काठमाडौँ । भोटेकोसीकाे विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाह प्रभावित हुन नदिन आफ्ना सम्पूर्ण कार्यालय र कर्मचारीहरूलाई उच्च सतर्कताका साथ खटिन निर्देशन दिएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण उत्पन्न विषम परिस्थितिमा पनि सेवा सुचारु राख्न विशेष निर्देशन जारी गरेका हुन् ।
बाढीका कारण सम्पर्कविहीन प्राधिकरण, सहायक कम्पनी तथा निर्माण व्यवसायीका कर्मचारी र कामदारहरूसँगै सर्वसाधारणसमेतले उनीहरूको खोजी तथा उद्धार कार्य निरन्तर भइरहेको सूचनामा उल्लेख छ ।
विषम परिस्थितिलाई ध्यानमा राख्दै प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि सबै कर्मचारीहरूलाई कार्यालय नछाड्न र अनिवार्य रूपमा उपस्थित भई सेवा प्रवाहमा सक्रिय रहन भनेको छ । साथै, परिस्थिति सामान्य नभएसम्मका लागि क्रिया बिदा र सुत्केरी बिदाबाहेक अन्य सबै प्रकारका बिदा, काज र तालिमहरू स्थगित गरिएको छ । विशेष परिस्थितिमा बिदा लिनुपरेमा काम प्रभावित नहुने व्यवस्था मिलाएर कार्यालय प्रमुखको पूर्वस्वीकृति लिनुपर्नेछ ।
प्राधिकरणले आफ्ना कार्यालयहरूमा मौज्दात रहेका जिन्सी सामानहरूको यकिन विवरण तयार राखी आवश्यक परेका बखत अन्य कार्यालयमा पठाउन तयार रहन पनि सूचित गरेको छ । प्रभावित क्षेत्रका कार्यालय तथा सहायक कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि सम्बन्धित निर्देशनालयहरूलाई यथाशीघ्र सुझाव पेश गर्न निर्देशन दिइएको छ ।
यसका साथै, आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण पायक पर्ने प्रादेशिक वा डिभिजन कार्यालयमा दर्ता गराई ती विवरणहरू २०८३ असोज ९ गतेभित्र सुशासन व्यवस्थापन महाशाखामा उपलब्ध गराउन भनिएको छ ।