नेपालको ऊर्जा क्षेत्रमा झण्डै ४ दशकदेखि समर्पित नेपाल विद्युत् प्राधिकरणका बहालवाला कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको जीवन र इन्जिनियरिङ पेशागत यात्रा पछिल्ला घटनाहरूले निकै पीडादायी मोडमा पुगेको छ । २०४५ सालमा अस्थायी नियुक्ति पाएसँगै सुरु भएको उनको यो लामो पेशागत यात्रामा उनी आफ्नो प्राविधिक क्षमताले प्राधिकरणको कार्यकारी निर्देशक जस्तो महत्त्वपूर्ण पदसम्म पुगे । यद्यपि, पेशागत जीवनको उत्तरार्धतिर अहिले आएर उनले त्यो ऊर्जा क्षेत्रप्रति गरेको समर्पणको मूल्य नराम्रोसँग चुकाउनु पर्यो ।
शाक्यले आफ्नो पेशागत यात्राको उत्कर्षमा पुगेर हालै प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएका थिए । यद्यपि, यही नै उनको जीवनका लागि अभिशाप सिद्ध भयो । शाक्यले आफ्नो लामो अनुभव, प्राविधिक दक्षता र क्षमताका आधारमा देशका लागि गरेको योगदानको कुनै पुरस्कार पाएनन्, उल्टै दण्डित गरिँदै लगेको देखिन्छ ।
उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सालो’ भनी निराधार आरोप र राजनीतिक प्रतिशोधको सिकार बनाइयो । बनाइँदै छ । यतिसम्म कि प्राविधिक गडबडीका कारण ट्रिप भएर बत्ती जाँदा पनि 'सालो केटाे' भनी उनीमाथि सत्ताे सराप र व्यङ्ग्य वाण प्रहार गर्ने प्रचलन आम बनेको छ । यही निराधार आरोपका आधारमा उनले देशलाई गरेको प्राविधिक योगदानको पूर्ण रूपमा बेवास्ता गरिएको छ । गरिँदै छ ।
उनले मर्स्याङ्दी, त्रिशूली, र चिलिमे जस्ता महत्त्वपूर्ण जलविद्युत् परियोजनाहरूमा गरेका काम, साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ता निकायहरूमा दिएको योगदानलाई राजनीति दाउपेचको भुमरीमा फसाएर उनको निष्कलङ्क छवि र अद्भुत क्षमतामाथि नै प्रश्नचिह्न खडा गर्ने गरिएको छ ।
‘जेन–जेड’ आन्दोलनका क्रममा प्रदर्शनकारीले उनको ललितपुरस्थित घर जलाइदिए । यो घटनाले के देखाउँछ भने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यको थरसँग उनको थर (शाक्य) मिल्नु नै अभिशाप देखियो । यसरी कसैसँग थर मिल्नुकाे यही दुःखद् संयोगले उनको पेशागत मात्र होइन, व्यक्तिगत जीवनलाई पनि तहसनहस बनायो ।
उनले आफ्नो रगत–पसिनाले बनाएको घर, जसलाई जिन्दगीभरको कमाइ मानेका थिए, क्षणभरमै खरानीमा परिणत गरियो । उनको वर्षौंको मेहनत र त्यागलाई बेअर्थ र मूल्यहीन बनाउने कुचेष्टा गर्यो । यो घटनाले नेपालमा योग्यता र अनुभवको कदरभन्दा पनि राजनीतिक पूर्वाग्रहले कसरी एउटा व्यक्तिको जीवनलाई बरबाद गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । यो दुःखद् अवस्थाले हाम्रो समाजमा बढ्दै गएको राजनीतिक असहिष्णुता र हिंसाको भयावह अवस्थालाई समेत उजागर गरेको छ ।
यस्तै कुराले प्रश्रय पाउने हो भने दिनप्रतिदिन देशबाट युवाशक्ति तथा बौद्धिक पलायन (ब्रेन ड्रेन) ले अझ प्रश्रय पाउने देखिन्छ । युवाशक्ति र बौद्धिकताको पलायनले मुलुकलाई उन्नति, प्रगति र समृद्धिको विपरीत दिशामा अघि बढाउँदै खण्डहरमा परिणत गरिदिने छ । त्यसो हुँदा, सचेत नेपालीले तथ्यलाई नजरअन्दाज गरेर राजनीतिक दलको कित्ता समाउँदै कसैलाई पनि निराधार आरोप लगाउने वा हतोत्साहित गर्ने कार्य तत्काल बन्द गर्नु अनिवार्य छ । त्यसो हुन सके मात्र समृद्ध र सुसंस्कृत नेपालको सपना साकार पार्न सकिन्छ । खास गरी आजको निर्णायक जेन–जेड पुस्ता र राजनीतिक फेरो समातेर अघि बढ्दै गरेका युवाले यो तथ्यलाई मनन गर्नै पर्दछ ।
याे पनि पढ्नुहाेस् : प्राधिकरण कार्यकारी निर्देशकको दुखेसो : मैले ‘रगत-पसिना’ बगाएर बनाएको घर थियो, कुन रिसले जलाइयो ?