काठमाडौँ । मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.९० को अनुपात (९० प्रतिशत) का दरले हकप्रद सेयर निष्कासनका लागि विद्युत् विकास विभागबाट पूर्वस्वीकृति पाएको हो ।
योसँगै कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ को ९० प्रतिशतले हुन आउने २ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न पाउने भएको छ । यसका लागि तयारी अघि बढाइएको कम्पनीले जनाएको छ ।
हकप्रद सेयर निष्कासनको कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा समेत आवेदन दिनुपर्ने छ । सेबोनले अनुमति दिएपछि मात्रै कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाउन पाउने छ ।
कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।