तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । वन क्षेत्रका कारण प्रसारण लाइन निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए ।
उनका अनुसार आयाेजनाको भूमिगत विद्युत्गृहभित्रको काम पूरा भएको छ भने हेडरेस टनेल खनेर पेनस्टक पाइप जडान, वेल्डिङ तथा कङ्क्रिटिङको काम भइरहेको छ । आयोजनाको प्याकेज २ अन्तर्गत विद्युत्गृहमा इलेक्ट्रोमेकानिकल काम जारी रहेको छ । प्याकेज २ मा हालसम्म ६६ प्रतिशत भौतिक प्रगति भएको छ ।
तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा भने खासै प्रगति नभएकाे आयोजना प्रमुख भण्डारीको भनाइ छ ।