हलेसी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकाले ऊर्जामा बसैको पहुँच बढाउन पहिलो पटक ‘नगर ऊर्जा योजना (एमइपी)’ तयार गरेको छ । उक्त योजनाले आगामी ५ वर्षभित्र नगरपालिकालाई ऊर्जामा पहुँच विस्तारका विभिन्न उपाय अपनाउन दिशा निर्देश गर्ने र बढ्दो ऊर्जाको मागलाई दिगो रूपमा सम्बोधन गर्न सकिने उद्देश्य राखेको छ ।
जर्मन सहयोग नियोग (जिआइजेड) र युरोपेली युनियनको आर्थिक सहयोगमा सञ्चालित नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता प्रवर्द्धनका लागि नेपालमा दिगो ऊर्जामार्फत पुनःप्राप्ति एवम् सशक्तिकरण (रिप–ग्रीन) परियोजना को प्राविधिक सहयोगमा नगरपालिकाको ऊर्जा विकास समितिले स्थानीय सरकार र सरोकारवालाको पक्षहरूको समन्वयमा तयार पारेको हो ।
एक औपचारिक समारोहबीच नगरपालिकाकी मेयर विमला राईलाई उक्त नगर ऊर्जा योजना हस्तान्तरण गरिएको छ । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) का कार्यकारी निर्देशक नवराज ढकाल, युरोपेली युनियन डेलिगेशन टु नेपालका उपप्रमुख डा. गिर्ट्रुई लुवागी, जीआजेड नेपालका कार्यक्रम प्रबन्धक डा। फ्रान्क फेचर र नगरपालिका कार्यालय र ड्युचे गेसेलशाफ्ट फर इन्टरनेशनल नेपालका अन्य प्रतिनिधि लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
योजनामा ३० भन्दा बढी ऊर्जा क्षेत्रका गतिविधिहरू समावेश छन्, जसको लागत अनुमान बजार मूल्याङ्कनबाट लिइएको र यसले योजनाको व्यवहारिकता र प्रभावकारिता सुनिश्चित गर्न सकिने अपेक्षा रहेको बताइको छ । कार्यक्रममा मेयर राईले नगरपालिकाले पहिले नै सुरु गरेका ऊर्जा विकासका पहलहरूबारे जानकारी दिँदै समुदायका लागि दिगो ऊर्जा समाधानको महत्त्वलाई जोड दिइन् ।
एइपिसिका कार्यकारी निर्देशक ढकालले ऊर्जा विकासमा नगरपालिकाले राखेको दृष्टिकोण उपयुक्त भएके भन्दै निकट भविष्यमा शतप्रतिशत विद्युतीकरणको लक्ष्य हासिल गर्ने सरकारको प्रतिबद्धतालाई पुनस्पुष्टि गरे । उनले स्वीकार गरे कि योजनाको अनुमानित कार्यान्वयन लागत पर्याप्त भए पनि एइपिसी, नेपाल विद्युत् प्राधिकरण (एनइए) र स्थानीय उपभोक्ताहरू जस्ता विभिन्न सरकारी निकायहरूको लगानीमार्फत विभिन्न गतिविधिहरू कार्यान्वयन गर्न सकिन्छ । कार्यक्रममा रिप–ग्रीनले दुई सौर्य लिफ्ट सिँचाइ परियोजनाहरूको विस्तृत सम्भाव्यता अध्ययन हस्तान्तरण गरेको थियो । जुन नगरपालिकामा दिगो कृषि समाधानहरू प्रदान गर्न डिजाइन गरिएको हो ।
योजना हस्तान्तरणपछि प्रतिनिधिमण्डलले नगरपालिका र परियोजनाको सहयोगमा स्वच्छ ऊर्जा समाधानबाट पहिले नै लाभान्वित भएका धेरै स्थानीय उद्यमहरूको भ्रमण गर्यो । यी उद्यमहरूमा दुग्धजन्य पदार्थ पसल, बेकरी र पातको प्लेट उत्पादन गर्ने उद्यम समावेश थिए, जसले विद्युतीय मेसिन र उपकरणहरू प्रयोग गरेर सञ्चालन सुरु वा विस्तार गरेका छन् ।
महिला सहकारीको स्वामित्वमा रहेको दुनाटपरी बनाउन उद्यमको भ्रमणको क्रममा, डा. लुवागीले प्लास्टिकको फोहोर कम गर्ने र हालेसीको नजिकैको पवित्र स्थलमा दिगो अभ्यासलाई बढावा दिने सहकारीको प्रयासको प्रशंसा गरे । र, यसको भूमिका नगरपालिकाको सिमानाभन्दा धेरै टाढासम्म फैलिएको बताए ।
उनले रोजगारी सिर्जना र जीवनयापनमा सुधार गर्न बिजुलीको अत्यावश्यक भूमिकालाई पनि प्रकाश पारे । उनले महिलाहरूलाई आफ्नो उद्यमको व्यवसाय विकास र बजार पहुँचलाई निरन्तर विस्तार गर्न आग्रह गरे ।