काठमाडौं । पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएसँगै यसबाट उत्पादित विद्युतको परिमाण पनि थपिँदै गएको छ । अहिलेसम्म करिब ५७ मेगावाट बराबरका सौर्य आयोजनाको विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ ।
सरकारको मिश्रित ऊर्जा विकासको अवधारणा कार्यान्वयनमा ल्याएपछि सौर्य विद्युत आयोजनाको विकासमा लगानी थपिँदै गएको छ । जलविद्युतको भन्दा कम लागत तथा छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने हुँदा पनि लगानीकर्ताको आकर्षण सौर्य ऊर्जातर्फ बढिरहेको देखिन्छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार हालसम्म १५ सौर्य आयोजनाबाट ५७.०८ मेगावाट विद्युत प्रणालीमा जोडिएको छ । हालसम्म १४४३.१५ मेगावाटका सौर्य आयोजना निर्माणका विभिन्न चरणमा छन ।
दुर्गम क्षेत्रको विद्युतीकरणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्माण भएको सौर्य ऊर्जा बाहेक प्राधिकरण र निजी क्षेत्रको लगानीमा उक्त परिमाणको विद्युत उत्पादन भइरहेको छ । ०.४ मेगावाटको रुफटपदेखि १०.१०० मेगावाटसम्मका सौर्य आयोजनाले उत्पादन गरेको विद्युत प्रणालीमा प्रवाह भइरहेका छन् ।
प्रणालीमा जोडिएकामध्ये प्राधिकरणको १३.५० मेगावाटको ३ आयोजना छ । बाँकी, निजी क्षेत्रले निर्माण गरेको आयोजना हुन् । यस्तै, प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी निर्माण सम्पन्न भएका १० मेगावाटको मिथिला, ८.५ मेगावाटको बुटवल, ५ मेगावाटको बेलचौतारा, ४ मेगावाटको चन्द्रनिगाहपुर, १ मेगावाटको ढल्केबर, १ मेगावाटकाे सीमरा, ३ मेगावाटको ढल्केबर–२, १ मेगावाटको विष्णुप्रिया सोला फार्म, ५ मेगावाट नवलपरासी ग्रीड, ४ मेगावाटकाे साैर्य, ०.६८० मेगावाटको सोलार इनर्जी आयोजनाले व्यापारीक उत्पादन गरिरहेका छन् । ४ सय किलोवाटको भक्तपुरको बालकोटस्थित रुफटप सोलारको हो ।
प्राधिकरणका अनुसार पहिलो पटक काठमाडौं उपत्यका खानेपानी बोर्डले सौर्य ऊर्जा प्रविधिबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रणालीमा जोडेको हो । खानेपानी बोर्डले २०६९ साल कात्तिक १५ गतेदेखि ६८० किलोवाट विद्युत उत्पादन गरेर प्राधिकरणलाई बेचिरहेको छ ।
निजी लगानीमा निर्माण भएको १ मेगावाटको विष्णुप्रिया सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको दोस्रो आयोजना हो । सूर्य पावर कम्पनीले नवलपरासीमा निर्माण गरेको यो आयोजना परासी सबस्टेसनमा जोडिएको छ ।
यस्तै, निजी लगानीमा निर्माण भएको ८.५ मेगावाटको बुटवल सौर्य विद्युत आयोजना पनि राष्ट्रिय प्रणालीमा जोडिएको छ । यो आयोजनाले २०७७ असोजदेखि विद्युत उत्पादन सुरु गरेको हो ।
यो सरकारको मिश्रित ऊर्जा विकासको अवधारणाअनुरूप निर्माण पूरा भएर विद्युत उत्पादन सुरु गरेको पहिलो सौर्य विद्युत आयोजना हो । रिडी हाइड्रो पावर कम्पनीले निर्माण गरेको यो आयोजनाले व्यापारिक उत्पादन गरी प्राधिकरणलाई विद्युत बेचिरहेको छ । आयोजनाको उत्पादन अनुमतिपत्र २५ वर्षको छ ।
यही वर्ष राष्ट्रिय प्रणालीमा जोडिएको १० मेगावाटको मिथिला सौर्य विद्युत आयोजना निजी क्षेत्रले नै निर्माण गरेको हो । यो आयोजना २०७७ फागुन २ गते प्रणालीमा जोडिएको हो । इको पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको आयोजना प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडिएको छ । बुटवल र मिथिला सौर्य विद्युत आयोजनाले उत्पादन गर्ने विद्युत प्राधिरकणले प्रतियुनिट ७.३० रुपैयाँमा किनिरहेको छ ।
यस्तै, ५ मेगावाटको बेलचौताराले पनि २०७८ भदौ २९ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ । सोलार फार्म प्रालिले यो आयोजना तनहुँमा ४३ करोड रुपैयाँ लागतमा पूरा गरेको हो ।
अपि पावर कम्पनीले रौतहटमा निर्माण गरेको ४ मेगावाटको चद्रनिहापुरको पनि २०७८ असारदेखि प्रणालीमा जोडिएको हो । यही कम्पनीको १ मेगावाटको ढल्केबर र १ मेगावाटले व्यापारीक उत्पादन गरिहेका छन ।
सगरमाथा इनर्जी एण्ड कन्स्ट्रक्सन प्रालिले ३ मेगावाटको ढल्केबर–२ निर्माण गरी २०७८ फागुनदेखि सञ्चालनमा ल्याएको छ । नेशनल सोलार पावर कम्पनी लिमिटेडले नवलपरासीमा ५ मेगावाटको र नेपाल सोलार फार्म प्रालिले कास्कीमा ४ मेगावाटको सौर्य आयोजना निर्माण गरि सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यी आयोजनाले क्रमशः भदौ २७ र कात्तिक १४ गतेदेखि उत्पादन व्यापारीक उत्पादन सुरु गरेका हुन् ।
भक्तपुरको बालकोटस्थित एउटा घरको छाना (रुफटप) मा सोलार प्रविधि जडान गरी उत्पादन भएको ४ सय किलोवाट विद्युत २०७८ कात्तिक ८ गतेदेखि प्रणालीमा जोडिएको छ । घरयासी प्रयोजनाको लागि राखेको सोलार प्यानलबाट उत्पादन भई खपत हुन नसकेर बढी भएको विद्युत ग्रिडमा जोडिएको हो ।