काठमाडौं । श्वेत–गंगा हाइड्रो पावर एन्ड कन्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख को ५ प्रतिशतले हुने अर्थात प्रति कित्ता सय रुपैयाँ अंकित २३ लाख ९८ हजार ५०० कित्ता सेयर मध्ये ५ प्रतिशतले हुन आउने अर्थात १ लाख १९ हजार ४ सय ७५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कसन गरिने छ ।
सर्वसाधारणले छिटोमा साउन ८ गते सम्म र ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउँनेछन् ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निर्माणाधीन छ ।
तल्लो लिखुको निर्माण अहिले ९३ प्रतिशत भइसकेको र आगामी असोजमा व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । कुल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका आधारमा आयोजनाको प्रतिमेगावाटमा लागत २२ करोड ६७ लाख ६१ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ ।