विद्युत अपडेट

  • प्राधिकरण : ९८३६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६१७२ मे.वा.घन्टा
  • आयात : २६९५ मे.वा.घन्टा
  • निर्यात : ५४६४ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३५२ मे.वा.
२०८३ ब‌ैशाख १८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सम्पादकीय

नेपालको जलविद्युत् विकास आज राष्ट्रिय अर्थतन्त्र, ऊर्जा सुरक्षा र दिगो विकासको मेरुदण्डका रूपमा स्थापित भइसकेको छ । प्रचुर जलस्रोत भएको मुलुक हुँदाहुँदै लामो समयसम्म ऊर्जा अभाव पूर्ति गर्न आयातमा निर्भर रहनुपर्‍यो । यही निर्भरता तोड्ने उद्देश्यले राज्यले अपनाएको सबैभन्दा निर्णायक नीतिगत कदम भनेकै जलविद्युत्‌मा निजी क्षेत्रको सहभागिता संस्थागत गर्नु हो ।  

वि.सं. २०२० सालको ‘नेपाल विद्युत् ऐन’ले पहिलो पटक निजी क्षेत्रको अवधारणा अघि सारे पनि व्यवहारिक कार्यान्वयन भने वि.सं. २०४९ सालको जलविद्युत् विकास नीति र विद्युत् ऐनपछि मात्र सम्भव भयो । यी नीति तथा कानुनी व्यवस्थाले सुरुमा ५ मेगावाट र त्यसपछि १० मेगावाटसम्मका आयोजनालाई प्राथमिकतामा राखी स्वदेशी लगानी, प्रविधि विकास, रोजगारी सिर्जना र ग्रामीण आर्थिक रूपान्तरणको आधार निर्माण गरे । 

यही नीतिगत ढोकाबाट निजी क्षेत्रले जलविद्युत् विकासमा प्रवेश गर्दै साना आयोजनाबाट आफ्नो यात्रा सुरु गर्‍यो । पिलुवा खोला, तल्लो इन्द्रावती, सुनकोसी (साना) जस्ता आयोजनाले निजी क्षेत्रको क्षमता, सम्भावना र आत्मविश्वास स्थापित गरे । समयक्रममा अनुभव बढ्दै जाँदा लगानीको आकार, प्रविधिको पहुँच र जोखिम बहन गर्ने क्षमता विस्तार हुँदै गयो । विद्युत् विकास विभागका अनुसार १ किलोवाटदेखि १० मेगावाटसम्मका आयोजनाको सङ्ख्या १२४ (६०.४९ प्रतिशत) छन् । देशको कुल जडित जलविद्युत् उत्पादनमा यिनको हिस्सा ५७६ मेगावाट रहेको छ । आज हजारौँ मेगावाटका आयोजना स्वदेशी लगानीमै अध्ययन, निर्माण र योजना चरणमा पुगेका छन् । यही प्रयासको परिणामस्वरूप उत्पादन वृद्धि भई आन्तरिक खपतपछि वर्षामा उब्रेको विद्युत् भारत निर्यात भइरहेको छ ।

यी उपलब्धिका पछाडि एउटा महत्त्वपूर्ण यथार्थ लुकेको छ— जलविद्युत् विकासको आधार तयार गर्ने साना आयोजना आज गम्भीर सङ्कटमा छन् । सरकार, मातहतका निकाय र नियामक संस्थाले प्रारम्भमा निर्णायक भूमिका खेलेका यी आयोजनाप्रति क्रमशः उपेक्षाको व्यवहार गरिरहेको देखिन्छ । नीतिगत अस्थिरता, प्रसारण पूर्वाधारको अभाव, अव्यावहारिक पिपिए दर, निर्माण सामग्रीको चर्को मूल्यवृद्धि र उच्च बैंक ब्याजदरका कारण साना आयोजना वित्तीय दबाबमा परेका छन् । जलवायु परिवर्तनजन्य जोखिम थपिँदा उनीहरू अस्तित्व जोगाउने सङ्घर्षमै सीमित छन् ।

वास्तवमा साना आयोजना ‘जलविद्युत् विकासका प्रशिक्षणशाला’ हुन् । यिनैबाट स्वदेशी लगानीकर्ताले जोखिम लिन सिके, इन्जिनियर तथा प्राविधिकले डिजाइन, निर्माण र सञ्चालनको व्यावहारिक अनुभव प्राप्त गरे । बैंक तथा वित्तीय संस्थाले जलविद्युत् आयोजना वित्तपोषणको ढाँचा विकास गरे । ग्रामीण क्षेत्रमा सडक, पुल, सञ्चार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक पूर्वाधार विस्तारमा पनि यिनको भूमिका निर्णायक रह्यो । स्थानीय लगानी, रोयल्टी वितरण र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत यी आयोजना स्थानीय विकाससँग गहिरो रूपमा गाँसिए ।

आज जलवायु परिवर्तनका कारण खोलानदीको बहाब झनै अनिश्चित बन्दै गएको छ । हिउँदको उत्पादनमा भारी गिरावट आउँछ, बर्खामा अपेक्षाभन्दा फरक बहाब देखिन्छ । बाढी–पहिरो, डुबान र कटानका जोखिम बढेका छन् । जोखिम बाँडफाँटको संरचना भने अझै पुरानै छ— जोखिम निजी क्षेत्रको, नियन्त्रण राज्यको । हर्जना, दण्ड र परिपिएसम्बन्धी प्रावधान समयानुकूल परिमार्जन नहुनु नीतिगत असंवेदनशीलता बनेको छ ।

प्रारम्भमा आकर्षक देखिएका सहुलियत, छुट र सुविधा समयक्रममा निरन्तरता प्राप्त हुन सकेनन् । ऊर्जा सङ्कटका बेला गरिएका प्रतिबद्धता अवस्था सहज बन्दै जाँदा बिर्सिइए । पटक–पटक नीति संशोधन हुनु, ऐन र नियमावलीबीच असामञ्जस्य हुनु र कार्यान्वयनमा स्पष्ट निर्देशन नहुनुले साना आयोजना आज ‘अस्तित्वकै लडाइँ’मा धकेलिएका छन् ।

रुग्ण आयोजना बढ्नु भविष्यको लगानी खुम्चिनु हो । यसले बैंकिङ प्रणालीमा समेत जोखिम थप्छ । किनकि, असुल नहुने कर्जाको हिस्सा बढ्दै जानु वित्तीय स्थायित्वका लागि शुभ–सङ्केत होइन । उत्पादन घट्दा आम्दानी घट्छ तर ऋण र ब्याजको दायित्व यथावत् रहन्छ । यसको प्रत्यक्ष असर नयाँ लगानी र दीर्घकालीन ऊर्जा लक्ष्यमा पर्छ । अझ गम्भीर कुरा, यसले 'नेपालमा जलविद्युत् लगानी सुरक्षित छ' भन्ने सन्देश कमजोर बनाउँछ ।

सरकारले पछिल्ला वर्षहरूमा ऊर्जा सङ्कट समाधानका नाममा थुप्रै सहुलियत घोषणा गरे पनि ठूलो हिस्सा व्यवहारमा लागु हुन सकेन । उत्पादन भएर पनि विद्युत् प्रवाह हुन नसक्नु, प्रसारण लाइन र सबस्टेसन समयमै नबन्नु तथा पिपिए संरचना यथार्थ लागत र जोखिमसँग नजोडिनु व्यवस्थापकीय असफलताका स्पष्ट सङ्केत हुन् । यी समस्या अब टार्न सकिने चरणमा छैनन् । नीतिगत स्पष्टता, कानुनी स्थिरता, प्रभावकारी कार्यान्वयन, प्रसारण पूर्वाधारमा प्राथमिकता, पिपिए पुनरावलोकन र वित्तीय पुनर्संरचना अनिवार्य भइसकेको छ ।

निजी क्षेत्रलाई दोषी होइन, राष्ट्रिय ऊर्जा लक्ष्य प्राप्त गर्ने साझेदारका रूपमा स्वीकार गर्नुपर्छ । आजका साना हिजोका ठूलै हुन् । जलविद्युत् विकासका आधारस्तम्भ, इतिहास र पथप्रदर्शक रहेका आयोजना जोगाउनु सरकार र सरोकारवालाको साझा दायित्व हो । ‘साना’को दिगोपनबिना ठूला आयोजनाको भविष्य सुरक्षित हुँदैन । यसैले, विगतका कमजोरीबाट पाठ सिक्दै वर्तमान सङ्कटको यथार्थपरक समाधान खोज्नुपर्छ । भविष्यप्रति जिम्मेवार हुने नीति अपनाउनु अपरिहार्य छ । यसो हुँदा मात्र ठूला आयोजना पनि जोगिन सक्छन् । यो क्षेत्रले देश र समाजलाई दिएको बहुआयामिक लाभ प्राप्त भइरहन सक्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३