विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

१. पृष्ठभूमि

न्डै ११५ वर्षअघि तत्कालीन नेपालका राजा पृथ्वी वीरविक्रम शाहद्वारा सन् १९११, मे २२ तारिख (जेठ ९ गते, वि.स. १९६८) का दिन साँझ ६ः३० बजे ५०० किलोवाटको फर्पिङ लघुजलविद्युत् आयोजना उद्घाटन भई सञ्चालनमा आयो । यसले एक त नेपाललाई एसियाकै दोस्रो जलविद्युत् आयोजनाको रूपमा उभ्यायो । अर्कोतर्फ, जलविद्युत् क्षेत्रमा नेपालको गौरव गर्न लायक इतिहास स्थापित गर्‍यो । त्यस समयमा अहिले कुल गार्हस्थ उत्पादनको आधारमा संसारकै दोस्रो स्थानमा रहेको चीन र चौथो स्थानमा रहेको जापानभन्दा नेपालमा बिजुली उत्पादन औपचारिक रूपमा धेरै अगाडि भएको थियो ।

चन्द्रशमशेरले स्थापना गरिदिएको ‘श्री चन्द्रज्योति प्रकाश’बाट उत्पादित विद्युत्ले ६० वर्षसम्म राजधानीवासीलाई उज्यालो दियो । नेपाल जलस्रोतमा धनी भए पनि जलविद्युत्को वास्तविक क्षमता सन् १९६६ मा मस्को पावर इन्स्टिच्युटबाट प्राविधिक विज्ञान विषयमा पेश गरिएको डा. हरिमान श्रेष्ठको विद्यावारिधि अनुसन्धानमार्पmत पहिलो पटक अनुमान नलगाइएसम्म अज्ञात थियो । सो अध्ययनमा उनले जलविद्युत् क्षमता ८३ हजार मेगावाट अनुमान गरे । करिब ६० वर्ष बितिसक्दा पनि उक्त आँकडा आजसम्म नेपालको जलविद्युत्को क्षेत्रमा मन्त्रको रूपमा स्थापित छ ।

विद्युत् प्राधिकरणको आर्थिक वर्ष (आव) २०८१/८२ मा प्रकाशित वार्षिक प्रतिवेदनअनुसार हाल नेपालको सौर्य ऊर्जा सहित कुल विद्युत् उत्पादन जडित क्षमता ३५९१.२६ मेगावाट छ । सरदर हिसाब गर्दा फर्पिङ सञ्चालनदेखि हालसम्म प्रत्येक वर्ष ३१ मेगावाटको दरले जलविद्युत् विकास भएको देखिन्छ । यद्यपि, यो हिसाब यथार्थ सूचकका लागि सान्दर्भिक नहोला तर २०५८ सालमा आएको ‘जलविद्युत् विकास नीति’ले भने निजी क्षेत्रलाई आकर्षित गर्ने वातावरण बनायो । वित्तीय सहुलियत, जोखिम न्यूनीकरण तथा स्पष्ट नियामक संरचनामार्फत विभिन्न सुविधा र प्रोत्साहन हुँदै आयो ।

फलतः कुल विद्युत् उत्पादन जडित क्षमतामा निजी क्षेत्रको उल्लेख्य हिस्सा अर्थात् ६३.४ प्रतिशत (२२७७.२९ मेगावाट) रहेको छ । ऊर्जा खपततर्फ हेर्दा नेपालमा कुल विद्युतीय ग्राहकको सङ्ख्या सन् २०२४ भन्दा २०२५ मा ५ प्रतिशतले वृद्धि भई ५,७०७,५२८ पुगेको छ जसमा गार्हस्थ ग्राहकको हिस्सा सबैभन्दा बढी (९१.०८%) छ । सन् २०२५ मा १५,६४१ मेगावाट–घन्टा विद्युत् खपत भएकोमा निजी क्षेत्रको ५५ प्रतिशत र भारतबाट आयातित विद्युत्को योगदान १०.७४ प्रतिशत छ । वैश्विक दृष्टिकोणबाट हेर्दा नेपालमा प्रतिव्यक्ति विद्युत् उपभोग अत्यन्तै कम र तल्लो स्थानमा छ । दक्षिण एसियाली क्षेत्रको सन्दर्भमा भने दोस्रो अन्तिम स्थानमा देखिन्छ, जसले ऊर्जा उपभोगको कमजोर अवस्था, विद्युत् र ऊर्जा पूर्वाधारको दुर्बलता स्पष्ट देखाउँछ ।

२. राष्ट्रिय सुरक्षा

ऊर्जा सुरक्षाका स्पष्ट र सर्वमान्य परिभाषा स्थापित भइसकेका छैनन् । यो अवस्थामा विश्व बैंकले यसरी परिभाषित गरेको छ: ऊर्जा सुरक्षा भन्नाले देशहरूको आर्थिक वृद्धि सुलभ बनाउन र यसमार्पmत गरिबी न्यूनीकरणमा सहयोग पुर्‍याउन, उचित लागतमा स्थायी रूपमा ऊर्जा उत्पादन र उपयोग गर्न सक्ने सुनिश्चित गर्नु हो । साथै, आधुनिक ऊर्जामा पहँुच विस्तार गरी जनजीवनमा गुणस्तरीय सुधार गर्नु हो ।

अर्कोतर्फ संयुक्त राज्य अमेरिकाको ऊर्जा विभागले ऊर्जा सुरक्षालाई राष्ट्रिय सुरक्षासँग जोड्दै भन्छ: ऊर्जाको सुरक्षित र भरपर्दो आपूर्ति राष्ट्रिय सुरक्षा, अर्थतन्त्र, सार्वजनिक स्वास्थ्य र जनसुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ । यसैले ऊर्जा सुरक्षा देश विकासका लागि सबैभन्दा महत्वपूर्ण सूचकमध्ये एक हो र राष्ट्रिय सुरक्षासँग नजिकको सम्बन्ध राख्दछ ।

नेपालको सन्दर्भमा भौगोलिक अवस्थाका कारण समुद्रसँग प्रत्यक्ष पहुँच नहुँदा ऊर्जा सुरक्षा राष्ट्र निर्माणका लागि अझ महत्वपूर्ण छ । उपलब्ध प्रशस्त पानी र प्राकृतिक स्रोतको समुचित प्रयोगमार्फत आन्तरिक ऊर्जाको खाँचो पूर्ति गर्दै भरपर्दो र गुणस्तरीय आपूर्ति गर्न सकिन्छ; जसले पेट्रेलियम आयात घटाउँदै ऊर्जा र यातायातको आवश्यकता पूरा गर्न मद्दत गर्छ । ऊर्जाको माग पूरा गर्न उपलब्ध स्रोत सस्तो हुनु सुरक्षाका दृष्टिले पहिलो प्राथमिकता हो । नेपालको विद्युत् उत्पादन ढाँचा हेर्दा निजी क्षेत्रको उत्पादन गत वर्ष फागुनमा ४९७ मेगावाट थियो, जुन असारमा उपलब्ध अधिकतम क्षमता १७११ मेगावाटको तुलनामा ७० प्रतिशत कम हो ।

अर्कोतर्फ, प्राधिकरणका सहायक कम्पनीको उत्पादन कात्तिकमा ९२ मेगावाट थियो, जुन असारमा उपलब्ध अधिकतम क्षमता ७११ मेगावाटको तुलनामा ८७ प्रतिशत घटी हो । कुल विद्युत् उत्पादन जडित क्षमता बढी भए पनि उत्पादनको अस्थिर र चरम अवस्थाले चैतमा भारतबाट आयातित विद्युत्को मात्रा ३६२.२६ गिगावाट–घन्टा पुगेको देखिन्छ । यद्यपि, वर्षाको उच्च समयमा असारमा भारततर्फ ४८७.१७ गिगावाट–घन्टा विद्युत् निर्यात भएको देखिन्छ ।

नेपालका नदी प्रवाही जलविद्युत् आयोजना बढी भएको हुँदा ऊर्जा सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ । यस्तो मौसमी उत्पादन ढाँचा अत्यन्त उच्च रहेको माथिको आँकडाले पनि देखाएको छ । निजी क्षेत्रका विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न आयोजना (मुख्यतः नदी प्रवाही) को क्षमता २१६०.३५ मेगावाट छ । पिपिए सम्पन्न सौर्य आयोजनाको क्षमता ११६९.४० मेगावाट छ । यसैले, यस प्रकारका आयोजनाले ऊर्जा सुरक्षामा योगदान गर्न सक्लान् तर ऊर्जा सुरक्षा सुनिश्चित गर्न सक्दैनन् । किनकि, ऊर्जा भण्डारणको सीमितता र आपूर्ति अस्थिर हुन्छ ।

नेपालजस्तो देशका लागि ऊर्जा सुरक्षा पूर्ण रूपमा सुनिश्चित गर्न नदी प्रवाही जलविद्युत् सहित अन्य ऊर्जा स्रोत (सौर्य, बायु, ब्याट्री) युक्त मिश्रित र एकीकृत रणनीति बन्नुपर्छ । ऊर्जा भण्डारण प्रणाली, जलाशय जलविद्युत् र पम्प–भण्डारीकृतको पनि उतिकै महत्व छ । नदी प्रवाही आयोजनाको हिस्सा बढी रहेको हुँदा ऊर्जा सुरक्षाबारे पुनर्विचार गर्ने समय आएको छ । अतः पानी भण्डारणयुक्त जलाशय र पम्प–भण्डारीकृततर्फ अग्रसर हुने समय आएको छ । यसले मौसमी अस्थिरता कम गर्दै आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउने छ । उत्पादन र लोड केन्द्रबीचको लामो दूरीलाई ध्यानमा राखेर प्रमुख लोड केन्द्रमा ब्याट्री ऊर्जा भण्डारण प्रणाली स्थापनाले आपूर्तिको असन्तुलनलाई कम गर्ने छ । यो उच्च माग व्यवस्थापन गर्न र स्थानीयरूपमा प्रतिक्रियात्मक विद्युत् (रियाक्टिभ पावर) आपूर्ति सुनिश्चित गर्न उत्कृष्ट समाधान हुन सक्छ । 

विश्लेषण हुँदै आएको छ, अन्य देशमा विद्युत् बेच्दा देश समृद्ध र धनी हुन सक्छ । यद्यपि, यससँग पर्याप्त जोखिम पनि जोडिएका छन् :

१.    देश विद्युत् निर्यातबाट राजस्वमा अत्याधिक निर्भर भए र विदेशी मागमा उतार–चढाव आए, ऊर्जा असुरक्षा हुन सक्छ ।

२.    राजनीतिक वा भू–राजनीतिक असन्तुलन ।

३.    आन्तरिक ग्रिडको सन्तुलित सञ्चालनमा असर ।

विद्युत् निर्यातले ऊर्जा सुरक्षामा सुधार गर्न सक्छ तर घरेलु माग पूरा नगरी त्यसो गर्दा राष्ट्रिय सुरक्षा प्रभावित हुन सक्छ । विद्युत् बेचेर राजस्व सङ्कलन र क्षेत्रीय ग्रिड सुदृढीकरण गर्न सकिन्छ, जसले ऊर्जा सुरक्षामा योगदान पुर्‍याउँछ । तथापि, स्वतन्त्ररूपमा ऊर्जा सुरक्षा सुनिश्चित गर्न सक्दैन ।

लेखक, नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक हुन्, यस लेखका विचार लेखकका व्यक्तिगत हुन् ।

सन्दर्भ सामाग्री (References)

[1]  Ramesh Bhusal, “The Forgotten Tale of Nepal’s First Hydro Project”, https://dialogue.earth/en/energy/the-forgotten-tale-of-nepals-first-hydro-project/ (Accessed 6 December 2026).

[2]  The World Bank Group, “Energy Security Issues”, Moscow – Washington DC, December 4, 2005.

[3]   U.S. Department of Energy, “Energy Security”, https://www.energy.gov/topics/energy-security (Accessed 6 December 2026).

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३