विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको पहिरोमा परी दोलखामा ३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । भीमेश्वर नगरपालिका वडा नं. ६ घ्याङचौरमा शनिबार दिउँसो पहिरोले घर पुरिँदा एकै घरका ३ जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा राजकुमार भुजेल, राधिका भुजेल र उनीहरूका १५ वर्षीय छोरा सुजन भुजेल रहेका छन् । राजकुमारकै ३ वर्षीय छोरा युवराज भुजेललाई भने सेना र प्रहरीको उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।

शनिबार दिउँसो नै माथिबाट आएको पहिरोमा परी विगू गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको हेडवर्क्सको कन्ट्रोल रूपमा रहेका ४ जना सम्पर्कविहीन भएका छन् । प्रमुख जिल्ला अघिकारी टुवराज पोखरेलका अनुसार सम्पर्कविहीन हुनेमा २ जना नेपाली सेना र २ जना माथिल्लो तामाकोसीकै कर्मचारी रहेका छन् । हेडवर्क्सको बाँयातर्फको माथिल्लो भेगबाट पहिरो सहितको भेल लगातार आएर कन्ट्रोल रुममा क्षति पुगेको छ । लामाबगरमा टेलिफोन र सेना प्रहरीको सञ्चार सेटसमेत नचल्दा यो समाचार तयार गर्दासम्म थप जानकारी आउन नसकेको उनले जानकारी दिए ।

लामाबगर जलमग्न हुँदा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बलको क्याम्प समेत डुबानमा परेको छ । नदी किनारबाट एक सय मिटर टाढा रहेको क्याम्पमा घुँडासम्म पानी आएपछि सशस्त्रको टोली अहिले नेपाल प्रहरीको चौकीमा पुगेर ओल लागेर बसेको सशस्त्र प्रहरी बल १८ नं. गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भुविक्रम शाहले जानकारी दिए ।

शुक्रबार साँझदेखि माथिल्लो तामाकोसीको उत्पादन बन्द 

नदीमा ठूलो बाढी आएका कारण बन्द भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको विद्युत् उत्पादन बन्द गरिएको छ । नदीमा पानीको सतह खतराको तहमा पुगेपछि शुक्रबार साँझदेखि विद्युत गृह नै बन्द गर्नु परेको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए । बाढी अत्याधिक आउँदा माथिल्लो तामाकोसीको बाँधमा रहेका सबै ढोका खुलेका छन् । यस्तो बेला आयोजनाको विद्युत गृह सञ्चालन गर्दा पानीमा बालुवाको मात्रा मिसिनाले टर्वाइनमा क्षति पु¥याउन सक्ने भएकाले पनि आयोजना बन्द गरेको हो । नदीमा जलस्तर २५० घनमिटरभन्दा माथि भए खतराको तहमा पुग्छ ।

तामाकोसी नदीको सहायक नदी लप्ची खोला र जुम खोलाका कुनै ठाउँमा पहिरोले खोला थुनिएर ताल बनेर फुटेर बाढी आएको पनि हुन सक्ने अनुमान छ । लामाबगरदेखि लप्ची जाने सडक निर्माणका क्रममा निस्किएको ढुङ्गा, माटो खोलामा झरेको छ । त्यसले पनि नदी थुनिने र खुल्ने क्रम हुँदै आएको छ । लामाबगरको सबैतिर डुबान हुने गरी धेरै वर्षपछि आएको सबैभन्दा ठूलो बाढी भएको स्थानीयले बताएका छन् ।

माथिबाट आएको बाढीले ल्याएका गेग्रानले पनि माथिल्लो तामाकोसीको बाँध भरिँदै आएको छ । गत असार २१ गते राती पनि यस्तै एक्कासी बाढी आउँदा माथिल्लो तामाकोसीले विद्युत उत्पादन बन्द गरेर बाँधका सबै ढोका खोलेको थियो । 

शनिबार साँझदेखि वर्षा रोकिएर नदीको जलस्तर घटे पनि हेडवक्र्सको कन्ट्रोल रूपमा क्षति भएकोले के कति क्षति भयो भन्ने आइतबार विहानसम्म सञ्चार विच्छेद हुँदा जानकारी हुन सकेको छैन । सिंगटीदेखि लामाबगरसम्मको सडक ठाउँ ठाउँमा क्षतिग्रस्त छ । विद्युत सेवा अवरुद्ध हुँदा मोबाइल र सुरक्षा निकायको समेत सम्पर्क विच्छेद भएको छ ।

२६ घण्टापछि सदरमुकाममा विद्युत् सेवा
दोलखा जिल्लाभर शनिबार विहानदेखि विद्युत् सेवा पनि अवरुद्ध भएको विद्युत् सेवा २६ घण्टापछि सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेका अनुसार ठाउँ ठाउँमा ३३ केभी प्रसारण लाइनको पोल नै ढलेका कारण विद्युत् सेवा अवरुद्ध प्रसारण लाइन मर्मतपछि सुचारु भएको हो । 

खिम्ती–चरिकोट प्रसारण लाइनको मिल्तीमा ३ वटा पोल बाढीले बगाएकोले त्यसको केही ढिला हुने भएकाले अहिले चरिकोट बजारमा विद्युत आपूर्तीका लागि सिंगटी–मकैबारी प्रसारण लाइनमा मर्मतपछि सदरमुकाम चरिकोटको विद्युत सेवा सुचारु भएको हो । जिल्लाका अन्य ठाउँमा पनि विद्युत सुचारु गर्नका लागि टोली परिचालन गरिएको उनले बताए ।

राजमार्ग सम्पर्क विच्छेद

तामाकोसी नदीमा आएको बाढीले तामाकोसी गाउँपालिका वडा नं. ५ किर्नेको सडक नै बगाएको छ । हिमाल पावर लिमिटेडको गेट अगाडीसम्म कटान गरेपछि खिम्ती १ जलविद्युत् केन्द्रको केही आवास गृह सहित सडक बगाएको छ । किर्नेमा सडक कटान र खुर्कोटको पक्कि पुल बगाएपछि दोलखाको तराईसँगको लाइफलाइनको सम्पर्क टुटेको छ ।

त्यस्तै सिँगटीदेखि लामाबगर सडकको पनि ठाउँ ठाउँमा अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा अन्य ग्रामीण सडक के कति क्षति भयो भन्ने पूर्ण विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सत्रुधन महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३