विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचथरमा निर्माणधीन १० मेगावाटको काबेली ‘बी’-१ क्यासकेड जलविद्युत आयोजना ६० प्रतिशत पूरा भएको छ । पाँचथरको काबेली खोलामा १ वर्ष अघि निर्माण सुरु भएको आयोजनाको आधाभन्दा बढी काम सकिएको हो । 

यो अहिले सञ्चालनमा रहेको २५ मेगावाटको काबेली ‘बी’–१ को क्यासकेड आयोजना हो । अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीले प्रवर्द्धन गरेको यो आयोजनाको सिभिल संरचना निर्माणको काम नेपालकै शेर्पा हाइड्रो कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ ।

क्यासकेड आयोजनामा बाँध निर्माण गर्नु नपरेकाले एक वर्षमै आधाभन्दा बढी काम सकिएको कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए । ‘यो आयोजना क्यासकेड भएकाले पनि हामीलाई काम गर्न सहज भयो,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘कोरोना महामारी रोक्न गरिएको लकडाउन र निशेधाज्ञा लागेका बेलासमेत हाम्रो काम राेकिएन । लक्ष्यअनुसार नै सम्पन्न हुन्छ भन्ने लागेकाे छ ।’

लकडाउन र निशेधाज्ञाका बेला कुनै प्राविधिक तथा कामदार आयोजना स्थलबाट नबाहिरिएकाले धमाधम काम गर्न सकिएको पनि उनले बताए । यो आयोजनाको ग्रस हेड ३७.१० मिटर छ । नेट हेड ३२.५० मिटर छ । यो ‘लो हेड’ र ‘हाइ डिस्चार्ज’ को आयोजना भएको न्यौपानेले जानकारी दिए ।

काबेली ‘बी’-१ बाट निस्केको सबै पानी उपयोग गरेर विद्युत उत्पादन गर्ने गरी आयोजनाको डिजाइन गरिएको छ । आयोजनामा साढे १२ सय मिटर कंक्रिट नहर र साढे १२ सय मिटर ‘लो प्रेसर’ पेनस्टक पाइप राखिने भएको छ । विद्युतगृहमा जर्मनीमा निर्माण भएका डब्ल्युकेभीका इलेक्ट्रोमेकानिकल उपकरण जडान गरिने छ ।

डब्ल्युकेभीको इओटी क्रेन आयोजना स्थलमा आपुगेको उनले बताए । जेनेरेटर, टर्वाइन, ट्रान्सफर्मर पनि २ महिनाभित्र आइसक्ने जानकारी दिए । अबको ४ महिनामा सिभिल संरचना निर्माणको काम सम्पन्न गरेर उपकरण जडान सुरु गरिने भएको छ ।

आयोजनाबाट २०७८ असाेजदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । यो आयोजनाको विद्युत प्रवाहका लागि प्रसारण लाइनको समस्या नरहेकाले निर्धारित समयमा उत्पादन सुरु गर्न सम्भव हुने कम्पनीको दाबी छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १ अर्ब ४० करोड रुपैयाँ बैंकको ऋण लगानी छ । आयोजनामा बैंक अफ काठमाडौं (अगुवाई) र कुमारी गरी २ वटा बैंकले लगानी गरेका छन् ।

६० करोड रुपैयाँ स्वपुँजी छ । स्वपुँजी लगानी जुटाउन कम्पनीले ५० प्रतिशत (१ः०५ अनुपात) हकप्रद सेयर निष्कासन गर्दैछ । यो आयोजना सम्पन्न भएपछि १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

कम्पनीले यसअघि संखुवासभामा ३ मेगावाटको पिलुवा खोलामा लगानी गरेको थियो । पिलुवा नै स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेको पहिलो आयोजना हो । कम्पनीले पिलुवाको विद्युत बिक्रीबाट हुने आम्दानी सहायक कम्पनीमार्फत आधा दर्जन बढी जलविद्युत आयोजनामा लगानी गरेको छ । काबेली ‘बी’-१ क्यासकेड आयोजनामा भने कम्पनीको सतप्रतिशत लगानी छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit