विद्युत अपडेट

  • प्राधिकरण : ८१०६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४८५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१६५२ मे.वा.घन्टा
  • आयात : ६८ मे.वा.घन्टा
  • निर्यात : १८५३३ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४७७९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९२२ मे.वा.
२०८३ साउन ७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नेपाल प्राकृतिक स्रोत, विशेषगरी जलस्रोतको मामलामा विश्वमै धनी देश मानिन्छ । यतिबेला मुलुकमा जलविद्युत् उत्पादनको क्षेत्रले अभूतपूर्व गति लिएको छ । ठूला जलविद्युत् आयोजनाको निर्माण, अन्तर्देशीय प्रसारण लाइनको विस्तार, वितरण प्रणालीको आधुनिकीकरणदेखि सौर्य ऊर्जासम्मका क्षेत्रमा तीव्र काम भइरहेका छन् । हाल नेपालको ऊर्जा क्षेत्रमा सरकारी निकायबाहेक साना–ठूला गरी ३०० भन्दा बढी निजी तथा सार्वजनिक कम्पनीहरू सक्रिय रूपमा लागिपरेका छन् ।

विद्युत् उत्पादन क्षमता निरन्तर बढिरहेको र उत्पादित बिजुली छिमेकी मुलुक भारत र बंगलादेशसम्म निर्यात हुन थालेको वर्तमान परिप्रेक्ष्यमा नेपालको ऊर्जा क्षेत्र उत्साहजनक मोडमा छ । यद्यपि, यो उज्यालो चित्रको पर्दापछाडि एउटा गम्भीर र डरलाग्दो सङ्‌कटको सङ्‌केत देखिन थालेको छ– निकट भविष्यमा समग्र ऊर्जा क्षेत्र हाँक्ने ‘इलेक्ट्रिकल इन्जिनियर’ को चरम अभाव ।

माग–आपूर्तिबीचको खाडल

नेपाल विद्युत् प्राधिकरणको आन्तरिक संरचनादेखि लिएर निजी क्षेत्रका सयौँ जलविद्युत्, सौर्य ऊर्जा र प्रसारण लाइन आयोजनाहरूमा इलेक्ट्रिकल इन्जिनियरहरूको माग दिन–प्रतिदिन बढ्दो छ । ऊर्जा क्षेत्र प्राविधिक र संवेदनशील हुने भएकाले दक्ष जनशक्तिबिना यसको दिगो विकास सम्भव छैन । विडम्बना, बजारमा माग जति बढ्दो छ, देशभित्र यस क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनको जग भने उति नै कमजोर बन्दै गएको छ ।

आज नेपालका बहुसङ्ख्यक इन्जिनियरिङ कलेजहरूमा ‘इलेक्ट्रिकल इन्जिनियरिङ’ विषयको शैक्षिक कार्यक्रम नै सञ्चालनमा छैनन् । जहाँ यो विषयको अध्यापन हुन्छ, त्यहाँ पनि विद्यार्थीहरूको आकर्षण निराशाजनक छ । कलेजहरूमा तोकिएका सिटहरू समेत पूर्ण रूपमा भरिन सकिरहेका छैनन् । एकातिर देश ऊर्जाको महाअभियानमा होमिएको छ, भने अर्कोतिर सोही अभियानका मुख्य सारथि बन्नुपर्ने इन्जिनियरिङ विधामा विद्यार्थीको खडेरी पर्नु आफैँमा एउटा गम्भीर विरोधाभास हो ।

विदेश मोह

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका नवप्रवर्तन मन्त्री महावीर पुनले ‘ब्रेन ड्रेन होइन, ब्रेन गेन’को सुन्दर अवधारणा अघि सार्नुभएको छ, जसको अर्थ नेपाली प्रतिभालाई स्वदेशमै रोक्ने र विदेशिएकालाई फर्काएर देश विकासमा लगाउने भन्ने हो । यद्यपि, धरातलीय यथार्थ फरक छ । 

माध्यमिक तह (प्लस टू) को अध्ययन पूरा गरेपछि नेपालमै इन्जिनियरिङ अध्ययन गर्ने राम्रा अवसर र पूर्वाधार हुँदाहुँदै पनि ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेशिने गरेका छन् । विशेषगरी खुला सिमाना र सहज पहुँचका कारण छिमेकी मुलुक भारतका इन्जिनियरिङ कलेजहरूमा जाने लहर अझै रोकिएको छैन ।

प्रश्न उठ्छ– आखिर नेपाली विद्यार्थीहरू स्वदेशमै भविष्य बोकेको इलेक्ट्रिकल इन्जिनियरिङ विधातर्फ किन आकर्षित हुन सकिरहेका छैनन् ?

भ्रम र यथार्थ

युवा विद्यार्थीमा स्वदेशप्रतिको विकर्षण बढ्नु र विदेशप्रतिको मोह उत्पन्न हुनुका पछाडि मुख्य दुईवटा कोणबाट बहस हुने गरेको देखिन्छ– रोजगारीको अवसर र शिक्षाको गुणस्तर । 

रोजगारी : यदि कसैले नेपालमा इलेक्ट्रिकल इन्जिनियरहरूका लागि पर्याप्त रोजगारी छैन र यसै कारण विद्यार्थीको आकर्षण घटेको हो भन्छ भने, त्यो धारणा पूर्ण रूपमा गलत सावित भइसकेको छ ।

नेपालमा जलविद्युत्, सौर्य ऊर्जा, प्रसारण तथा वितरण पूर्वाधार (सब–स्टेसन, प्रसारण/वितरण ग्रिड) को आधुनिकीकरणमा अर्बौँ रुपैयाँको लगानी भइरहेको छ । प्राधिकरणले प्रत्येक वर्ष प्राविधिक कर्मचारीको विज्ञापन खुलाइरहेको छ भने निजी क्षेत्रका ३०० भन्दा बढी कम्पनीमा करियर बनाउने स्वर्णिम अवसर छ । त्यसैले, यो क्षेत्रमा बजारको अभाव पटक्कै होइन, बरु बजारले खोजेको जनशक्तिको अभाव हो ।

शैक्षिक गुणस्तर : शिक्षाको गुणस्तरलाई नै मुख्य कारण मान्ने हो भने त्यो पनि न्यायसङ्गत देखिँदैन । नेपालकै त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक क्याम्पस, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतका रैथाने शैक्षिक संस्थाबाट उत्पादित इलेक्ट्रिकल इन्जिनियरहरूले नै आज मुलुकको ऊर्जा क्षेत्रको नेतृत्व गरिरहेका छन् । प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय नेतृत्व तहदेखि निजी क्षेत्रका ठूला आयोजनाहरू सफलतापूर्वक सम्पन्न गर्नेहरू यिनै विश्वविद्यालयमा पढेका दक्ष इन्जिनियरहरू नै हुन् । नेपाली शिक्षण संस्थाको योग्यता र गुणस्तर अन्तर्राष्ट्रिय स्तरको छ भन्ने कुरा यहाँबाट उत्तीर्ण भएर विश्वका प्रतिष्ठित विश्वविद्यालयमा अनुसन्धान गरिरहेका नेपाली इन्जिनियरहरूको सूचीले पनि पुष्टि गर्दछ ।

यद्यपि, समस्या प्रचारप्रसार र परामर्शको कमीमा छ । विद्यार्थी र अभिभावकमाझ कुन विधाको भविष्य कस्तो छ र देशको आवश्यकता के हो भन्ने स्पष्ट मार्गचित्र पुग्न सकेको छैन ।

विद्यार्थीलाई आह्वान

हाल कक्षा ११ र १२ (प्लस टू) मा विज्ञान सङ्काय लिएर अध्ययन गरिरहेका र भविष्यमा के बन्ने भनेर सोचिरहेका सम्पूर्ण विद्यार्थीका लागि यो एउटा महत्त्वपूर्ण निर्णय लिने समय हो । भविष्यमा उच्च शिक्षाको जग बसाल्दा बजारको लहडको पछाडि मात्र दौडिनु बुद्धिमानी हुँदैन ।

नेपालमै ‘ब्याचलर इन इन्जिनियरिङ (बिई)’ अध्ययन गर्न र त्यसमा पनि विशेषगरी इलेक्ट्रिकल इन्जिनियरिङ विधातर्फ गम्भीरतापूर्वक रुचि दिनु आवश्यक छ । यो यस्तो विधा हो, जहाँ तत्काल रोजगारीको ग्यारेन्टी मात्र छैन, देशलाई आर्थिक समृद्धिको दिशामा लैजान प्रत्यक्ष योगदान दिने अवसर पनि छ । 

ऊर्जा क्षेत्रमा आउने नयाँ प्रविधि, जस्तै: स्मार्ट ग्रिड, विद्युतीय सवारी साधन (इभी) को पूर्वाधार, र स्वचालित सब–स्टेसनहरूले गर्दा यो क्षेत्रमा अवसर अझ कयौँ गुणा बढेर जाने निश्चित छ ।

परनिर्भरताको जोखिम 

हामीले बेलैमा सोचिएन र यो उदासीनता कायमै रह्यो भने भविष्यमा एउटा डरलाग्दो राष्ट्रिय सङ्‌कट आउन सक्छ । नेपाल जलविद्युत्‌को धनी देश त बन्नेछ तर आफ्नै देशभित्रका आयोजना अघि बढाउने, विद्युत् केन्द्रहरू सञ्चालन गर्ने, मर्मतसम्भार गर्ने र व्यवस्थापन गर्ने इलेक्ट्रिकल इन्जिनियरको अभावमा हामी फेरि परनिर्भर हुनुपर्ने स्थिति आउन सक्छ । नेपालको ऊर्जा विकासका लागि आवश्यक जनशक्ति नहुँदा, हामीले विदेशबाट  (विशेषतः भारतबाट) महँगो पारिश्रमिक दिएर ठूलो सङ्ख्यामा इन्जिनियरहरू आयात गर्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना हुन सक्छ ।

हाम्रो प्राकृतिक स्रोतको उपयोग गरेर देशलाई समृद्ध बनाउँदा, त्यसमा प्रयोग हुने ज्ञान, सीप र श्रम पनि रैथाने नै हुनुपर्छ । नेपालको ऊर्जा क्रान्ति विदेशीको वैशाखीमा होइन, नेपाली इन्जिनियरहरूको बौद्धिक र प्राविधिक योगदानबाट मात्र दिगो र सुरक्षित हुन सक्छ । तसर्थ, राज्य, विश्वविद्यालय, कलेज र स्वयम् विद्यार्थीहरूले बेलैमा इलेक्ट्रिकल इन्जिनियरिङको यो सङ्‌कट र अवसर दुवैलाई पहिचान गरी ठोस कदम चाल्नु आजको आवश्यकता हो । 

लेखक नेपाल विद्यत् प्राधिकरणका सहायक प्रबन्धक हुन् । करिब एक दशकदेखि उनी ऊर्जा क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस

ई. माधव सापकाेटा

लेखक नेपाल विद्यत् प्राधिकरणका सहायक प्रबन्धक हुन् । इलेक्ट्रिकल इन्जिनियर रहेका उनी करिब एक दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय छन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३