विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङ जिल्लामा ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेकोले सरोकारवालाले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढीपहिरोले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय संकट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन् ।निरीक्षणका क्रममा पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडामा शनिबार (१६ गते) मन्त्री ज्वालालाई भेट गर्दै ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहितको टोलीले मानवीय संकट आउनबाट रोक्न आग्रह गरेको छन् ।

प्रजिअ चेम्जोङका अनुसार यही असार २ गते बाढीले हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङमा १५ दिन पुग्ने खाद्यान्न मौज्दात रहेको आकलन गरेका थिए । हेवाखोला डाइभर्सनबाट केही घन्टा यातायातका साधन चल्दा थप केही खाद्यान्न र पेट्रोलियम पदार्थ ताप्लेजुङ भित्रिएको थियो । यसरी जम्मा भएको खाद्यान्न र पेट्रोलियम पदार्थ सकिन लागेको उनले जानकारी दिए । 

‘हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारी साधन चल्न नसक्दा मानवीय संकट आउन लागेको छ’, उनले भने, ‘त्यसैले मेची राजमार्ग र तमोर करिडोर चाँडोभन्दा चाँडो सञ्चालन गराउन मन्त्रीज्यूमार्फत म विशेष आग्रह गर्दछु ।’

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापा जिल्लाको अवस्था दयनीय भएको बताए । पेट्रोलियम पदार्थ नपाउदा यातायात अवरुद्ध हुन लागेको छ । ‘चामलको मौज्दात सकिन लागेको छ’, उनले भने, ‘अब चार–पाँच दिनसम्म मालवाहक सवारी ताप्लेजुङ नआउने हो भने यहाँ समस्या हुन सक्छ । अहिले खाना पकाउने ग्यासको समस्या भएको छ ।’

डाइभर्सन सञ्चालनको प्रयास प्रभावकारी नभएको अध्यक्ष थापाले गुनासो गरेका छन् । यस्तै बेलीब्रिज निर्माणमा पर्याप्त जनशक्तिको परिचालन गर्न ताप्लेजुङवासीले आग्रह गरेका छन् । ‘असार ३ गते १०–१२ दिनमा बन्छ भनेको बेलीब्रिज अझै १०–१५ दिनपछि मात्रै सम्पन्न हुने देखिन्छ’, अध्यक्ष थापाले भने,’यसमा सरकार गम्भीर बनेर लाग्नुपर्यो ।’

बाढीपहिरोका कारण ताप्लेजुङमा तीन जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । यस्तै तीन अझै बेपत्ता छन् । जिल्लामा बाढीपहिरोका कारण सिदिङ्वा, सिरिजङ्घा र मैवाखोला गाउँपालिकाका गरी ३३ घरमा पूर्ण क्षति भएको छ भने १ सय ११ घर उच्च जोखिममा रहेका छन् ।

विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरू आफन्त, विद्यालय र टेन्टमा आश्रय लिएर बसेका छन् । विस्थापितलाई नेपाल रेडक्रस सोसाइटी, प्रदेश र जिल्ला विपद् व्यवस्थापन कोषबाट सहयोग आएको छ भने टेन्ट, कम्बललगायत बसोबासका सामग्री प्रदान गरिएको छ । 

जिल्लामा एउटा मोटरेबल पुल पूर्ण रुपमा क्षति भएको छ भने तीनवटा मोटरेबल पुलमा सामान्य क्षति पुगेको छ । यस्तै १० झोलुङ्गे पुल र १० लघुजलविद्युतमा पनि क्षति पुगेको प्रमुख जिल्ला अदक्ष्य चेम्जोङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३