काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली ३बी–रातमाटे २४.३ किलोमिटर २२० केभी विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले नुवाकोटको किस्पाङमा रहेको २२०/१३२ केभी सबस्टेसनदेखि विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका हुँदै बेलकोटगढी नगरपालिका–७ मा प्रस्तावित ४००/२२० केभीको रातमाटे सबस्टेसनसम्म डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको हो ।
यसका लागि अनुमति प्राप्तिको प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइनअन्तर्गत ४९ वटा एङ्गल टावरहरू निर्माण गरिने छन् । टावरको अधिकतम उचाइ ३८ मिटर रहने छ । आयोजना निर्माणका लागि कूल ७२.९३ हेक्टर जमिन आवश्यक पर्ने छ ।
कुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको प्रसारण लाइनबाट १ हजार २३४ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणले जनाएको छ ।