काठमाडौँ । विद्युत् विकास विभागमा विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले अनुमतिपत्र दस्तुरबापत बुझाएको १ अर्ब २८ करोड ४० लाख रुपैयाँ विगत ५ महिनाभन्दा बढी समयदेखि रोक्का (होल्ड) भएर बसेको छ । विभागले नयाँ सर्वेक्षण अनुमतिपत्र जारी गर्ने प्रक्रिया स्थगित गरेसँगै कूल ३ सय ६२ वटा आयोजनाको नाममा जम्मा गरेको रकम रोकिएको हो ।
विभागका अनुसार १ मेगावाटदेखि १०० मेगावाटभन्दा माथिका आयोजनाका प्रवर्द्धकले नियमानुसारको दस्तुर बुझाएर आवेदन दिएका थिए । लामो समयसम्म न अनुमतिपत्र जारी भएको छ, न त प्रवर्द्धकले बुझाएको रकम नै फिर्ता वा व्यवस्थापन हुन सकेको छ ।
यसरी सबैभन्दा धेरै रकम साना जलविद्युत् आयोजना (१ देखि ५ मेगावाट) बाट रोक्का भएको उल्लेख देखिन्छ । १ देखि ५ मेगावाट क्षमताका २ सय १८ वटा आयोजनाका प्रवर्द्धकले प्रतिआयोजना २० लाख रुपैयाँका दरले बुझाएको ४३ करोड ६० लाख रुपैयाँ विभागमा थन्किएको छ । यस्तै, ५ देखि १० मेगावाट क्षमताका ६८ वटा आयोजनाबाट प्रतिआयोजना ४० लाखका दरले २७ करोड २० लाख रुपैयाँ र १० देखि २५ मेगावाट क्षमताका २९ वटा आयोजनाबाट प्रतिआयोजना ६० लाखका दरले १७ करोड ४० लाख रुपैयाँ रोक्का भएको छ ।
यसैगरी, २५ देखि १०० मेगावाट क्षमताका ३४ वटा आयोजनाका प्रवर्द्धकले प्रतिआयोजना ८० लाख रुपैयाँका दरले बुझाएको २७ करोड २० लाख रुपैयाँ तथा १०० मेगावाटभन्दा ठूला १३ वटा आयोजनाबाट प्रतिआयोजना १ करोड रुपैयाँका दरले बुझाएको १३ करोड रुपैयाँ पनि ५ महिनादेखि विभागकै खातामा अड्किएको छ । यो रकम अनुमतिपत्रका निवेदन दिएको सुरु दुई वर्षको मात्र हो ।
विद्युत् विकास विभागमा रोक्का रहेको प्रवर्द्धकको धरौटी/दस्तुर विवरण
| आयोजना क्षमता | आयोजना संख्या | प्रतिआयोजना दस्तुर (रु. लाखमा) | कूल (रु. लाखमा) |
| १–५ मेगावाट | २१८ | २० | ४,३६० |
| ५–१० मेगावाट | ६८ | ४० | २,७२० |
| १०–२५ मेगावाट | २९ | ६० | १,७४० |
| २५–१०० मेगावाट | ३४ | ८० | २,७२० |
| १०० मेगावाटभन्दा माथि | १३ | १०० | १,३०० |
| जम्मा | ३६२ | — | १२,८४० |
स्रोतः विद्युत् विकास विभाग
लामो समयसम्म ठूलो परिमाणको पुँजी अनुत्पादकरूपमा सरकारी निकायमै थन्किँदा निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरू आर्थिक दबाबमा परेका छन् । एकातिर बैंकको ब्याजदर र पुँजी परिचालनको लागत बढिरहेको र अर्कोतिर सर्वेक्षण अनुमतिपत्रको प्रक्रियासमेत रोकिँदा आयोजनाको पूर्वतयारी तथा अध्ययनका काम प्रभावित भएको प्रवर्द्धकहरूको गुनासो छ ।
ऊर्जा क्षेत्रको नियामक तथा प्रशासनिक निकायबाट अनुमतिपत्र सम्बन्धी स्पष्ट नीतिगत निर्णय नहुँदा ३ सय ६२ आयोजनाको भविष्य र प्रवर्द्धकको सवा अर्बभन्दा बढी लगानी अनिश्चित बनेको छ ।