विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढी-पहिरोका कारण देशभर पुर्‍याएको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गरेका छन् । मन्त्री खड्काले आइतबार सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सचिवसँग 'भर्चुअल बैठक गरी बाढी-पहिरोले पुर्‍याएको क्षतिको अवस्था र अब गर्नुपर्ने कामका बारेमा जानकारी लिएका थिए । बैठकमा मन्त्री खड्काले देशभर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण यस क्षेत्रमा अर्बौं रुपैयाँको क्षति पुगेको भन्दै यसलाई पुनःनिर्माणका लागि तीन वटै सरकारबिच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

'हामीले अहिले स्वास्थ्य उपचार, खानेपानी, विद्युत्‌को उपलब्धता र फूल खेल्न लागेको खेतीलाई सिँचाइको अस्थायी व्यवस्था गर्नुपर्नेछ, यसका लागि स्थानीय तहसँग समन्वय गरेर सबै प्रदेशमा खटिनुपर्‍यो, केन्द्र सरकारबाट हुने सबै खालको सहयोग हुनेछ,' उनले भने ।

मन्त्री खड्काले छरिएर रहेको बजेटलाई एक ठाउँमा राखेर खर्च गर्नसमेत सबै प्रदेश सरकारका अधिकारीहरूलाई आग्रह गरे । दुई ठूला पार्टी मिलेर मजबुद सरकार बनेकाले जनतालाई अनुभूति हुने खालको काम गर्नुपर्ने उनको भनाइ थियो । खर्च गर्न नसकेको बजेटलाई रकमान्तरण गरेर आयोजना सम्पन्न गर्नतर्फ लाग्न पनि उनले आग्रह गरे ।

बैठकमा ऊर्जा सचिव सुरेश आचार्यले बाढी-पहिरोका कारण नयाँ आयोजना सम्पन्न गर्न कठिनाइ भइरहेको भन्दै पुरानाको पुनःनिर्माण र सकिन लागेकालाई सम्पन्न पूरा गर्न सबै लाग्नुपर्ने बताए । उहाँले अर्थ मन्त्रालयले भर्खरै विपद् व्यवस्थापनका लागि ५ अर्ब रुपैयाँ बजेट निकासा गरेको भन्दै उक्त बजेटले तत्कालै नगरी नहुने समस्यालाई समाधान गर्न सकिने उनको भनाइ थियो ।

बैठकमा कोशी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एकराज कार्कीले यही असोज १० देखि १२ गतेसम्म आएको बाढीले कोशी प्रदेशको सिँचाइ र तटबन्धनमा रु ९७ करोड ६४ लाख क्षति पुर्‍याएको बताउनुभयो । मधेस प्रदेशका मन्त्री शेषनारायण यादवले ठूला नदीमा आएको बाढीका कारण मधेस प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ रु ७४ करोड ९५ लाखको क्षति पुगेको जानकारी गराए ।

बागमती प्रदेशका मन्त्री श्याम खड्काले उक्त बाढी-पहिरोबाट बागमती प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ १ अर्ब ९७ करोड रुपैयाँ क्षति पुगेको जानकारी गराए । यस्तै, गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाले ३ दिनको वर्षाले आएको बाढी-पहिरोले गण्डकी प्रदेशको सिँचाइ र तटबन्धनतर्फ २३ करोड ६८ लाख रपैयाँ बराबरको क्षति पुगेको उल्लेख गरे ।

लुम्बिनी प्रदेशका मन्त्री सीता शर्माले बाढी-पहिरोले लुम्बिनी प्रदेशका १२ जिल्लामा ४४ करोड ६६ लाख रुपैयाँको क्षति पुगेको बताए । यस्तै, कर्णाली प्रदेशका मन्त्री विजया बुढाले यस वर्ष कर्णालीभित्र बाढी-पहिरोका कारण सिँचाइ र तटबन्धनको क्षेत्रमा ३३ करोड १३ लाख रुपैयाँ बराबरको क्षति पुगेको पनि जनाए । उता, सुदूरपश्चिम प्रदेशका मन्त्री सुरेन्द्रबहादुर पालले यस प्रदेशमा बाढी-पहिरोका कारण ४७ करोड रुपैयाँको क्षति पुगेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३