विद्युत अपडेट

  • प्राधिकरण : ४१६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५३८० मे.वा.घन्टा
  • आयात : २२६० मे.वा.घन्टा
  • निर्यात : १८६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : १३० मे.वा.घन्टा
  • ऊर्जा माग : ५४७५० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५१० मे.वा.
२०८३ असोज १६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

प्रिय...
तिमी हिमताल
फुटेपछिको रौद्र त्रिशूली भेलमा
अदृश्य भई बिलायौ 
जसरी निलिए पहाड
बस्ती र पुलहरू
त्यसरी नै तिमी  
अधुरै छोडेर अनगिन्ती हाम्रा कथा
जिन्दगीको मझधारमा

प्रिय 
आज सपनामा 
विशाल नदीको किनारमा 
तिमीलाई देखेँ
केही भन्न खोज्दै थियौ
तिम्रा ओठहरू
चलिरहेका थिए
तर, आवाज थिएन

तिमी भेटियौला भन्दै पछ्याएँ
तिम्रो पछि-पछि
तर तिमी टाढा भयौ 
अझै टाढा, बिलायौ कतै
अनन्त क्षितिजमा 
र पनि, रत्तिभर विश्वास छैन
तिमी अस्ताइसक्यौ
नियतिले छिनाइसक्यो भनेर

त्यसैले
तिम्रा पदचाप पछ्याउँदै
नदीले छाडेको बगरमा
आज म अभिसप्त एक्लै छु
सोध्छु ती घाइते चट्टानलाई 
मेरो मान्छे, तिमीलाई 
कसैले देख्यो कि !

अहँ, बोल्दैनन् कोही
सबै मौन
सायद, उनीहरू पनि वियोगमै छन् ।

साँझ पर्दै जाँदा
क्षितिजतिर हेरेर
फेरि एकपटक
तिमीलाई बिस्तारै बोलाएँ
यसपटक
नदीले केही बोलेन ।

टाढाको पहाडबाट
एउटा प्रतिध्वनि आयो
म धेरैबेर त्यहीँ उभिरहेँ ।
सायद, हावाको आवाज थियो।
सायद पहराको ।
सायद आफ्नै मनको ।

त्यस क्षण
मलाई लाग्यो
तिमीले मलाई
अझै बिर्सेका छैनौ।

प्रिय,
तिमी गएको नदी
आज पनि उस्तै
बेगले बगिरहेको छ ।
कति दिन र रात फेरिए 
कति ऋतु फेरिए

...तर नदीले
तिम्रो खबर ल्याएन ।
सायद, नदीसँग पनि
उत्तर छैन ।
सायद, उसले पनि
तिमीलाई नै उसै गरी
खोजिरहेको छ, प्रिय ।

प्रिय, तिमी
कतै छौ भने
फर्केर छिट्टै आउनू ।
धेरै ढिला नगर्नु
कहिल्यै फर्कन नसक्ने
किनारमा पुगिसकेका छौ भने
कम्तीमा कुनै रात
मेरो सपनामा आउनू

केही नभन्नू ।
केवल टाढै उभिएर
एकपटक मुस्कुराउनू ।
म बुझ्नेछु, तिमी ठीक छौ 
अनन्तमा ।

म त
अझै यतै छु, प्रिय 
तिमीले छोडेको बगरमा
तिम्रो सन्ताप पछ्याउँदै,
त्रिशूलीसँग तिम्रो खबर सोध्दै,
प्रत्येक साँझ क्षितिजतिर हेर्दै
तिमी फर्कने एउटा असम्भव
जिजीविषा बोकेर।

भोटेकोसी र त्रिशूलीको बाढीमा हराइरहेका नेपाल विद्युत् प्राधिकरणका सहकर्मी, जलविद्युत्‌कर्मी र सबै नागरिकप्रति समर्पित । कवि, प्राधिकरणका उप –प्रबन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३