काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ‘ऊर्जा ज्ञान’ विषयक जानकारीमूलक सामग्रीमा यो साता (कात्तिक २ गते) विद्युत् क्षेत्रका विविध आयामबारे जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता वायु ऊर्जा र यसका अंगहरुबारे जानकारी प्रस्तुत गरेका थियौँ ।
१. घरको लाइनको भोल्ट र गाडीको ब्याट्रीको भोल्टमा के फरक छ ?
उत्तरः घरमा प्राप्त हुने भोल्टेजलाई ए.सी. भोल्ट भनिन्छ भने, गाडीलाई ब्याट्रीबाट प्राप्त हुने भोल्टेजलाई डी.सी. भनिन्छ । घरको लाइनमा २३० भोल्ट हुन्छ भने गाडीको लागि आवश्यक हुने ब्याट्री १२ भोल्टको हुन्छ । कुनै कुनै गाडीमा २४ भोल्टको पनि चाहिन्छ । यसका लागि १२–१२ भोल्टको दुई वटा ब्याट्री चाहिन्छ ।
२. घरमा बत्ती एक्कासी मधुरो भयो, यसको कारण के हुन सक्दछ ?
उत्तरः घरमा बत्ती एक्कासी मधुरो हुनुका निम्न कारणहरू हुन सक्दछन् :
(क) ट्रान्सफर्मरको एउटा ड्रपआउट सेटको फ्युज खराब भएको हुनसक्छ । एउटा फ्युज खराब भयो भने २ वटा फेजको बत्ती मधुरो हुन्छ भने तेस्रो फेजको बत्तीमा केही फरक पर्दैन अर्थात् पहिले जत्तिकै चहकिलो हुन्छ ।
(ख) मिटरबाट पोलसम्म जाने सर्भिस केबुलको कुनै ठाउँमा जोडाइ खुकुलो (कनेक्सन लुज) भएको हुन सक्छ ।
(ग) ११ के.भी. लाइनको ३ वटा फेजमध्ये कुनै एउटाको जम्पर ढिला वा टुटेको अवस्था हुनसक्छ ।
(घ) बढी सम्भावना (क) र (ग) को हुनेगर्छ ।
३. आकाशमा बिजुली चम्किँदा उडिरहेको जहाजलाई के हुन्छ ?
उत्तरः उडिरहेको जहाजहरू कहिलेकाहीँ बिजुलीको लामो उज्यालो धर्को बीच पनि हुन पुग्दछन् तर जहाजमा बस्ने मानिसहरूलाई केही हुँदैन, जहाजको हकमा भने उज्यालो धर्कोले जहाजलाई छुने र सो निस्कने ठाउँमा सानो क्षति मात्र पु¥याएको हुन्छ । उज्यालो धर्को भनेको इलेक्ट्रोनको प्रवाह अर्थात् विद्युत्को बगाई हो । पानी बगेजस्तै जहाजको भित्री भाग खाली (जहाँ मानिसहरू बस्दछन्) र बाहिरी भाग धातुले बनेको हुन्छ खोक्रो -Hollow_ कन्डक्टर जस्तै । यो धातु विद्युत्का लागि सुचालक भएकोले इलेक्ट्रोन यही धातु भएर बाहिर निस्कन्छ । यो परिदृश्यलाई फाराडेको पिँजडासँग तुलना गर्न सकिन्छ । बिजुलीको ठूलो धर्को टाढा राखिएको चार्ज इलेक्ट्रोड -electrode_ बाट निस्किएर हावा र पिँजडा हुँदै पृथ्वीमा जान्छ तर पिँजडाभित्र बस्ने मानिसलाई भने केही हुँदैन ।
बहु–वैकल्पिक प्रश्नोत्तर
१. करेन्ट कसरी निकालिन्छ ?
(क) भोल्टलाई ओमले भाग गरेर
(ख) ओमलाई भोल्टले भाग गरेर
(ग) वाटलाई भोल्टले भाग गरेर
(घ) वाट–हावरलाई भोल्टले भाग गरेर
उत्तरः भोल्टलाई ओमले भाग गरेर
२. क्यापासिटेन्स (capacitance) को युनिट कुन हो ?
(क) ओम
(ख) फाराड (Farad)
(ग) हेनरी
(घ) वाट
उत्तरः Farad
३. लोडको पावर फ्याक्टर कम हुँदा के हुन्छ ?
(क) भोल्टेज बढ्दछ
(ख) करेन्ट बढ्दछ
(ग) ओम कम हुन्छ
(घ) केही पनि हुँदैन
उत्तरः करेन्ट बढ्दछ
४. विद्युत् ऊर्जाको इकाई के हो ?
(क) वाट–हावर
(ख) वाट
(ग) भोल्ट
(घ) एम्पिएर
उत्तरः वाट–हावर
५. उद्योगको पावर फ्याक्टर बढाउन कुन उपकरण प्रयोगमा ल्याइन्छ ?
(क) इन्डक्टर
(ख) क्याप्यासिटर
(ग) रेसिस्टर
(घ) करेन्ट ट्रान्सर्फमर
उत्तरः क्याप्यासिटर
६. मानिसको मृत्यु हुन साधारणतया उसको शरीरबाट न्यूनतम कति मिलि एम्पिएरसम्म करेन्ट बग्नुपर्दछ ?
(क) १
(ख) ५
(ग) ५०
(घ) १००
उत्तर : ५०