विद्युत अपडेट

  • प्राधिकरण : ७६५० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८४०० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४७६ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : ९४६७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६३२ मे.वा.घन्टा
  • ऊर्जा माग : ४९१५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५३८ मे.वा.
२०८३ मङ्सिर १२, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । जलविद्युत्‌मा अधिक निर्भर नेपालको विद्युत् प्रणालीमा मौसमी असन्तुलन र जलवायुजन्य जोखिम बढिरहँदा सौर्य ऊर्जालाई रणनीतिक परिपूरकका रूपमा विकास गर्न प्रस्तावित ‘राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप’ मस्यौदामा करिब ५ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को संयुक्त आयोजनामा बिहीबार आयोजित ‘राष्ट्रिय सरोकारवाला कार्यशाला’मा उक्त विषय सार्वजनिक गरिएको हो । आईएसए–एडीबी सहकार्य ढाँचा अन्तर्गत प्राविधिक परामर्शदाता फिचनर कन्सल्टिङ इन्जिनियर्सले अध्ययन प्रतिवेदन प्रस्तुत गरेको थियो ।

प्रस्तुत मस्यौदाले सन् २०३० सम्म ४ हजार २६ मेगावाट, सन् २०३५ सम्म ७ हजार ८०१ मेगावाट र सन् २०४० सम्म ९ हजार ८०१ मेगावाट सौर्य ऊर्जा क्षमता पुर्‍याउने लक्ष्य प्रस्ताव गरेको छ । सन् २०४० सम्मको कूल लक्ष्यमध्ये ७ हजार २०० मेगावाट ग्रिड–कनेक्टेड (मुख्यतः ग्राउन्ड–माउन्टेड र नहरमाथिका ‘क्यानल–टप’ प्रणाली), ९०० मेगावाट भण्डारण (स्टोरेज) सहित र १ हजार ७०१ मेगावाट विकेन्द्रीकृत (डिस सेन्ट्रलाइज्ड) प्रणालीमार्फत विकास गर्ने खाका अघि सारिएको छ ।

उक्त उपलब्धि हासिल गर्न सन् २०४० सम्म कूल ३ अर्ब ७७ करोड अमेरिकी डलर (करिब ५ खर्ब ५८ अर्ब रुपैयाँ) लगानी आवश्यक पर्ने आकलन गरिएको छ । प्रस्तावित लगानी संरचनामा स्वतन्त्र ऊर्जा उत्पादकको हिस्सा ६० प्रतिशत, सार्वजनिक–निजी साझेदारी तथा रेस्को (पिपिपी/रेस्को) मोडेलको २८ प्रतिशत र सरकारी नेतृत्वको १२ प्रतिशत रहने उल्लेख छ । यस्तो लगानी जुटाउन हरित बन्ड (ग्रिन बोन्ड), जलवायु वित्त, भायबिलिटी ग्याप फन्डिङ र पेमेन्ट ग्यारेन्टी फन्डजस्ता वित्तीय उपकरण उपयोग गर्न सकिने सुझाइएको छ ।

अध्ययनमा सौर्य ऊर्जाको लागत प्रतियुनिट ५.६९ रुपैयाँदेखि ७.१९ रुपैयाँसम्म प्रस्ताव गरिएको छ, जसलाई नेपाल विद्युत् प्राधिकरणको ५ रुपैयाँ ९४ पैसाको बोलपत्र सीमा (बिड सिलिङ) सँग दाँजेर हेरिएको छ । सौर्य ऊर्जा विकासलाई गति दिन नीति, ग्रिड, वित्त, परियोजना कार्यान्वयन, आपूर्ति शृङ्खला र सीप विकास गरी ६ वटा मुख्य विषयगत क्षेत्रमा केन्द्रित भएर छलफल गरिएको थियो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालको विद्युत् प्रणालीमा सौर्य ऊर्जाको परिपूरक भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 'सुख्खायाममा देखिने विद्युत् माग र आपूर्तिको अन्तर कम गर्न तथा जलविद्युत्‌मा आधारित प्रणाली अझ भरपर्दो र सन्तुलित बनाउन सौर्य ऊर्जाको रणनीतिक एकीकरण अपरिहार्य छ,' उनले भने ।

हाल नेपालको कूल विद्युत् जडित क्षमता ४ हजार १२० मेगावाट पुगेको छ, जसमा करिब ९५ प्रतिशत हिस्सा जलविद्युत्‌को छ । सौर्य ऊर्जाको हिस्सा मात्र ३.८ प्रतिशत छ । गत भदौ १० गते भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीले मात्र करिब १००० मेगावाटका आयोजना प्रभावित बनेको सन्दर्भले ऊर्जा प्रणालीमा विविधीकरणको आवश्यकता झनै चर्किएको सरोकारवालाको धारणा थियो ।

प्रस्तावित संस्थागत भूमिका अनुसार विद्युत् विकास विभागले समन्वयकारी भूमिका निर्वाह गर्ने तथा विद्युत् नियमन आयोगले सौर्य ऊर्जाको महसुल निर्धारण, ग्रिड कोड र नेट मिटरिङसम्बन्धी व्यवस्था गर्ने उल्लेख छ । सरकारी निकाय, सौर्य प्रवर्द्धक, लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्राविधिक विज्ञको सहभागिता रहेको कार्यक्रममा नेपालको सौर्य ऊर्जालाई लगानीयोग्य परियोजना र दिगो साझेदारीतर्फ अघि बढाउने आधारमाथि समेत विमर्श भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३