काठमाडौँ । संशोधनसहित प्रसारण लाइन गुरुयोजना तयार गरेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले आगामी १५ वर्षभित्र नेपालबाट छिमेकी मुलुकमा १७ हजार ७ सय मेगावाट विद्युत् निर्यात गर्न सकिने औंल्याएको छ । सीमा क्षेत्रमा निर्माण सम्पन्न, निर्माणाधीन र प्रस्तावित सीमापार प्रसारण लाइनको उपयोग गरी उक्त परिमाणको बिजुली निर्यात गर्न सकिने देखाइएको हो ।
कम्पनीले २०७५ साल (सन् २०१८) मा तयार गरेको ‘प्रसारण लाइन गुरुयोजना’लाई केही संशोधन एवम् परिमार्जन गरी सन् २०४० सम्म आन्तरिक तथा बाह्य प्रसारण लाइन निर्माणको खाका तयार गरेको छ । सोही आधारमा भारत, चीन र बंगलादेशसँग जोडिएका सीमामार्फत प्रक्षेपित परिमाणको विद्युत् निर्यात गर्न सकिने उल्लेख गरिएको छ ।
तयारी दस्तावेजलाई अन्तिम रूप दिन तथा त्यसमा थप राय–सुझाव तथा सल्लाहका लागि कम्पनीले गुरुयोजनाको मस्यौदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसमक्ष पेश पनि गरिसकेको छ । २०७५ सालमा नेपाल–भारतका सीमामा ११ वटा सीमापार प्रसारण लाइन निर्माण गर्न सकिने देखाइएकोमा यस पटक त्यसमा केही सुधार गरी ९ वटा प्रस्ताव गरिएको छ ।
अन्तिम रूप दिन बाँकी गुरुयोजनामा सीमापार प्रसारण लाइनबाट बिजुली निर्यात गर्न मिल्ने विन्दुहरू भारततर्फ ९ वटा, चीनतर्फ २ र बंगलादेशतर्फ एउटा प्रस्ताव गरिएको छ । प्रक्षेपित प्रसारण लाइनबाट भारतमा १२ हजारअ ६ सय, चीनमा २ हजार र बंगलादेशमा ३ हजार १ सय मेगावाट बिजुली निर्यात गर्न सकिने देखाइएको छ ।
विद्युत् निर्यातका लागि प्रक्षेपित प्रसारण लाइन र निर्यात परिमाण (क्षमता मेगावाट)
सि.नं. | प्रस्तावित प्रसारण लाइन | क्षमता |
१. | अत्तरिया-बरेली | २१०० |
२. | दाेदाेधारा-बरेली | २१०० |
३. | लमही-लखनउ | २१०० |
४. | बुटवल-गाेरखपुर | २१०० |
५. | हर्निया-माेतिहारी | ११०० |
६. | ढल्केबर-मुजफ्फरपुर | १००० |
७. | इनरुवा-पुर्निया | २१०० |
८. | अनारमनि-भारत-बंगलादेश | ३१०० |
९. | चिलिमे-केरुङ | ९०० |
१० | हाइतार-ल्हात्से | ११०० |
स्राेत : राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड
गुरुयोजना अनुसार उक्त अवधिमा १३२ केभी प्रसारण लाइन ६ हजार ४ सय ३० किलोमिटर, २२० केभी प्रसारण लाइन ४ हजार १ सय ६५ किलोमिटर र ४०० केभी प्रसारण लाइन ६ हजार ४ सय ४० किलोमिटर प्रसारण लाइन आवश्यक पर्ने पनि देखाइएको छ । सोही अवधिमा आन्तरिक माग करिब १८ हजार मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।
सरकारले २०८० सालमा १२ वर्षे विद्युत् विकासको मार्गचित्र तयार गरेको थियो । जसअनुसार सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १३ हजार ५ सय आन्तरिक खपत गरी १५ हजार मेगावाट छिमेकी मुलुकमा निर्यात गर्ने लक्ष्य राखिएको छ । विद्युत् विकासको सोही मार्गचित्रमा टेकेर नयाँ अवधारणा अनुसार गुरुयोजना तयार गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले बताए ।
गुरुयाेजना अनुसार अनुमानित लगानी (रु. अर्ब)
सि.नं. | वर्ष | लगानी | प्रसारण लाइन (किलाेमिटर) |
१. | २०२५ | ९० | १७०३५ (४१२३२ एमभीए) |
२. | २०३० | ५८० | १३८१४ (३५६९३ एमभीए) |
३. | २०३५ | ७२० | ११३२७ (३२६१८ एमभीए) |
4. | २०४० | ९१० | ४६२७ (८२२२ एमभीए) |
गुरुयोजनाका आधारमा सन् २०४० सम्म उत्पादित विद्युत् लक्षित आन्तरिक तथा बाह्य बजारसम्म पुर्याउन ९ खर्ब १० अर्ब रुपैयाँ आवश्यक पर्ने औंल्याइएको छ । विद्युत् विकासको मार्गचित्र अनुसार सन् २०३५ सम्म उत्पादित विद्युत् प्रसारण तथा बजारसम्म पुर्याउन निर्माण गर्नुपर्ने प्रसारण लाइनका लागि ७ खर्ब २० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
गुरुयोजनाले सन् २०४० सम्मको अनुमानित विद्युत् उत्पादनको आँकडा पनि देखाएको छ । जसअनुसार सन् २०३० सम्म १३ हजार ५ सय मेगावाट, २०३५ सम्म २८ हजार ५ सय मेगावाट र २०४० सम्म ३९ हजार मेगावाट उत्पादन हुनेछ ।