काठमाडौं । बाग्लुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको सेयर आवेदन दिने आज (मंसिर २६ गते) अन्तिम दिन हो । कम्पनीले आयोजनाको सर्वसाधारणका लागि गत २१ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि सकिन लागेको हो ।
कम्पनीको सेयर भर्न दुई दिनमै १५ गुणा बढी आवेदन परेको थियो । सय रुपैयाँ अंकित ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । स्थानीयमा आवेदन प्राप्त नभएको बाँकी १ लाख ४ हजार कित्ता सेयरसहित सर्वसाधरणका लागि ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
निष्कासित सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात २७ हजार ७ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको र २ प्रतिशत हुन आउने अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । बाँकी ५ लाख १५ हजार २ सय २० कित्ता सेयर सर्वसाधरण्का लागि निष्कासन गरिएको हो ।
सर्वसाधरणले न्यूनत्तम १० कित्ता सेयर १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । बाग्लुङमा सञ्चालित ठेउले खोला जलविद्युत आयोजनाले २०७५ असार २४ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।