एजेन्सी । विश्वमा अहिले एकातिर जीवाश्मा इन्धनको प्रयोगमाथिको बहस तीव्र बनिरहेको छ । अर्कोतिर दक्षिण अफ्रिका जस्ता कैयौँ यस्ता देश छन्, जहाँ बिजुलीका लागि कोइलाप्रति नै निर्भर हुनुपरेको छ । बिजुलीको यही माग पूरा गर्न कोइलाखानीमा काम गर्ने र खानी आसपासका क्षेत्रमा बसोबास गर्ने आम नागरिकको स्वास्थ्यमा भने गम्भीर असर गरिरहेको छ ।
दक्षिण अफ्रिकाको पूर्वी उपमलाङ्गा प्रान्तको कोइला खानीको केन्द्र मानिएको भोला सहर निवासी डेरिक स्कोसाना भन्छन्– ‘मेरी छोरीलाई टीबी रोग लाग्यो, त्यसकारण म यस क्षेत्रमा रहेका कोइला खानीलाई घृणा गर्दछु । कोइला खानी भएको क्षेत्रमा बस्नु स्वास्थ्यका लागि निकै जोखिमपूर्ण छ । किनभने, यहाँ धुँवा र धुलो मिश्रित हावामा हामीले सास लिनुपरिरहेको छ ।’
दक्षिण अफ्रिकामा प्रयोग हुने धेरैजसो बिजुली कोइलाबाट चल्ने पावर प्लान्टहरूबाट उत्पादन गर्ने गरिएको छ । बिजुली उत्पादन गर्ने क्रममा यस्ता प्लान्टहरूले हावामा सल्फरडाइअक्साइड र नाइट्रोजन अक्साइड जस्ता विषाक्त ग्यास छोड्ने गर्छन् ।
कोइलाबाट चल्ने यस्ता पावर प्लान्टबाट भइरहेको वायु प्रदुषणका कारण यहाँ बर्सेनी २ हजारभन्दा बढी मानिस बिरामी भई मृत्युवरण गर्न बाध्य भइरहेका छन् ।
यी पावर प्लान्टका मालिक हो– देशकै ठूलो पावर कम्पनी एसकोम । तर एसकोमले भनेको छ, ‘कार्बनजस्ता विषाक्त ग्यासको उत्सर्जनबाट स्वास्थ्यमा पर्ने प्रभावलाई हामीले गम्भीरताका साथ लिएर पछिल्ला वर्षहरूमा उत्सर्जन निकै कम गरेका छौँ ।’
तर दक्षिण अफ्रिकाको ग्रिन रिबल्युशनरी काउन्सिलका प्रतिनिधि म्याथुज लाबेल भन्छन्, ‘कोइला पावर प्लान्ट कम्पनीले वातावरणलाई नोक्सान पुर्याएको छ । समुदायका मासिनलाई बिरामी पारेको छ र घरै उजाड बनाएको छ । कोइला उत्खनन गर्ने कम्पनीहरूले स्थानीय समुदायका मानिस बिरामी हुँदाको खर्चको जिम्मेवारी उठाउन चाहँदैनन् ।’
दक्षिण अफ्रिकाको मिनरल काउन्सिलले भनेको छ, ‘हामी हाम्रो सदस्य नरहेका कोइला उत्खनन गर्ने त्यस्ता कम्पनीका बारेमा केही भन्न सक्दैनौँ । किनभने समुदायका मानिससँग उनीहरूको सम्बन्ध पहिला कस्तो थियो भन्ने हामीलाई जानकारी छैन ।’
दक्षिण अफ्रिकाका अधिकारीहरू कोइला उत्खनन प्रक्रियालाई स्वच्छ बनाउन चाहन्छन् । अर्थात् कार्बन उत्सर्जन नगरी कोइला प्राप्त गर्ने उनीहरूको चाहना छ । तर, यस्ता चाहना पूरा गर्न कत्तिको संभव छ भन्ने प्रश्न गम्भीर छ ।
दक्षिण अफ्रिकी सरकारले भनेको छ, ‘कोइलाबाट प्रदूषण फैलाउने कणलाई हटाउनका लागि विशषे प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसपछि कोइलालाई छिद्रतायुक्त ढुंगाहरूमाथि राख्नुपर्छ, ताकी वातावरण सुरक्षित रहोस् । साउथ एसियन नेशनल इनर्जी डेभलपमेन्ट इन्स्टिच्युटका जनरल म्यानेजर प्रा. प्रथावन मुडली भन्छन्, ‘यो प्रविधि अपनाउन सके कोइला जलाउँदा यसले निकै कम मात्र प्रदुषण फैलाउने छ । यस प्रक्रियाबाट उत्पादन गरेको कोइला पावर प्लान्टमा लगेर जलाइयो भने त्यसबाट हानिकारक ग्यासयुक्त कण निस्किँदैन ।’
तर पर्यावरण विद्हरू भने सरकारको यस्तो भनाइप्रति तीव्र असहमति राख्छन् । उनीहरू भन्छन्, ‘लगानी त नवीकरणीय तथा स्वच्छ ऊर्जा उत्पादनका लागि हुनुपर्छ, न कि पुराना ऊर्जा स्रोतहरूमा ।’
आम प्रयोगका लागि किफायती नवीकरणीय ऊर्जाको विकास र विस्तार नभइञ्जेलका लागि अझै केही समय कोइलाको प्रयोग जारी राख्नुपर्ने केही मानिसहरू बहस गर्छन् । केहीले भने नवीकरणीय ऊर्जा नै सबैभन्दा राम्रो विकल्प भएकोमा जोड दिन्छन् । यो बहस अझै जारी रहने देखिएको देखिन्छ । यो वास्तविकतासँगै कोइला खानीबाट प्रभावित र प्रताडीत डेरिक जस्ता नागरिकहरूले पनि सास फेर्नका लागि सङ्घर्ष अझै जारी राख्नुपर्ने देखिएको छ ।