काठमाडौं । निजी ऊर्जा उत्पादकहरूले गौरीशंकर संरक्षण क्षेत्रसहित मुलुकका विभिन्न संरक्षण क्षेत्र तथा निकुन्जमा पर्ने जलविद्युत आयोजना निर्माणमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पदाधिकारीले शुक्रबार प्राकृतिक संरक्षण कोषका पदाधिकारीलाई भेटी निर्माणाधीन जलविद्युत आयोजनाको भौतिक संरचना निर्माणको काम तथा प्रवेशमा लगाइएको प्रतिबन्ध हटाउने वातावरण बनाइदिन माग गरेका हुन् ।
इपान पदाधिकारीले संरक्षण क्षेत्र तथा निकुन्जले जलविद्युत आयोजनाको संरचना निर्माण तथा प्रवेशमा रोक लगाउँदा समस्या आएकाले त्यसको तत्कालस समाधान गरिनु पर्नेमा कोषको ध्यानाकर्षण गराएका छन् । मुलुकका विभिन्न जिल्लामा पर्ने संरक्षण क्षेत्रको उचित व्यवस्थापन गर्दै जलविद्युत आयोजनाको निर्माण सुचारु गर्न दिनु पर्ने इपानको माग छ ।
                            
                                                                                    संरक्षण क्षेत्रमा अहिले देखिए जस्ता समस्या दोहोरिन नदिन समय–समयमा छलफल तथा परामर्श गरी सहकार्य गर्न आवश्यक रहेको धारणा पनि इपान पदाधिकारीले राखेका छन् । इपानको ध्यानाकर्षण पत्र बुझ्दै कोषका पदाधिकारीले अनुगमन समिति बनाएर संरक्षण क्षेत्र तथा निकुन्ज क्षेत्रमा पर्ने जलविद्युत आयोजनाको काम सुचारु गराउने वातावरण बनाउन तयार रहेको प्रतिबद्धता जनाएका छन् । उनीहरूले इपान र कोष मिलेर विकास र वातावरण संरक्षणको कार्य पनि एकसाथ गर्न सकिनेमा जोड दिएका छन् ।
समस्या समाधानको पहलका लागि इपान उपाध्यक्ष गणेश कार्की तथा सदस्यहरू प्रकाश दुलाल, उत्तम ब्लोन लामालगायत ऊर्जा उत्पादकको टोली कोषका पदाधिकारीको ध्यानाकर्षण गराउन गएका थिए । कोषकातर्फबाट सदस्य सचिव शरद अधिकारी, मनिष पाण्डे, चिरन्जीबी पोखरेललगायत पदाधिकारी छलफलमा सहभागी भएका थिए ।
                            
                                                                                    
                            पछिल्लो समय दोलखास्थित गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले त्यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाको भौतिक कार्य रोक्न उर्दी जारी गरेको थियो । आयोजनाले १६ जलविद्युत आयोजनाका प्रवद्र्धकलाई पत्र काटेर भौतिक कार्य रोक्न उर्दी जारी गरे यता अप्पर तामाकोसीले अघि बढाएको रोल्वालिङसहित १६ जलविद्युत आयोजनाको काम ठप्प छ ।
याे पनि पढ्नुहाेस् ः१६ जलविद्युत आयोजनालाई काम रोक्न उर्दी, ‘संरक्षण क्षेत्र हटाउ’ अभियानमा बिगू गाउँपालिका