म्याग्दी । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाको आगामी जेठ १ गते परीक्षण उत्पादनको तयारी गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माण भएको आयोजनाको काम करिब पूरा भइसकेको छ ।
उक्त आयोजनाको भौतिक संरचना र विद्युत्गृहमा जडित मेसिन तथा उपकरणको परीक्षण सुरु गरिएको ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए । उनका अनुसार, बाँध, सुरुङ, विद्युत्गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ ।
विद्युत्गृहमा टर्बाइनलगायत मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको पनि जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोड्नका लागि ८ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन छ ।
उत्पादन परीक्षण गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको पौडेलले जानकारी दिए । आयोजनाको बाँध कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा छ । बाँधबाट सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइने पानी छरीस्थित रघुगंगा नदी किनारमा निर्मित विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ ।
कम्पनीका अनुसार आयोजनामा ३ हजार ३८२ मिटर लामो सुरुङ र ६ सय ३४ मिटर पेनस्टक टनेल निर्माण गरिएको छ । गैरआवासीय नेपाली र स्वदेशी नेपालीहरूको ३० प्रतिशत लगानी रहेको आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेका छन् । आयोजनामा सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभी र इलेक्ट्रो मेकानिकलतर्फको काम टोयर हाइड्रोले गरेको छ ।