विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत १९, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
‘ऊर्जा नीति संवाद’को तेइसौँ शृङ्खला

काठमाडौँ । सरकारले करिब एक दशकदेखि देशका सबै नागरिकसम्म स्वच्छ ऊर्जाको पहुँच र विस्तार गर्ने रणनीतिका साथ काम गर्दै आए पनि यसको आपूर्ति अझै चुनौतिपूर्ण रहेको विज्ञहरूले जोड दिएका छन् । पछिल्ला वर्षहरूमा केही उपलब्धि हासिल हुँदै आए पनि स्थानीय तहमा बढ्दै गएको विद्युतीय सुरक्षा, व्यवहारिक ज्ञान र गुणस्तरीय आपूर्ति सहज नभएको विश्लेषण गरिएको छ ।

ऊर्जा खबरमार्टिन चौतारीको सहकार्यमा हुँदै आएको ‘ऊर्जा नीति संवाद’को तेइसौँ शृङ्खला अन्तर्गत मंगलबार (चैत १७ गते) आयोजित छलफलमा विज्ञ प्रस्तोता एवम् अधिकांश सहभागीले ऊर्जाको गुणस्तर, आन्तरिक बजार र त्यसको विस्तारमा जोड दिए । कार्यक्रममा ‘नेपालमा सबैका लागि स्वच्छ ऊर्जा अभियान’ विषयमा प्रस्तुति गर्दै प्राक्टिकल एक्सन नेपालकी देशीय निर्देशक पूजा शर्माले सबैका लागि स्वच्छ ऊर्जा उपलब्ध गराउने कार्यमा हालसम्म नेपालले गरेको प्रगति, अवसर, चुनौती र आगामी दिशाबारे जानकारी गराइन् ।

शर्माले हाल नेपालमा विद्युत्‌को पहुँच करिब सबैजसो घरधुरीमा पुगेको भए पनि आम मानिसको जीवनशैली उकास्ने गरी भान्सालगायत घरायसी क्षेत्रमा यसको प्रयोग निकै न्यून रहेको तथ्य प्रस्तुत गरेकी थिइन् । प्रस्तुतिका क्रममा उनले हाल नेपालका करिब ९९ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको उल्लेख गरेकी थिइन् ।

त्यस्तै, विद्युत्‌को कुल जडान क्षमता करिब ४ हजार ९९ मेगावाट पुगेको छ तर भान्सामा बिजुलीको प्रयोग अत्यन्त न्यून अर्थात् ०.५ प्रतिशत मात्र रहेको छ । अझै पनि ५१ प्रतिशत जनसङ्ख्या दाउरामा निर्भर छन् । यसले गर्दा वार्षिक करिब २४ हजार व्यक्तिको मृत्यु घरभित्रको वायु प्रदूषण (धुवाँ) का कारण हुने गरेको तथ्याङ्क छ । त्यस्तै, ऊर्जाको सही उपयोग हुन नसक्दा कृषि क्षेत्रमा ३० प्रतिशतभन्दा बढी कृषि उपज भित्र्याइसकेपछि नोक्सान हुने गरेको छ ।

यही अवस्थाको अन्त्य गर्न प्राक्टिकल एक्सनले स्याङ्जाका ५०० सय घरधुरीबाट विद्युतीय चुलो अभियान सुरु गरेको उनले बताइन् । ‘हामीले काम गरेको ठाउँमा विद्युतीय चुलोप्रतिको सचेतना र प्रयोग बढी छ,’ उनले भनिन्, ‘सुरुमा इन्डक्सनमा भात पाक्छ कि पाक्दैन भनेर सोध्ने स्थानीयले नै अहिले यसैमा हरेकजसो परिकार बनाउने दक्षता प्राप्त गर्नुभएको छ ।’ हाल इन्डक्सनको प्रयोग देशैभर बढेको भए पनि यसको आपूर्तिमा मुनाफा लगायत कारणले व्यवसायीहरूको उदासीनता देखिएको उनको ठम्याइ छ ।

उनका अनुसार स्वच्छ ऊर्जा प्रयोग वृद्धिका सन्दर्भमा प्रवर्द्धनात्मकता तथा आधुनिक प्रयास स्वरूप संस्थाले ‘लक्ष्मी स्टिल उद्योगमा ९२४ किलोवाटको सोलार पिभी र २ मेगावाटको ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बिइएसएस) जस्ता नमुना आयोजना समेत सञ्चालनमा ल्याइसकेको छ । साथै, प्रसारण लाइनको क्षमता ३० प्रतिशतले बढाउन र १० प्रतिशत विद्युत् चुहावट कम गर्न ‘फोटोनिक कोटिङ’ जस्ता आधुनिक प्रविधिको प्रयोगमा जोड दिइएको छ । यस्ता प्रयासहरूले उद्योगहरूमा कार्बन उत्सर्जन कम गर्न र ऊर्जा दक्षता बढाउन मद्दत पुगेको छ ।

सरकारले आफ्नो बाचा अनुसार बिजुलीलाई समृद्धिको आधार बनाउँदै आन्तरिक खपत बढाउन तथा सबैलाई स्वच्छ ऊर्जा पुर्‍याउन विद्युतीय चुलो, विद्युतीय यातायात जस्ता क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ । त्यस्तै, उपभोक्तालाई केवल ग्राहक मात्र नभई उत्पादक र खपत दुवै गर्ने बनाउन र उनीहरूको अधिकार सुरक्षित गर्न नियामक निकायको भूमिका महत्त्वपूर्ण हुने शर्माको भनाइ छ ।

उनले ‘इन्जिनियरिङ प्याराडक्स' (विराेधाभास) को चर्चा गर्दै नेपालको ऊर्जा क्षेत्र विस्तार भए पनि विद्युतीय इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या घट्दै जानु र दक्ष जनशक्ति विदेश पलायन हुनुलाई भने ठूलो चुनौतीका रूपमा प्रस्तुत गरिन् । यसको समाधानका लागि विश्वविद्यालय, उद्योग र सरकारले आपसमा गहिरो सहकार्य गरी मानव पुँजी र अनुसन्धान तथा विकासमा लगानी गर्नुपर्ने उनको सुझाव थियो । 

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशकसमेत रहेका ऊर्जा विज्ञ प्रबल अधिकारीले सबैका लागि स्वच्छ ऊर्जा पुर्‍याउन विद्युत्‌को प्रसारण र वितरणमा पूर्वाधारमा व्यापक सुधारको आवश्यकता रहेको औँल्याए । साथै, घरायसी खपतका लागि उपयुक्त विद्युत् महसुलको व्यवस्था गर्नुपर्ने समेत उनको भनाइ छ ।

‘हामीले वार्षिक करिब साढे ३ खर्बको पेट्रोलियम आयात गर्दा रहेछौँ भने करिब साढे ८ सय मेगावाट जति बिजुली निर्यात गर्ने रहेछौँ,’ उनले भने, ‘हामीले निर्यात गर्नेजति बिजुली त भान्सामै खपत हुन्छ, यसले सबैलाई स्वच्छ ऊर्जामा पहुँच बढाउन र पेट्रोलियम प्रतिस्थापनमा समेत सहयोग पुर्‍याउँछ ।’

मार्टिन चौतारीका अध्यक्ष समेत रहेका ऊर्जाविज्ञ कुमार पाण्डेले सन् १९९० कै दशकमा बुटवल पावर कम्पनीले केही गाउँहरूमा विद्युतीय डेक्ची बनाएर वितरण गरेको स्मरण गर्दै विद्युतीय चुलोको अवधारणा नयाँ नभएको बताए । यद्यपि, परम्परागत प्रवृत्ति त्यागेर विद्युतीय चुलोमा रूपान्तरण हुन मानिसलाई प्रोत्साहित गर्न भने सरकार र सबै क्षेत्र चुकेको उनको धारणा छ । यो विषय अझै चुनौतिपूर्ण नै रहेको पनि उनले प्रस्ट पारे ।

‘अझै पनि नेपालमा सुख्खायाममा विद्युत् आयात गर्नुपर्ने अवस्था रहेकोले विद्युतीय चुलो पनि आयात गरिएकै बिजुलीबाट बाल्नुपर्ने अवस्थातर्फ भने ध्यान दिनुपर्छ,’ उनले भने, ‘यदि त्यसो भयो भने प्रतियुनिट ३० रुपैयाँसम्म पनि पर्न जान्छ, यसलाई स्वीकार गर्नुपर्छ ।’

स्वच्छ ऊर्जाको अभिवृद्धिमा काम गर्न सक्ने जनशक्तिको पलायनले समस्या निम्त्याएको उनले अनुभव सुनाएका थिए । नेपालका करिब ५० वटा इन्जिनियरिङ केलेजले वार्षिक ८ हजार इन्जिनियर उत्पादन गर्ने गरेका भए पनि यहाँ सधैँ इन्जिनियरको अभाव रहेको तीतो यथार्थ पनि उनको निष्कर्ष थियो ।

प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यले दाउरा प्रयोग गर्न सजिलो लागिरहेका लागि इन्डक्सनमा रूपान्तरण हुन गाह्रो हुने भन्दै विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन गर्न एक समन्वयकारी निकायको व्यवस्था गरी यसको नेतृत्व दिनुपर्ने बताइन् ।

ग्रीन इनर्जी अन्ट्रप्रेनर्स नेपाल (ग्रीन) का अध्यक्षसमेत रहेका ऊर्जा विज्ञ सूर्यप्रसाद अधिकारीले स्वच्छ ऊर्जा रूपान्तरणका अभियान अघि बढाउन पनि आवश्यक दक्ष जनशक्ति देशमा नभएको बताए । ‘हाल देशभरका करिब ४५ वटा सबस्टेशनमा प्राविधिक जनशक्ति नै छैनन्, कुनै कुनै त पालेले चलाइरहेका छन्,’ उनले भने । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक डा. मुकेश घिमिरेले सबैका लागि स्वच्छ ऊर्जा पुर्‍याउने वा ऊर्जा रूपान्तरणको काम काम निरन्तर गर्नुपर्नेमा पेट्रोलियम आयातमा समस्या आएपछि मात्रै यसतर्फ सबै निकायको ध्यान केन्द्रित हुने गरेको तीतो यथार्थ प्रस्तुत गरे ।

ऊर्जाविज्ञ राहुल शाहले विद्युतीय चुलो, एग्रोभोल्टिक (सौर्य ऊर्जा उत्पादन र खेतीपाती एउटै जग्गामा सँगै गर्ने प्रविधि) जस्ता उपाय अपनाएर स्वच्छ ऊर्जाको पहुँच बढाउन विद्युत् मिटरको स्तरोन्नति, हाउस वायरिङ जस्ता विषयमा पनि ध्यान दिनुपर्ने बताए ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले विद्युतीय चुलो वितरण गरिएका ठाउँमा समेत थन्क्याएर राख्ने प्रवृत्ति देखिएको भन्दै यसको प्रयोग उपयुक्त विधिबाट महसुल निर्धारण गर्न नियामक निकायले ध्यान दिनुपर्ने धारणा राखे ।

मार्टिन चौतारीका शोध निर्देशक प्रत्युष वन्तले हाल पश्चिम एसियाली राष्ट्र तथा पश्चिमा देशहरूमा बढ्दै गएको तनाबले अब नेपालको ऊर्जा क्षेत्रका दक्ष जनशक्ति पलायन हुने र यहाँ यस क्षेत्रमा रोजगारीको माग बढ्ने आशा व्यक्त गरे । यसले ऊर्जा पहुँच अभिवृद्धिमा काम गर्न जनशक्ति विस्तारमा सहयोग पुग्ने समेत उनको अपेक्षा छ ।

प्राधिकरणकी निर्देशक रञ्जु पाण्डेले विद्युतीय चुलो पाएर पनि प्रयोग नगर्ने प्रवृत्ति अन्त्यको विषयमा सबैजसो सरोकारवाला पक्षले ध्यान दिनुपर्ने बताइन् ।

सोही क्रममा प्राक्टिकल एक्सनका प्राेजेक्ट अफिसर मीनविक्रम मल्लले भान्सामा स्वच्छ ऊर्जाको प्रयोग बढाउन उपयुक्त दरको विद्युत् महसुल निर्धारण गर्नु आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा ऊर्जा क्षेत्रका करिब ३० जना विज्ञ तथा जानकारहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३