काठमाडौं । विद्युत उत्पादन आम्दानी घटेपछि सानिमा माई हाइड्रो पावर लिमिटेडको खुद नाफा पनि घटेको छ । २२ मेगावाटको माई खोला र ७ मेगावाटको माइ क्यासकेडबाट उत्पादन आम्दानी घटेपछि कम्पनीको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको खुद नाफा घटेको हो ।
साउनदेखि असोजसम्मको अवधिमा २३ करोड २४ लाख १९ हजार ९ सय ९४ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष यही समयअवधिमा २४ करोड ३१ लाख ७५ हजार ८ सय ३६ रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३२ करोड १७ लाख ३८ हजार ३ सय ९४ रुपैयाँ आम्दानी गरेको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ । गत वर्ष ३४ करोठ ३८ लाख ८२ हजार १ सय ३० रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको २२ मेगावाटको माई खोला र ७ मेगावाटको माई क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छ । माई खोलाले २०७१ फागुनदेखि र माई क्यासकेडले २०७२ माघदेखि नियमीत विद्युत उत्पादन गरिरहेका छन् ।