काठमाडौँ । दाङमा १० मेगावाटको ‘लमही सौर्य विद्युत् आयोजन’ निर्माण गरिने भएको छ । प्राइम पावर लिमिटेडले जिल्लाको लमही नगरपालिका– ७ मा उक्त आयोजना निर्माण गर्न लागेको हो । यसका लागि उत्पादन अनुमतिपत्रको माग गर्दै प्रवर्द्धक कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।
आयोजना अन्तर्गत ८.८१ हेक्टर जग्गामा सोलार फोटोभोल्टि क प्यानलहरू जडान गरिने छ । उक्त प्यानलमार्फत डिसी विद्युत् उत्पादन गरी त्यसलाई २७५ किलोवाटका ३६ वटा र २०० किलोवाटको एउटा इन्भर्टर मार्फत विद्युत् उत्पादन गरिनेछ ।
आयोजनाबाट वार्षिक औसत २१.४७१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन हुने विद्युत्लाई ३३ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको लमही सबस्टेसनमा जोड्ने योजना छ ।
२०८३ साल चैत महिनाभित्र निर्माण सम्पन्न गरी आयोजनाबाट विद्युत् उत्पादन गर्ने प्रवर्द्धक कम्पनीको लक्ष्य रहेको छ । आयोजनाबाट वातावरणमा कुनै उल्लेख्य प्रतिकूल प्रभाव पर्ने देखिए ३५ दिनभित्र लिखित राय–प्रतिक्रिया दिन विभागले बुधबार सूचना जारी गरेको छ ।