विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिबिर (सगरमाथा बेसक्याम्प) सम्म बिजुली पुग्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले समुद्री सतहबाट ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको बेसक्याम्ममा विजुली पुर्याउने गरी अध्ययन अघि बढाएको छ । आगामी दुई-तीन वर्षभित्र सगरमाथा बेसक्याम्पसम्म राष्ट्रिय ग्रिडको विद्युत पुर्याउने गरी अध्ययन भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । जटिलता रहे पनि त्यहाँ विद्युत् पुर्याउन साम्भव रहेको बताउँदै घिसिङले केही समय भने लाग्न सक्ने बताए।
सगरमाथा बेसक्याम्पमा विद्युत्को पहुँच पुर्याउने लक्ष्य छ, यसका लागि अध्ययनलगायत काम भइरहेको छ । भौगोलिक रूपमा जटिल भए पनि त्यहाँ ग्रिड पुर्याउन सम्भव छ ।प्राविधिक रूपमा पनि सम्भव छ,' घिसिङले भने, सगरमाथा बेसक्याम्प क्षेत्रमा विद्युत् पुर्याउन सकेमा पर्यटनमा पनि सकारातमक प्रभाव पर्नेछ। तिब्बततर्फबाट सगरमाथा बेसक्याम्प (छोमोलोमा) मा यसअघि नै विद्युत् लाइन र सडक पुगिसकेको छ। तिब्बततर्फ सगरमाथा बेसक्याम्प पाँच हजार दुई सय मिटर उचाइमा अवस्थित छ । नेपालतर्फ सगरमाथा बेसक्याम्ममा विद्युत् लाइन पुगेमा त्यो हालसम्मकाे उच्च स्थान हुनेछ ।
सगरमाथा बेसक्याम्पमा कुनै बस्ती छैन । आरोहणाको सिजनमा बेसक्याम्पमा दुई–अढाई महिना आरोहीले टेन्ट टाँगेर बस्ने गर्छन् । सडक नपुगेको खुम्बु क्षेत्रमा डिजेल, पेट्रोल, ग्यास, खाद्यान्नलगायत भरिया र खच्चडलाई बोकाएर लैजानुपर्छ । हिउँले ढाकिने बेसक्याम्ममा विद्युत् नपुग्दा बसाइ कष्टकर हुने गरेको छ । भौगोलिक अवस्थाका कारण त्यहाँ विद्युत् पुर्याउन चुनौती छ तर असम्भव भने होइन, घिसिङले भने, 'दुई-तीन वर्षमा त्यहाँ विद्युत् पुर्याउने लक्ष्य लिएका छौँ । सगरमाथा क्षेत्र नेपालको प्रमुख पर्यटकीय गन्तब्य हो । वसन्तकालीन सिजनमा सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण गर्न जाने आरोहीहरुको टेन्टले बेसक्याम्प रंगीचंगी गाउँजस्तै बनेको हुन्छ । वसन्तकालीन सिजनमा ट्रेकिङ गर्दै बेसक्यामसम्म पुग्ने ताँती हुन्छ। बेसक्याम्पमा आरोही र सहयोगीबाहेक अरू टेन्ट टाँगेर रात बिताउन पाउँदैनन् । सगरमाथा आरोहणका लागि महिनौ टेन्ट टाँगेर बस्ने पर्यटक र सहयोगीलाई लक्षित गरेर बेसक्याम्पसम्म राष्ट्रिय ग्रिडकै विद्युत् पुर्याउने लक्ष्य लिएको कार्यकारी निर्देशक घिसिङले बताए । नाम्चेबाट क्रमशः सबस्टेसन र वितरण लाइन निर्माण गरेर बेसक्याम्पमा राष्ट्रिय ग्रिड पुर्याइनेछ,' घिसिङले भने । अहिले सोलुखुम्बु जिल्लामा ८९.०४ प्रतिशत विद्युतीकरण भएको छ । जिल्लामा राष्ट्रिय र स्थानीय लघुजलविद्युत् परियोजनाबाट विद्युतीकरण गरिएको छ । सगरमाथा आरोहण गर्न बर्सेनि करिब पाँच सय अरोही जान्छन् । उनीहरुका सहयोगीसहित एक हजारभन्दा धेरै बेसक्याम पुग्छन् । सन् २०२३ मा ४०८ जनाले सगरमाथा चढ्ने गरी अनुमति लिएका थिए ।
आधार शिविरमा मट्टीतेल र ग्यासबाट खाना पकाउनुपर्छ। मोबाइल चार्ज गर्न वैकल्पिक (पावर बैंक, व्याकअप) ऊर्जा प्रयोग गर्नुपर्छ । चिसोबाट बच्न दाउरा वा ग्यास र मट्टीतेलबाट आगो बाल्नुपर्छ । जसले वातवरण पनि प्रदूषण बनाइरहेको छ । डिजेल ग्यास, मट्टीतेल र हाम्रा ढुवानी गर्न पनि धेरै खर्च लाग्ने सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए । पर्यटन व्यवसायीका अनुसार बेसक्याम्पसम्म एक लिटर मट्टीतेल, डिजेल र पेट्रोल पुर्याउने आठ सय रूपैयाँ खर्च हुन्छ । यस्तै, ग्यास सिलिन्डरको १२ हजारभन्दा धेरै खर्च हुन्छ । जसले पर्यटकको बसाइ महँगो पनि हुने गरेको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै बेसक्याम्पसम्म विद्युत् पुर्याउने लक्ष्य लिएको घिसिङको भनाइ छ । 'विद्युत् पुगेपछि चिसोबाट बच्न एसी वा हिटर बाले हुन्छ, दाउरा बा मट्टीतेल बाल्नुपर्दैन, बिजुलीका लागि जेनेरेटर चलाउन पर्दैन, विद्युतीय चुलोबाटै खाना पकाउन सकिन्छ । विद्युत्बाटै पानी तताउन सकिन्छ । ग्यास सिलिन्डर पनि बोक्नुपर्दैन घिसिङले भने, त्यहाँ भइरहेको वातावरण प्रदूषण पनि कम हुन्छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष शेर्पाले सगरमाथा बेसक्याममा विद्युत् पुगेमा बहुपक्षीय फाइदा हुने बताए । पर्यटकले पाउने सुविधा बढ्नेदेखि उनीहरूको खर्च पनि न्यूनीकरण हुने उनको भनाइ छ । बिजुली वतावरणमैत्री रहेको हुनाले पनि प्राधिकरणको यो योजना सफल हुनुपर्ने उनको भनाइ छ ।
'अहिले मट्टीतेल, डिजेल र ग्यासबाट खाना पकाउने र पानी तताउनेलगायतका काम भइरहेका छन् । ढुवानी खर्च उच्च छ। विद्युत् नहुँदा सेवा प्रवाहमै धेरै समस्या छन्' उनले भने, 'अब विद्युत् पुगेमा बिजुलीबाटै खाना पकाउने र तताउने गर्न सकिन्छ । बिजुली हिटर र एसी प्रयोग गर्न सकिन्छ। कपडा धुने मेसिनहरूसमेत प्रयोग गर्न सकिन्छ । विद्युत् पुगेपछि इन्टरनेट पनि पुग्ला, यसले पर्यटकले पाउने सुविधा बढ्छन् र खर्च पनि कम हुन्छ ।
स्राेत ः नयाँ पत्रिका दैनिक