काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीले कूल ४ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाएका छन् । ती आयोजनाहरूमा नदी प्रवाही सहित, आंशिक जलाशय र जलाशयसमेत रहेका छन् ।
प्राधिकरणका अनुसार अहिले सरकारकै प्राथमिकतामा परेका रूपान्तरणकारी आयोजनाहरू २१० मेगावाटको चैनपुर सेती, ६७० मेगावाटको दूधकोसी, ८२८ मेगावाटको उत्तरगंगा, १०६३ मेगावाटको माथिल्लो अरुण, ६८३ मेगावाटको सुनकोसी–३ जलाशय, ७०.३७ मेगावाटको जावा तीला आंशिकजलाशय आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको छ । यी आयोजनाको क्षमता ४११९.३७ मेगावाट रहेको छ ।
यसैगरी, १०० मेगावाटको कुलेखानी–सिस्नेरी तथा ४९५ मेगावाटको हुलिङटार पम्प स्टोरेज आयोजनाको विस्तृत अध्ययन अगाडि बढाइएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका सहायक कम्पनीहरूमार्फत अहिले ४० मेगावाटको राहुघाट, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’, ९९.८ मेगावाटको तामाकोसी–५, ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, १४० मेगावाटको तनहुँ जलाशय आयोजना निर्माण गरिरहेको छ । यी आयोजनाहरूको कुल क्षमता ३७७ मेगावाट रहेको छ ।
आर्थिक वर्ष (आव) २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ५३६ मेगावाट विद्युत् थप भएको थियो । जसमा रसुवागढी र सान्जेनमार्फत क्रमशः १११ मेगावाट र ४२.५ मेगावाट, १०२ मेगावाटको मध्यभोटेकोसी तथा बाँकी निजी क्षेत्रबाट थपिएको थियो । प्राधिकरण र निजी क्षेत्रको उत्पादन थपिएपछि चालू आवको अन्त्यसम्म देशको केन्द्रीय प्रणालीमा ४ हजार ८०० मेगावाट विद्युत् पुग्ने प्रक्षेपण गरिएको छ ।
प्राधिकरणले अहिलेसम्म निजी क्षेत्रले निर्माण गर्ने ११ हजार १८५ मेगावाट बराबरका विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । यस्तै, ४ हजार ९६७ मेगावाटका ५४ आयोजना पिपिए गर्ने प्रक्रियामा छन् ।
प्राधिकरणले गत आवसम्म विद्युत् चुहावट ०.४७ प्रतिशतले कमी ल्याई १२.२६ प्रतिशतमा झारेको छ । यस्तै, हालसम्म ९२ प्रतिशत घरधुरी र ९८ प्रतिशत पालिकाहरूमा विद्युतीकरण भइसकेको छ । गत आवसम्म प्राधिकरणका उपभोक्ता ५७ लाख नाघिसेकेका छन् । गत आवसम्म प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ४२० युनिट रहेकोमा चालू वर्षभित्र ४७० युनिट पुर्याउने लक्ष्य राखिएको हुन्छ ।