विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट जलविद्युत् किन्न गरेको निर्णय त्यहाँको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मन्त्रिपरिषद् अन्तर्गतको ‘क्याबिनेट कमिटि अन गभर्मेन्ट पर्चेज (सीसीजीपी)’ ले मंगलबार (जेठ २९ गते) उक्त निर्णय स्वीकृत गरेको हो ।

बंगलादेशका अर्थ मन्त्री अब्दुल हसन मोहोम्मद अलीले अध्यक्षता गरेको सीसीजीपीको १५औँ बैठकले प्रस्ताव स्वीकृत गरेको त्यहाँकाे बंगलादेश संवाद संस्था (राष्ट्रिय समाचार समिति) ले जनाएको छ । बैठकपछि मन्त्रिपरिषद् विभागका सचिव मोहोम्मद हसन खानले उक्त कुरा सार्वजनिक गरेका थिए ।

उनका अनुसार बंगलादेश, नेपाल र भारतबीच भएको त्रिपक्षीय सम्झौताका आधारमा बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीपी) ले ५ वर्षका लागि नेपालबाट ४० मेगावाट जलविद्युत् आयात गर्नेछ । विद्युत् खरिद गर्ने विषयमा यसअघि नै बीपीडीपी, नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता भइसकेको छ ।

भारतीय प्रसारण लाइनमार्फत बंगलादेशले प्रतियुनिट ८.१७ टाका (करिब ९.३० रुपैयाँ) मा नेपालकाे जलविद्युत् खरिद गर्ने निर्णय भएकाे छ । उक्त दरमा भारतले प्रसारण लाइनकाे भारु ०.०५९५ (०‍.०९५२ रुपैयाँ अर्थात् करिब १ रुपैयाँ) शुल्क लिनेछ । याे शुल्क कटाउँदा नेपालले बिजुलीकाे मूल्य प्रतियुनिट करिब ९‍.२० रुपैयाँ पाउने छ । उक्त परिमाणको बिजुली खरिद गर्न बंगलादेशले ६५० करोड टाका (करिब ७१६ करोड ८६ लाख रुपैयाँ) बराबरकाे ५ वर्षे परियाेजना सुरु गरेकाे छ ।

यसअघि बीपीडीपी प्रतियुनिट ८.६ रुपैयाँभन्दा बढीमा नेपालबाट जलविद्युत् आयात गर्न सहमत भई स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाएको थियो । मन्त्रिपरिषद् अन्तर्गतको समितिले ६.४० अमेरिकी सेन्ट (करिब ८.५७ रुपैयाँ) स्वीकृत गरेकाे जनाएकाे छ ।

यसअघि बंगलादेशले नेपालको जलविद्युत् प्रतियुनिट ५ अमेरिकी सेन्ट (६.६४ रुपैयाँ) मा खरिद गर्न सकिने बताउँदै आएको थियो भने प्राधिकरणले प्रतियुनिट ७ सेन्ट (करिब ९.३७ रुपैयाँ) भन्दै आएको थियो । प्राधिकरणले भारतसँग प्रतियुनिट औसत ८.४० रुपैयाँ (भारु ५.२५) मा जलविद्युत्को व्यापार गरिरहेको छ । उसले स्वदेशी निजी क्षेत्रबाट भने हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्दै आएको छ ।

नेपालले बंगलादेश जलविद्युत् निर्यात गर्न २४ मेगावाटको त्रिशूली र १६ मेगावाट अन्यबाट गरी ४० मेगावाट प्रस्ताव गरेको थियो । उक्त परिमाणको विद्युत् ढल्केबर–मुजफ्फरपुर नेपाल–भारत सीमापार प्रसारण लाइन हुँदै भारत–बंगलादेशबीचको लाइन बहरामपुर–भेरामराबाट निर्यात हुनेछ । यस विषयमा भारतले सहमति दिइसको छ । नेपालले मध्यकालीन अवधि (५ वर्ष) का लागि बंगलादेशमा विद्युत् निर्यात गर्ने प्रस्ताव थियो ।

प्राधिकरणले जुन महिनाको १५ तारिखदेखि नोभेम्बर १५ सम्म (६ महिना) ४० मेगावाट निर्यात गर्ने प्रस्ताव गरेको छ । उता, बंगलादेशले भने ४० मेगावाटसहित ५०० मेगावाट विद्युत् तत्कालै आयात गर्न चाहेको बताउँदै आएको छ । आफ्नो देशमा गहिरिँदै गएको विद्युत् संकट व्यवस्थापन र प्रणालीमा स्वच्छ ऊर्जाको परिमाण बढाउन उसले सन् २०४० सम्म छिमेकी देशहरूबाट ९ हजार मेगावाट जलविद्युत् आयात गर्ने रणनीति लिएको छ ।

नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्न पहिलो पटक सन् २०१८ मा सहमति भएको थियो । सोही अनुसार हरेक वर्ष दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त बैठक बस्दै आएको छ । यसले, नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको अवधारणामा काम गर्दै आएको छ । २०७९ भदौमा काठमाडौँमा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेशले २०७९ कात्तिकभित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो तर भारतले समयमै सहमति नदिँदा प्रक्रिया लम्बिएको थियो ।

२०७९ फागुन ५ र ६ गते भारतको राजस्थानस्थित माउन्ट अबुमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय १०औँ बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्म विद्युत् बंगलादेश लैजान दिने सहमति दिएको थियो । त्यसपछि, नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो  । नेपालले सन् २०३५ सम्म बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३