खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताउँदै उक्त लक्ष्यलाई पूरा गर्न सरकार लागिपरेकाे बताएका छन् । सङ्खुवासभामा मात्र झन्डै ५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नदी रहेकाले यसको उच्चतम प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री खड्काले आगामी २ वर्षभित्र सङ्खुवासभासहित देशभर विद्युतीकरण गरिसक्ने बताए । उनले नेपालकाे स्रोतसाधनकाे अधिकतम प्रयोग गरिने उल्लेख गरे ।
नेपाली कांग्रेस सङ्खुवासभा जिल्ला कार्यसमितिले साेमबार खाँदबारीमा आयोजना गरेको १११औँ बिपी जयन्ती तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको सम्मानमा आयोजित कार्यक्रममा उनले सङ्खुवासभाभित्र रहेका स्रोतसाधनको उच्चतम प्रयोगमार्फत सङ्खुवासभाको शीर उच्च राख्नेगरी काम गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री खड्काले २ ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनताको आर्थिक विकास र देशको समृद्धिका क्षेत्रमा काम गर्ने बताए । ‘देशको आवश्यकताअनुसार संविधान संशोधन गर्नेगरी २ दल मिलेर सरकार बनेको छ, यो सरकारले नागरिकमैत्री सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, सुशासनलगायत क्षेत्रमा काम गर्नेछ’, उनले भने ।
मन्त्री खड्काले नयाँ सरकार गठनपछि मुलुकको आर्थिक, पर्यटकीय गतिविधिमा परिवर्तन आएको बताउँदै अब प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गरेर देशको विकास गर्ने उल्लेख गरे ।
नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्री खड्काले जनतामैत्री सेवा प्रवाहमा केन्द्रित हुन पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे। ‘जनताले हाम्रा कामको मूल्यांकन गरिरहनुभएको छ, तसर्थ उहाँहरुको सहजता र सुविधाका लागि काम गर्नुहोस्’, उनले भने ।
कांग्रेस सङ्खुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले ऊर्जा, जलस्रोत र सिँचाइमार्फत देशको विकासमा लाग्नुपर्ने बताए । उनले सङ्खुवासभामा भएको स्रोतसाधनको उच्चतम प्रयोग गरी समृद्ध सङ्खुवासभा निर्माणमा लाग्ने उल्लेख गरे ।
कांग्रेस सङ्खुवासभाका पूर्वसभापति दीपनकुमार श्रेष्ठले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन बीपी कोइरालाको ठूलो योगदान रहेको स्मरण गरे । ‘बीपी कोइराला भन्नुहुन्थ्यो गाउँको विकास भएमात्र देशको विकास हुन्छ, उहाँको विचारलाई पूरा गर्न कांग्रेस लाग्नुपर्छ’, उनले भने ।
कांग्रेस सङ्खुवासभाका पूर्वसभापति जनक थापाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विश्वेश्वरप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए । उनले सङ्खुवासभाले पहिलोपटक निर्वाचित मन्त्री पाएकाले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कांग्रेस सङ्खुवासभाका उपसभापति रामकुमार जिमी, सचिव टकमान घले, पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांंग्रेस महाधिवेशन प्रतिनिधि निर्मला तामाङ बस्नेत, महासमिति सदस्य दीपककुमार लिम्बूलगायतले जिल्लाको जलस्रोतलाई अत्यधिक उपयोग गरी यस क्षेत्रको विकासमा लाग्न मन्त्रीसँग अनुरोध गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस सङ्खुवासभाले जिल्लाको समस्या सम्बोधनका लागि मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको थियो । निर्वाचित मन्त्री खड्कालाई कांग्रेस जिल्ला कार्यसमिति र जिल्लास्तरीय भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिले सम्मान गरेका थिए ।