काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दैनिकरूपमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षालाई मध्यनजर गरी देशका विभिन्न ठाउँमा १५६ वटा ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजना पहिचान गरेको छ । प्राधिकरण आयोजना विकास विभागले उक्त अध्ययनसहितको निचोड निकालेको हो ।
प्राधिकरणका अनुसार ४२ हजार मेगावाटका ३३ आयोजनाको छनोट तथा स्तरीकरण गरिएको छ । ती मध्ये रुकुम (पश्चिम) स्थित स्यार्पु तालमा ३३२ मेगावाट, ६७० मेगावाटको दूधकोसी जलाशय अन्तर्गत २०० मेगावाट, धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा करिब १५९६ मेगावाट लगायत रहेका छन् । विभागले अहिले यी सबै आयोजनाहरूको डेस्क तथा विस्तृत सम्भाव्यता अध्ययन भइरहेको जनाइएको छ ।
हुग्दी (माथिल्लो क्षेत्र) र मोवा (तल्लो क्षेत्र) खोलामा क्रमशः करिब ४५ र १०३ मि. अग्लो बाँध निर्माण गरी दुई जलाशय निर्माण गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । विद्युत्गृह मोवा खोलामा रहने र हुग्दी खोलाको जलाशयमा भण्डार भएको पानी प्रयोग गरी विद्युत् उत्पादन गरिने छ । विद्युत् उत्पादनपछि मोवा खोला (तल्लो जलाशय) मा भण्डारण भएको पानीलाई पम्प गरी पुनः हुग्दी खोला (माथिल्लो जलाशय) मा खसाल्ने पनि अध्ययनमा उल्लेख छ ।
आयोजनालाई विद्युत्को बढी माग हुने समय (पिक) मा ६ घन्टा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको छ । आयोजनाबाट वार्षिक रूपमा करिब ३ अर्ब ३६ करोड युनिट ऊर्जा उत्पादन हुनेछ, जसको प्रतिमेगावाट लागत करिब ५ लाख ८७ हजार अमेरिकी डलर (करिब ७ करोड ७५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
पम्प स्टोरेज आयोजनामा विद्युत्को न्यूनतम माग भएको (अफ पिक) वा ऊर्जा न्यूनतम मूल्य भएको समयमा पानीलाई पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा भण्डारण गरिन्छ । यसरी, भण्डार गरिएको पानीलाई पिक अथवा बढी मूल्य भएको समयमा प्रयोग गरी विद्युत् उत्पादन गने गरिन्छ ।
विद्युत् प्रणाली स्थिरता, पिक डिमाण्ड एवम् खपत गरी बढी भएको विद्युत् (सरप्लस इनर्जी) व्यवस्थापन र ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्त्वपूर्ण मानिन्छ । अफ पिक समयमा पम्प गरी भण्डारण गरिएको पानीको प्रगोगमार्फत पिक समयमा विद्युत् उत्पादन गरी आन्तरिकरूपमा खपत गर्ने र सरप्लस इनर्जीलाई भारततर्फ पिकमा महँगोमा बिक्री पनि गर्न सकिन्छ ।