नेपाल प्राकृतिक स्रोत, विशेषगरी जलस्रोतको मामलामा विश्वमै धनी देश मानिन्छ । यतिबेला मुलुकमा जलविद्युत् उत्पादनको क्षेत्रले अभूतपूर्व गति लिएको छ । ठूला जलविद्युत् आयोजनाको निर्माण, अन्तर्देशीय प्रसारण लाइनको विस्तार, वितरण प्रणालीको आधुनिकीकरणदेखि सौर्य ऊर्जासम्मका क्षेत्रमा तीव्र काम भइरहेका छन् । हाल नेपालको ऊर्जा क्षेत्रमा सरकारी निकायबाहेक साना–ठूला गरी ३०० भन्दा बढी निजी तथा सार्वजनिक कम्पनीहरू सक्रिय रूपमा लागिपरेका छन् ।
विद्युत् उत्पादन क्षमता निरन्तर बढिरहेको र उत्पादित बिजुली छिमेकी मुलुक भारत र बंगलादेशसम्म निर्यात हुन थालेको वर्तमान परिप्रेक्ष्यमा नेपालको ऊर्जा क्षेत्र उत्साहजनक मोडमा छ । यद्यपि, यो उज्यालो चित्रको पर्दापछाडि एउटा गम्भीर र डरलाग्दो सङ्कटको सङ्केत देखिन थालेको छ– निकट भविष्यमा समग्र ऊर्जा क्षेत्र हाँक्ने ‘इलेक्ट्रिकल इन्जिनियर’ को चरम अभाव ।
माग–आपूर्तिबीचको खाडल
नेपाल विद्युत् प्राधिकरणको आन्तरिक संरचनादेखि लिएर निजी क्षेत्रका सयौँ जलविद्युत्, सौर्य ऊर्जा र प्रसारण लाइन आयोजनाहरूमा इलेक्ट्रिकल इन्जिनियरहरूको माग दिन–प्रतिदिन बढ्दो छ । ऊर्जा क्षेत्र प्राविधिक र संवेदनशील हुने भएकाले दक्ष जनशक्तिबिना यसको दिगो विकास सम्भव छैन । विडम्बना, बजारमा माग जति बढ्दो छ, देशभित्र यस क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनको जग भने उति नै कमजोर बन्दै गएको छ ।
आज नेपालका बहुसङ्ख्यक इन्जिनियरिङ कलेजहरूमा ‘इलेक्ट्रिकल इन्जिनियरिङ’ विषयको शैक्षिक कार्यक्रम नै सञ्चालनमा छैनन् । जहाँ यो विषयको अध्यापन हुन्छ, त्यहाँ पनि विद्यार्थीहरूको आकर्षण निराशाजनक छ । कलेजहरूमा तोकिएका सिटहरू समेत पूर्ण रूपमा भरिन सकिरहेका छैनन् । एकातिर देश ऊर्जाको महाअभियानमा होमिएको छ, भने अर्कोतिर सोही अभियानका मुख्य सारथि बन्नुपर्ने इन्जिनियरिङ विधामा विद्यार्थीको खडेरी पर्नु आफैँमा एउटा गम्भीर विरोधाभास हो ।
विदेश मोह
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका नवप्रवर्तन मन्त्री महावीर पुनले ‘ब्रेन ड्रेन होइन, ब्रेन गेन’को सुन्दर अवधारणा अघि सार्नुभएको छ, जसको अर्थ नेपाली प्रतिभालाई स्वदेशमै रोक्ने र विदेशिएकालाई फर्काएर देश विकासमा लगाउने भन्ने हो । यद्यपि, धरातलीय यथार्थ फरक छ ।
माध्यमिक तह (प्लस टू) को अध्ययन पूरा गरेपछि नेपालमै इन्जिनियरिङ अध्ययन गर्ने राम्रा अवसर र पूर्वाधार हुँदाहुँदै पनि ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेशिने गरेका छन् । विशेषगरी खुला सिमाना र सहज पहुँचका कारण छिमेकी मुलुक भारतका इन्जिनियरिङ कलेजहरूमा जाने लहर अझै रोकिएको छैन ।
प्रश्न उठ्छ– आखिर नेपाली विद्यार्थीहरू स्वदेशमै भविष्य बोकेको इलेक्ट्रिकल इन्जिनियरिङ विधातर्फ किन आकर्षित हुन सकिरहेका छैनन् ?
भ्रम र यथार्थ
युवा विद्यार्थीमा स्वदेशप्रतिको विकर्षण बढ्नु र विदेशप्रतिको मोह उत्पन्न हुनुका पछाडि मुख्य दुईवटा कोणबाट बहस हुने गरेको देखिन्छ– रोजगारीको अवसर र शिक्षाको गुणस्तर ।
रोजगारी : यदि कसैले नेपालमा इलेक्ट्रिकल इन्जिनियरहरूका लागि पर्याप्त रोजगारी छैन र यसै कारण विद्यार्थीको आकर्षण घटेको हो भन्छ भने, त्यो धारणा पूर्ण रूपमा गलत सावित भइसकेको छ ।
नेपालमा जलविद्युत्, सौर्य ऊर्जा, प्रसारण तथा वितरण पूर्वाधार (सब–स्टेसन, प्रसारण/वितरण ग्रिड) को आधुनिकीकरणमा अर्बौँ रुपैयाँको लगानी भइरहेको छ । प्राधिकरणले प्रत्येक वर्ष प्राविधिक कर्मचारीको विज्ञापन खुलाइरहेको छ भने निजी क्षेत्रका ३०० भन्दा बढी कम्पनीमा करियर बनाउने स्वर्णिम अवसर छ । त्यसैले, यो क्षेत्रमा बजारको अभाव पटक्कै होइन, बरु बजारले खोजेको जनशक्तिको अभाव हो ।
शैक्षिक गुणस्तर : शिक्षाको गुणस्तरलाई नै मुख्य कारण मान्ने हो भने त्यो पनि न्यायसङ्गत देखिँदैन । नेपालकै त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक क्याम्पस, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतका रैथाने शैक्षिक संस्थाबाट उत्पादित इलेक्ट्रिकल इन्जिनियरहरूले नै आज मुलुकको ऊर्जा क्षेत्रको नेतृत्व गरिरहेका छन् । प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय नेतृत्व तहदेखि निजी क्षेत्रका ठूला आयोजनाहरू सफलतापूर्वक सम्पन्न गर्नेहरू यिनै विश्वविद्यालयमा पढेका दक्ष इन्जिनियरहरू नै हुन् । नेपाली शिक्षण संस्थाको योग्यता र गुणस्तर अन्तर्राष्ट्रिय स्तरको छ भन्ने कुरा यहाँबाट उत्तीर्ण भएर विश्वका प्रतिष्ठित विश्वविद्यालयमा अनुसन्धान गरिरहेका नेपाली इन्जिनियरहरूको सूचीले पनि पुष्टि गर्दछ ।
यद्यपि, समस्या प्रचारप्रसार र परामर्शको कमीमा छ । विद्यार्थी र अभिभावकमाझ कुन विधाको भविष्य कस्तो छ र देशको आवश्यकता के हो भन्ने स्पष्ट मार्गचित्र पुग्न सकेको छैन ।
विद्यार्थीलाई आह्वान
हाल कक्षा ११ र १२ (प्लस टू) मा विज्ञान सङ्काय लिएर अध्ययन गरिरहेका र भविष्यमा के बन्ने भनेर सोचिरहेका सम्पूर्ण विद्यार्थीका लागि यो एउटा महत्त्वपूर्ण निर्णय लिने समय हो । भविष्यमा उच्च शिक्षाको जग बसाल्दा बजारको लहडको पछाडि मात्र दौडिनु बुद्धिमानी हुँदैन ।
नेपालमै ‘ब्याचलर इन इन्जिनियरिङ (बिई)’ अध्ययन गर्न र त्यसमा पनि विशेषगरी इलेक्ट्रिकल इन्जिनियरिङ विधातर्फ गम्भीरतापूर्वक रुचि दिनु आवश्यक छ । यो यस्तो विधा हो, जहाँ तत्काल रोजगारीको ग्यारेन्टी मात्र छैन, देशलाई आर्थिक समृद्धिको दिशामा लैजान प्रत्यक्ष योगदान दिने अवसर पनि छ ।
ऊर्जा क्षेत्रमा आउने नयाँ प्रविधि, जस्तै: स्मार्ट ग्रिड, विद्युतीय सवारी साधन (इभी) को पूर्वाधार, र स्वचालित सब–स्टेसनहरूले गर्दा यो क्षेत्रमा अवसर अझ कयौँ गुणा बढेर जाने निश्चित छ ।
परनिर्भरताको जोखिम
हामीले बेलैमा सोचिएन र यो उदासीनता कायमै रह्यो भने भविष्यमा एउटा डरलाग्दो राष्ट्रिय सङ्कट आउन सक्छ । नेपाल जलविद्युत्को धनी देश त बन्नेछ तर आफ्नै देशभित्रका आयोजना अघि बढाउने, विद्युत् केन्द्रहरू सञ्चालन गर्ने, मर्मतसम्भार गर्ने र व्यवस्थापन गर्ने इलेक्ट्रिकल इन्जिनियरको अभावमा हामी फेरि परनिर्भर हुनुपर्ने स्थिति आउन सक्छ । नेपालको ऊर्जा विकासका लागि आवश्यक जनशक्ति नहुँदा, हामीले विदेशबाट (विशेषतः भारतबाट) महँगो पारिश्रमिक दिएर ठूलो सङ्ख्यामा इन्जिनियरहरू आयात गर्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना हुन सक्छ ।
हाम्रो प्राकृतिक स्रोतको उपयोग गरेर देशलाई समृद्ध बनाउँदा, त्यसमा प्रयोग हुने ज्ञान, सीप र श्रम पनि रैथाने नै हुनुपर्छ । नेपालको ऊर्जा क्रान्ति विदेशीको वैशाखीमा होइन, नेपाली इन्जिनियरहरूको बौद्धिक र प्राविधिक योगदानबाट मात्र दिगो र सुरक्षित हुन सक्छ । तसर्थ, राज्य, विश्वविद्यालय, कलेज र स्वयम् विद्यार्थीहरूले बेलैमा इलेक्ट्रिकल इन्जिनियरिङको यो सङ्कट र अवसर दुवैलाई पहिचान गरी ठोस कदम चाल्नु आजको आवश्यकता हो ।
लेखक नेपाल विद्यत् प्राधिकरणका सहायक प्रबन्धक हुन् । करिब एक दशकदेखि उनी ऊर्जा क्षेत्रमा सक्रिय छन् ।
लेखक नेपाल विद्यत् प्राधिकरणका सहायक प्रबन्धक हुन् । इलेक्ट्रिकल इन्जिनियर रहेका उनी करिब एक दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय छन् ।