विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

नेपालमा पछिल्ला केही वर्षमा विद्युतीय सवारी (ईभी) को प्रयोग तीव्र गतिमा बढेको छ, जुन वातावरणीय र आर्थिक दुवै दृष्टिले स्वागतयोग्य छ । इन्धन आयातमा हुने अर्बौँ रुपैयाँ खर्च जोगाउन र देशमै उत्पादित हरित ऊर्जाको खपत बढाउन ईभी-क्रान्ति एउटा बलियो खम्बा बनेको छ । सरकार र उपभोक्ता दुवैको प्राथमिकतामा ईभी परिरहँदा सडकमा बिजुली गाडीको उपस्थिति बाक्लिँदै छ । एउटा इलेक्ट्रिकल इन्जिनियरको नजरबाट हेर्दा यो चमकधमक रूपान्तरणको पछिल्लो पाटो अलि फरक र चिन्ताजनक देखिन्छ ।

ईभी भित्र्याउन जुन उत्साह देखियो, ती गाडीलाई ऊर्जा उपलब्ध गराउने 'विद्युत् वितरण प्रणाली' सुदृढीकरणमा त्यो गम्भीरता देखिएको छैन । फलतः देशका प्रमुख सहरमा प्राविधिक सङ्कटका बाछिटाहरू देखिन थालेका छन् । संसारमै ईभी बिक्रीको बजार हिस्सामा नर्वे  पहिलो र नेपाल दोस्रो स्थानमा छ  । जहाँ नयाँ बिक्री हुने कारहरूमा नर्वेमा करिब ९७% हिस्सा विद्युतीय गाडीको छ । नेपालमा नेपालमा भने त्यो दर करिब ७३% पुगेको छ  । यो गर्विलो स्थान हासिल गर्न नेपाल सरकारको उदार नीति र नेपाल विद्युत्‌ प्राधिकरणको अग्रसरताको परिणाम हो भन्नेमा कुनै दुईमत छैन  ।

सन् २०३० सम्म देशभर कम्तीमा १० हजार ईभी चार्जिङ स्टेसन आवश्यक पर्ने सरकारी अध्ययन छ । अहिले करिब एक हजार चार्जिङ स्टेसन सञ्चालनरत छन्, जसको ठूलो हिस्सा निजी क्षेत्र तथा आधिकारिक सवारी बिक्रेताले लिएका छन् । अधिकांश पूर्वाधार काठमाडौं, पोखरा र भरतपुरजस्ता सहरमा केन्द्रित छन् । आगामी चार वर्षमा चार्जिङ पूर्वाधार अहिलेको तुलनामा करिब १० गुणासम्म विस्तार गर्नुपर्ने चुनौती छ ।

प्राविधिक सङ्‌कट

काठमाडौँ उपत्यका, पोखरा, भरतपुर, जनकपुरजस्ता सहरी तथा व्यापारिक केन्द्रमा ईभी चार्जिङका कारण भोल्टेज ड्रप हुने र ट्रान्सफर्मर ट्रिप हुने समस्या बढेको छ । निजी सवारी धनीले प्राय: बेलुका घरमै घरायसी चार्जिङ (एसी चार्जिङ) मार्फत चार्ज गर्ने गर्दछन् । यसले ‘पिक आवर’ खपत बढाउन भूमिका खेलेको छ । साथै, व्यावसायिकरूपमा सञ्चालित ६० देखि १५० किलोवाट वा सोभन्दा बढी क्षमताका 'डिसी फास्ट चार्जर'ले एकै पटक ठूलो परिमाणमा ग्रिडबाट बिजुली तान्छन् ।

जब कुनै एउटा क्षेत्रको ट्रान्सफर्मरमा क्षमताभन्दा बढी भार (ओभरलोड) पर्छ, त्यसले वरपरका सम्पूर्ण घरायसी तथा औद्योगिक उपभोक्ताको बिजुलीमा 'भोल्टेज फ्लक्चुएसन' गराउँछ । विशेषतः साँझ वा बिहानको उच्च माग (पिक आवर) मा घरायसी लोड पनि सोही अनुसार बढ्छ । साविककै समयमा चार्जिङ स्टेसनमा गाडीहरूको लाइन लाग्छ । घरायसी मिटरबाट समेत गाडी चार्ज गर्ने चलन बढेको छ । यसो हुँदा, स्थानीय ट्रान्सफर्मरले उक्त भार धान्न नसकेर सुरक्षा प्रणालीका कारण स्वतः ट्रिप हुन्छ । तराईका बढी गर्मी हुने सहरमा त एसीको प्रयोग उच्च हुन्छ । यो समयमा थपिएका फास्ट चार्जरहरूले वितरण प्रणालीलाई झनै थिलथिलो बनाएका हुन्छन् ।
अदृश्य जोखिम

चार्जिङ पूर्वाधारले निम्त्याएको अर्को ठूलो चुनौती विद्युत्‌को गुणस्तर (पावर क्वालिटी) र 'हार्मोनिक्स'को हो । डिसी फास्ट चार्जरमा शक्तिशाली पावर इलेक्ट्रोनिक्स कन्भर्टरहरू प्रयोग गरिएका हुन्छन् । यी उपकरणले एसी बिजुलीलाई डिसीमा बदल्ने क्रममा गैर-रेखीय लोड (नन-लिनियर लोड) सिर्जना गर्छन्, जसले गर्दा ग्रिडमा पावर फ्याक्टर बिग्रिने र उच्च लेभलको 'टोटल हार्मोनिक डिस्टोर्शन' (टिएचडी) उत्पन्न हुन्छ ।

यसरी उत्पन्न हुने हार्मोनिक्सले ट्रान्सफर्मर र कन्डक्टरहरूलाई आवश्यकता भन्दा बढी तताउने (ओभर हिटिङ), इन्सुलेसन कमजोर बनाउने र ट्रान्सफर्मरको आयु द्रुत गतिमा घटाउने काम गर्छ । चार्जिङ स्टेसनहरूमा उचित फिल्टर (हार्मोनिक फिल्टर्स) र गुणस्तरीय अर्थिङको प्रयोग गरिएन भने यसले नजिकका सबस्टेसन र अन्य संवेदनशील विद्युतीय उपकरणमा समेत अपूरणीय क्षति पुर्‍याउन सक्छ ।

व्यवस्थापकीय सुस्तता

प्राधिकरणले उज्यालो नेपाल अभियान मार्फत लोडसेडिङ अन्त्य गरेर आफ्नै प्रयासमा केही चार्जिङ स्टेसन निर्माण गरी ईभी उपयोगिताको आधार बनाएर प्रशंसा बटुलेको सत्य हो । ईभीको तीव्र वृद्धि र त्यसले ग्रिडमा पार्ने तत्कालीन तथा दीर्घकालीन प्रभावको पूर्वआकलन गरी प्रणालीलाई 'फ्युचर-प्रुफ' बनाउने कार्यमा भने सुस्तता देखिएको छ ।

हाम्रा अधिकांश सहरका वितरण लाइन, ट्रान्सफर्मर र सबस्टेसन दशकौँ अगाडिको घरायसी लोडलाई ध्यानमा राखेर डिजाइन गरिएका हुन्छन् । आज ती पुराना पावर ट्रान्सफर्मरमाथि धमाधम नयाँ फास्ट चार्जिङको भार थपिँदा प्रणालीले हात उठाउनु स्वभाविकै हो । चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृति दिदा त्यस क्षेत्रको ट्रान्सफर्मर वा कन्डक्टरको क्षमता अभिवृद्धि गर्न बजेट अभाव तथा विभिन्न समस्याका कारण झनै जटिल बनाएको छ ।

नीतिगत सुधार

भविष्यमा सडकमा ईभीको सङ्ख्या दिन प्रतिदिन बढ्दै जाने निश्चित छ । सरकारले यसलाई कडाइ गर्नु वा रोक्नु समस्याको समाधान होइन । हुन पनि सक्दैन । समाधान त हाम्रो प्राविधिक क्षमता बढाउनुमा छ । यसका लागि तत्काल र दीर्घकालीन रूपमा निम्न कदमहरू चाल्नु अपरिहार्य छ:

१. वितरण प्रणाली सुधार तथा सुदृढीकरण: सहरका प्रमुख क्षेत्रमा पुराना र कम क्षमताका कन्डक्टर (तार) हटाएर उच्च क्षमताका कन्डक्टरले प्रतिस्थापन गर्नुपर्छ । साथै, ईभी केन्द्रित क्षेत्रमा छुट्टै डेडिकेटेड फिडरको व्यवस्था गरिनु पर्छ ।

२. राष्ट्रिय राजमार्ग छेउमा चार्जिङ हब: ईभीको बिक्री बढ्दै जानु चार्जिङ पूर्वाधार विस्तारको प्रमुख कारण हो । आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १३ हजारभन्दा बढी विद्युतीय कार, जीप र भ्यान आयात भएको भन्सार तथ्याङ्‌कले देखाउँछ । अघिल्लो वर्षको तुलनामा यो उल्लेख्य वृद्धि हो । ईभीको बजार बढ्ने गति र चार्जिङ पूर्वाधारको विकासबीच तालमेल नहुने हो भने बाटोमै ब्याट्री सकिने (रेन्ज एनेक्सिटी) डर ईभी विस्तारको बाधक बन्न सक्छ ।

यही समस्या सम्बोधन गर्न जल तथा ऊर्जा आयोगको सचिवालयले राष्ट्रिय राजमार्गमा सार्वजनिक ईभी चार्जिङ इन्फ्रास्ट्रक्चरका लागि गुरुयोजना तयार गरेको छ । उक्त योजनाले ८० वटा राष्ट्रिय राजमार्ग अध्ययन गरी ४२४ प्राथमिक ईभी चार्जिङ क्षेत्र पहिचान गरेको छ । स्थान छनोट गर्दा ट्राफिकको घनत्व, ग्रि पहुँच, भूगोल, बाढीको जोखिम, सडकको गुणस्तर लगायत विषयलाई आधार बनाइएको छ ।

राष्ट्रिय राजमार्ग छेउका सब-स्टेसन नजिक लामो दूरीका निजी तथा सार्वजनिक गाडी चार्ज गर्न छुटै फिडर मार्फत चार्जिङ हब विकास गर्नुपर्छ । यसो गर्न विभिन्न सुविधा उपलब्ध गराएर निजी क्षेत्रलाई चार्जिङ स्टेसन निर्माणका लागि प्रेरित गर्नुपर्छ  ।

३. सबस्टेसनमा पावर ट्रान्सफर्मर अपग्रेड: प्रमुख सहरका सबस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको तत्काल क्षमता अभिवृद्धि गरिनुपर्छ । पिक आवरको लोड व्यवस्थापन गर्न सबस्टेसनमा 'स्मार्ट ग्रिड' प्रविधि र स्वचालित लोड व्यवस्थापन प्रणाली (स्क्याडा) लागु गर्नुपर्छ । स्मार्ट चार्जिङ लागु गरी चार्जिङ स्टेसनलाई डिजिटल नेटवर्कमा जोडेर वास्तविक समयमा विद्युत् खपत र माग सुपरिवेक्षण गर्ने व्यवस्था हुनुपर्छ ।

४. टिओडी महसुल र स्मार्ट चार्जिङ: रातिको न्यून माग (अप-पिक) समयमा जब विद्युत्‌ माग एकदमै कम हुन्छ । खासगरी, वर्षामा राति विद्युत्‌ खेर जाने हुँदा त्यो समयमा ईभी चार्ज गर्दा उपभोक्तालाई विशेष छुट दिने र पिक आवरमा बढी शुल्क लिने नीति कडाइका साथ लागु गर्नुपर्छ । साथै, उपभोक्ताले अनिवार्य छुट पाउने व्यवस्था सुनिश्चित गर्नुपर्छ, यसले प्रोत्साहनको वातावरण बनाउने छ । दिनको समयमा ग्रिडमा पर्ने दबाबसमेत स्वतः घट्छ ।

५. प्राविधिक मापदण्ड: निजी वा सरकारी जुनसुकै चार्जिङ स्टेसन निर्माण गर्दा अनिवार्य रूपमा पावर क्वालिटी टेस्ट, हार्मोनिक फिल्टर र कडा सुरक्षा मापदण्ड पालना गराउनु पर्छ । नेपालमा विभिन्न देश र कम्पनीबाट ईभी आयात भइरहेका छन् । त्यसैले, चार्जिङ कनेक्टर, सञ्चार प्रोटोकल, भुक्तानी प्रणाली र चार्जरको अनुकूलता जस्ता विषय झन् महत्त्वपूर्ण हुन्छन् । चार्जरको गुणस्तर कमजोर भए चार्जिङ समयमात्र बढ्दैन; सवारी, ब्याट्री र इलेक्ट्रिकल प्रणालीमै जोखिम उत्पन्न हुन सक्छ । डिसी फास्ट चार्जिङ उच्च शक्तिको विद्युतीय उपकरण भएकाले अर्थिङ, प्रोटेक्सन, सर्ज प्रोटेक्सन, इन्सुलेसन, इमर्जेन्सी सटडाउन, फायर सेफ्टी लगायत विषयमा स्पष्ट मापदण्ड र नियमित सुपरिवेक्षण आवश्यक हुन्छ ।

उल्लिखित सुधारका काम गर्दै ऊर्जा रूपान्तरण अभियानमा लाग्नुपर्ने समय आइसकेको छ ।

इरान र इजरायल-अमेरिका बीच चलिरहेको युद्धले पेट्रोलियम पदार्थ आपूर्तिको अभाव विश्व लगायत नेपालले पनि भोगिरहेको छ । एकातिर, पेट्रोलियम पदार्थको मूल्य अकासिनु । अर्कोतिर, आवश्यक परिमाणमा उपलब्ध नहुनुले ईभीतिर गति बढाएको छ । आज पेट्रोलपम्पको विकल्प खोजिएको छ । भविष्यमा चार्जिङ स्टेसन केवल पेट्रोलपम्पको विकल्प हुने छैन । यो नेपालको ऊर्जा तथा यातायात प्रणाली र डिजिटल भुक्तानी प्रणाली जडित पूर्वाधार बन्न सक्छ ।

अझ अगाडि जाँदा, स्मार्ट चार्जिङ, एकीकृत नवीकरणीय ऊर्जा, ब्याट्री स्टोरेज र सवारीलाई ग्रिडसँग जोड्ने (भेहिकल-टु-ग्रिड) जस्ता प्रविधिले ईभीलाई विद्युत् उपभोक्तासम्म मात्र नभई ग्रिड व्यवस्थापनको हिस्सा बनाउन सक्छन् । नेपालको विद्युतीय रूपान्तरण गाडीको आयातमा मात्र सीमित हुनु हुँदैन । जबसम्म वितरण प्रणाली र सबस्टेसनलाई आधुनिक, बलियो र प्रविधियुक्त बनाउन सकिँदैन, तबसम्म ईभीको लहरले हरित क्रान्तिभन्दा बढी प्राविधिक विपत्ति निम्त्याउने जोखिम रहन्छ ।

तसर्थ, विद्युत् प्राधिकरण र सम्बद्ध निकायले समयमै वितरण प्रणालीको सुदृढीकरण र सबस्टेसन अपग्रेडमा ध्यान दिनुपर्छ । नत्र काठमाडौँ, भरतपुर र जनकपुर लगायत सहरमा देखिएका भोल्टेज ड्रपका समस्या भोलि देशैभरि भयावह बनेर फैलिने छ ।

चौधरी इलेक्ट्रिकल इन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस

रोशन चौधरी

रोशन चौधरी नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सहायक इन्जिनियर हुन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३