाम हुने जोखिम: खोलामा बगेर आउने ढुङ्गा र गेग्रेन (>५० मिमी) ले सानो एउटा मात्र प्रवेशद्वारलाई सजिलै थुनिदिन्थ्यो ।

नयाँ आविष्कार

यस्ता प्राविधिक जटिलता हल गर्न लेखक स्वयम् र डा. शैलेश चित्रकारले कम्प्युटेसनल फ्लुइड डाइनामिक्स (CFD) तथा प्रयोगात्मक अनुसन्धानमार्फत मल्टि-स्टेज स्पाइरल मल्टि-इन्लेट हाइड्रोसाइक्लोन प्रणाली (Multi-Stage Spiral Multi-Inlet Hydrocyclone System) विकास गरियो ।

पानी एउटै साँघुरो नोजलबाट पठाउनुको सट्टा, नयाँ प्रविधिमा ३६० डिग्रीको स्पाइरल संरचनामार्फत धेरै प्रवेशद्वारबाट परिधिभरि समानरूपमा भित्र पठाइन्छ :

  • सन्तुलित सेन्ट्रीफ्युगल प्रवेग: पानीलाई पातलो र समान गतिमा भित्री भागमा पठाउँदा भित्ताको खियावट हट्छ र बालुवा छुट्टिने समय दोब्बर हुन्छ ।
  • अति-न्यूनीकरण गरिएको हेड लस (< १.५ मिटर): सञ्चालनका क्रममा हुने प्रेसर ड्रपलाई १.५ मिटरभन्दा कममा सीमित गरिएकाले यो आरओआर आयोजनाका लागि पूर्णतः उपयुक्त छ ।
  • गेग्रेन नअड्किने संरचना (६५ मिमी स्लट): रिभर ट्र्यासर्याकबाट छिर्ने ५० मिमीसम्मका गेग्रेन र ढुङ्गाहरू नअड्किई सजिलै पार हुन सक्ने गरी ६५ मिमीको स्लट डिजाइन गरिएको छ ।

अर्थतन्त्रमा रूपान्तरण

परम्परागत पोखरीको साटो यो आधुनिक मल्टि-इन्लेट हाइड्रोसाइक्लोन प्रयोग गर्दा आयोजनाको वित्तीय र सञ्चालन पक्षमा ठूलो सुधार आउने देखिएको छ :

१. टर्बाइनको आयु
१०० माइक्रोनसम्मका बालुवाका दानालाई ८५ देखि ९५ प्रतिशतसम्म थिग्राउने र ६० माइक्रोनसम्मका लेदोलाई समेत हटाउने भएकाले टर्बाइनमा पुग्ने बालुवाको मात्रा नगण्य हुन्छ । यसले टर्बाइन रनर र गाइड भेनको आयु २ देखि ३ गुणासम्म बढाउँछ ।

२. निरन्तर विद्युत् उत्पादन
स्वचालित र नथुनिने खालको पिन्च/स्क्विज भल्भ (Pinch/Squeeze Valve) जडान गरिएकाले हाइड्रोसाइक्लोनले लेदोयुक्त पानी निरन्तर बाहिर फाल्छ । फलतः बर्खाको बाढीका बेला पनि आयोजना बन्द नगरी पूर्ण क्षमतामा निरन्तर बिजुली उत्पादन गर्न सकिन्छ ।

३. लागतमा बचत
हाइड्रोसाइक्लोन प्रणालीले परम्परागत डिसेन्डर पोखरीको तुलनामा २० प्रतिशतभन्दा पनि कम जग्गा ओगट्छ । साँघुरा र पहिरोग्रस्त हिमाली खोँचहरूमा यसले कंक्रीट र कटिङको ठूलो खर्च बचाउँछ ।

१० मेगावाटसम्मका लागि वरदान

१० मेगावाटसम्मका साना जलविद्युत्‌ आयोजना निर्माण गर्ने निजी प्रवर्द्धकहरूका लागि परम्परागत सिभिल संरचना ठूलो वित्तीय बोझ बन्ने गर्छन् । मल्टि-इन्लेट हाइड्रोसाइक्लोनले साना आयोजनाका लागि विशेष वित्तीय फाइदाहरू पुर्‍याउँछ :

  • जग्गा प्राप्ति विवादको अन्त्य: साना आयोजनामा १०० मिटरभन्दा लामा समतल जग्गा पाउन कठिन हुन्छ । खोला किनारमा धेरै जग्गा अधिग्रहण गर्दा आयोजना ढिलाइ हुने र लागत बढ्ने गर्छ । हाइड्रोसाइक्लोनलाई भने साँघुरो चट्टानी भाग वा सानो कोठाभित्रै सजिलै जडान गर्न सकिन्छ ।
  • फ्याक्ट्रीमै तयार हुने मोड्युलर (Prefabricated Skids): महिनाौंसम्म साइटमा कंक्रीट ढाल्नुको सट्टा, हाइड्रोसाइक्लोनका पार्टपुर्जा फ्याक्ट्रीमै स्टिलबाट तयार पारेर (Skid-mounted) गाडीमा राखी साइटमा लगेर केही दिनभित्रै जोड्न (Assemble) सकिन्छ ।
  • कम खर्च (CapEx) र छिटो उत्पादन (COD): सिभिल निर्माण र जग्गाको खर्च घट्नाले प्रतिमेगावाट लागत उल्लेख्य रूपमा घट्छ । निर्माण अवधि छोटिनाले व्यावसायिक उत्पादन मिति (COD) महिनाौँ अघि धकेलिन्छ, जसले वित्तीय ब्याज घटाएर लगानीको प्रतिफल चाँडो सुनिश्चित गर्छ ।

तुलनात्मक विश्लेषण

जब परम्परागत डिसेन्डर, पुराना सिंगल-इन्लेट मोडल र नयाँ मल्टि-इन्लेट स्पाइरल प्रविधिलाई तुलना गरिन्छ, कार्यसम्पादनमा ठूलो भिन्नता देखिन्छ । परम्परागत कंक्रीट पोखरीले १०० माइक्रोनका महीन क्वार्ट्ज बालुवा केवल ३० देखि ५० प्रतिशत मात्र थिग्राउन सक्छ भने पुराना सिंगल-इन्लेट मोडलले ६० देखि ७५ प्रतिशतसम्म थिग्राउँथे । विकसित मल्टि-इन्लेट स्पाइरल हाइड्रोसाइक्लोनले ८५ देखि ९५ प्रतिशतसम्म बालुवा थिग्राउँछ । यसले १.०५ देखि १.३९ मिटरको अति-निम्न हेड लसमा काम गर्छ, जबकि पुराना सिंगल-इन्लेट मोडलमा ५ देखि १० मिटरसम्मको अत्यधिक हेड लस हुने गर्थ्यो । साथै, ६५ मिमीको फराकिलो इन्लेट स्लट भएकाले यसले ५० मिमीसम्मका गेग्रेनलाई नथुनिई सजिलै पठाउन सक्छ ।

यो प्राविधिक श्रेष्ठताले सोझै आयोजनाको नाफा बढाउँछ । बर्खाको बाढीमा परम्परागत पोखरी भरिएर बिजुली उत्पादन पूर्ण रूपमा बन्द गर्नुपर्ने र टर्बाइनको आयु १ वर्षमै सकिने अवस्था हुन्थ्यो । मल्टि-इन्लेट हाइड्रोसाइक्लोनले भने बाढीकै समयमा पनि निरन्तर पूर्ण क्षमतामा बिजुली उत्पादन सम्भव बनाउँछ । टर्बाइनको आयु २ देखि ३ वर्षभन्दा बढी बढाउँछ । जग्गाको क्षेत्रफलको हिसाबले यसले परम्परागत पोखरीको २० प्रतिशत भाग मात्र ओगट्छ । विशेषतः १० मेगावाटसम्मका साना आयोजनाका लागि, जहाँ जग्गा अधिग्रहण र ठूलो सिभिल बजेट प्रमुख अवरोध हुन् । यो प्रविधि फ्याक्ट्रीमा निर्मित मोड्युलर संरचनाका रूपमा छिटो जडान गरी आयोजनाको व्यावसायिक उत्पादन चाँडो सुरु गर्न र लगानीको प्रतिफल बढाउन गेम-चेन्जर साबित भएको छ ।

स्थानीय भूगोल र प्रविधि

हिमाली क्षेत्रका बालुवायुक्त नदीमा एक शताब्दी पुराना युरोपेली डिसेन्डर डिजाइन प्रयोग गरिरहनु आर्थिक रूपमा घाटा सहनु हो । नेपालमै भएको अनुसन्धानले स्थानीय इन्जिनियरिङ चुनौतीको समाधान स्थानीय प्रविधिबाटै सम्भव छ भन्ने प्रमाणित गरेको छ ।

पुराना पोखरीको साटो मल्टि-इन्लेट स्पाइरल हाइड्रोसाइक्लोन अपनाएर नेपालका जलविद्युत्‌ प्रवर्द्धकले आयोजनाको जग्गा र सिभिल लागत घटाउन, टर्बाइनको सुरक्षा गर्न, बर्खामा पनि निरन्तर बिजुली बेच्न र आयोजनाको समग्र नाफा उल्लेख्यरूपमा बढाउन सक्छन् ।

सेडिगन हाइड्रो सिलोनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका पाण्डे कन्स्ट्रक्सन इम्पेक्स प्रालिसँग आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३