काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँ वृद्धि गरेको छ । निगमले आइतबार (असाेज १४ गते) देखि लागू हुनेगरी मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ । बढेको मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर २११० रुपैयाँ कायम भएकाे छ । यसअघि १८९५ रुपैयाँ थियो । निगमले भदाै १५ गते मात्र प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएकाे थियाे ।
यसैगरी, निगमले पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँ बढाएकाे छ । हवाई इन्धन आन्तारिक तर्फ प्रतिलिटर ८ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ १.०३५ डलरबाट १.०९५ डलर पुर्याइएको छ ।
मूल्य बढेसँगै अब उपभोक्ताले पेट्रोल प्रतिलिटरको मुल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल) मा १८५ रुपैयाँ कायम भएको छ ।
डिजेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ कायम भएको छ । निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।