विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १५औँ बैठक

काठमाडौँ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको क्षमता बढाएर १ हजार मेगावाट पुर्‍याइने भएको छ । नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १५ औँ बैठकमा उक्त लाइनको क्षमता बढाउने सहमति जुटेको हो । यसअघि जेटीटीको १४ औँ बैठकले उक्त लाइनको क्षमता ६ सयबाट बढाएर ८ सय मेगावाट पुर्‍याएकोमा अब हजार मेगावाट पुर्‍याउने सहमति भएको बैठकमा नेपाली टोलीको नेतृत्व गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाे विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखाका प्रमुख (सहसचिव) सन्दीप देवले ऊर्जा खबरलाई बताए ।    

‘इनरुवा–ढल्केबर ४०० केभीमा प्रसारण लाइन सञ्चालनमा आएको, यही लाइनमार्फत भारतको सतलज जलविद्युत् निगमको नेपाली कम्पनीले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण तेस्रोको बिजुली भारत लैजान सतलजले ४०० केभीको ट्रान्सफर्मर पनि ढल्केबरमा राखिसकेकोले  लाइनको क्षमता बढाउन हामीले गरेको आग्रहमा भारतीय पक्ष सहमत भएको हो,’ उनले भने, ‘हेटौँडा–ढल्केबर १३४ किलोमिटर ४०० केभी प्रसारण लाइनसहित नेपालतर्फ पनि हाई भोल्टेज प्रसारण पूर्वाधार बन्ने क्रममा रहेकोले पनि यो सहमति सम्भव भएको हो ।’

उनका अनुसार लाइनको क्षमता बढेपछि कोसी कोरिडोर क्षेत्रमा उत्पादन भई नेपालमा खपत हुन नसकेको बिजुली समेत भारत निर्यात गर्न सकिने छ । यो प्रसारण लाइनमार्फत २ हजार मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने भए पनि हालसम्म नेपालतर्फ त्यही स्तरको हाइ भोल्टेज प्रसारण लाइन तथा सबस्टेशन पूर्वाधार तयार नभएकोले पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसकिएको हो । 

त्यस्तै, चमेलिया (बलाँच, नेपाल)–जलजीवी (भारत) २२० केभी २८ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गर्ने विषयमा पनि बैठकमा नेपालले राखेको प्रस्तावमा भारतीय पक्ष सहमत भएको उनले बताए । हाल नेपाल–भारत टनकपुर प्रसारण नाकाबाट सुदूरपश्चिम क्षेत्रमा बढीमा ८० मेगावाट विद्युत् आदान–प्रदान गर्न मिल्छ । यो नाकाबाट प्रसारण विद्युत् विद्युत्को क्षमता बढाउन पूर्वाधार विकासका लागि नेपाल विद्युत् प्राधिकरण र भारतीय टोलीले स्थलगत अध्ययन गरेको भए पनि सम्भव देखिएको थिएन । 

‘लम्की–बरेली ४०० केभी प्रसारण लाइन निर्माणको प्रस्ताव गरिएको भए पनि यसको निर्माण मोडालिटी टुङ्गो लागेको छैन,’ उनले भने, ‘मोडालिटी टुङ्ग्याएर निर्माण गर्न पनि अझै ४–५ वर्ष लाग्न सक्छ । सुदूरपश्चिम क्षेत्रमा उत्पादन हुने परिमाणका अनुपातमा तत्काल आन्तरिक विद्युत् माग बढ्ने पनि देखिएको छैन । त्यसो हुँदा हामीलाई बढी हुन सक्ने बिजुली भारत पठाउन चमेलिया–जलजीवी २२० केभीको लाइन तत्काल अघि बढाउने गरी विकल्प खोजेका हौँ । यसलाई अघि बढाउन दुई पक्षबिच तथ्याङ्कहरू आदन–प्रदान हुँदैछन् । यसको सम्भाव्यता अध्ययन गर्ने विषयलाई सचिवस्तरीय बैठकले टुङ्गोमा पुर्‍याउने छ ।’

त्यस्तै, बैठकमा थप ३ वटा अन्तरदेशीय हाई भोल्टेज प्रसारण लाइन बनाउने विषयमा अध्ययन गर्न नेपालले प्रस्ताव गरेको छ । ती लाइनहरूमा अनारमनी–किसनगञ्ज, निजगढ–मोतिहारी र लमही–लखनउ ४०० केभी प्रसारण लाइनहरू रहेका छन् ।  

‘हामीले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट उत्पादन गरेर १५ हजार मेगावाट निर्यात गर्ने हो भने वा ठूलो परिमाणको बिजुली निर्यातको लक्ष्य लिने हो भने यी लाइनहरू बनाउनु आवश्यक हुन्छ,’ उनले भने, ‘हामीले दुहबी–पूर्णिया सन् २०२७/२८, लम्की–बरेली २०२८/२९ मा निर्माण गर्ने भनेका छौँ । यी लाइन बन्दा करिब १० हजार मेगावाट बिजुली भारतसँग आयात–निर्यात गर्ने मार्ग तयार हुन्छ । लक्ष्य अनुसार उत्पादन हुने अन्य परिमाणको बिजुली सन् २०३० पछि निर्यात गर्न यी ३ वटा लाइनलाई प्रस्तावित लाइनको रूपमा अध्ययनका लागि अघि सारिएको हो । यी लाइनको अध्ययन गर्न पनि हामीले तथ्याङ्कहरू आदान–प्रदान गर्ने कामहरू अघि बढाउँदै छौँ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३