काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । आज (पुस २३ गते) बुधबार ९ बजे ऊर्जा मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् ।
उनले राजीनामापत्रमा भनेका छन् - हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आजैका मितिदेखि लागु हुने गरी मन्त्री पदबाट म आफ्नो राजीनामा सम्मानीय प्रधानमन्त्री समक्ष पेश गर्दछु ।
मन्त्री घिसिङले केही समय अघि नेपाल सरकारका पूर्व सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्षको जिम्मेवारीमा राखेर 'उज्यालाे नेपाल' पार्टी खोलेका थिए । राजनीतिमा सक्रिय हुने र आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभामा निर्वाचन लड्ने योजना अनुसार उनले मन्त्रीबाट राजीनामा गर्न लागेको बताइएको छ । उनले गत भदौ ३० गते मन्त्रालयहरूको जिम्मेवारी लिएका थिए ।
घिसिङ यसअघि २०७३ साल भदौ २९ गतेदेखि निरन्तर करिब साढे ७ वर्षसम्म नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको भूमिकामा समेत थिए ।
