काठमाडौं । चिरख्वा हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको साढे ८ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको हो ।
जारी पूँजी ४० करोडको ३० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर मध्येको १० प्रतिशत अर्थात ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरी बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार सर्वसाधारणका लागि निष्कासन गरिने ६ लाख ६४ हजार कित्तामा स्थानीयमा अवितरित १ लाख ९५ हजार ३ सय कित्ता समेत थप गरी जम्मा ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । सर्वसाधरणले छिटोमा २६ गतेसम्म र ढिलोमा कातिक ३ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न आरबिबि मर्चेन्ट बैकिङग् लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
कम्पनीको ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजना सञ्चालनमा छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रहेको छ भने प्रति मेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४ सय २६ रूपैयाँ रहेको छ ।