काठमाडौँ । सरकारले भोटेकोसी–त्रिशूली नदीमा भदाै १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर (५.३२ देखि ६.६५ खर्ब रुपैयाँ) लगानी आवश्यक पर्ने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै शनिबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको प्रारम्भिक अनुमानले देशको कुल गार्हस्थ्य उत्पादनको लगभग दशांश बराबरको लगानी आवश्यक पर्ने देखाएको बताएका हुन् ।
'यद्यपि क्षतिको वास्तविक मूल्याङ्कन अझै निश्चित हुन बाँकी छ,' वाग्लेले भने । हिमालय पर्वतीय नदी प्रणालीमा चट्टान, बरफ, माटो र भग्नावशेष सहितको ठूलो बाढी आउँदा नेपालमा मात्र ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ । यसैगरी, २,००० भन्दा बढी मानिस अझै पनि बेपत्ता छन् ।
बाढीले सीमावर्ती क्षेत्रका शहरहरूलाई तहसनहस पार्नुका साथै पुल र सडकहरू बगाएको छ । त्यसैगरी, रसुवा र नुवाकोटमा अवस्थित जलविद्युत केन्द्रहरूमा भारी क्षति पुर्याएको छ ।
यद्यपि, हालको विपत्ती सम्बन्धित पुनर्निर्माणको लागत वि.सं २०७२ मा आएको ७.८ रेक्टर स्केलको भूकम्पबाट सिर्जित दायित्वको तुलनामा कम रहने अर्थमन्त्री वाग्लेले जनाएका छन् । भूकम्पपछिको पुनर्निर्माण उद्देश्यका लागि ९ अर्ब अमेरिकी डलर खर्च गरिएको सरकारी तथ्याङ्क रहेको छ । उक्त प्राकृतिक प्रकोपमा लगभग ९,००० मानिसहरूको ज्यान गएको थियो भने ५००,००० भन्दा बढी घरहरू ध्वस्त भए । यसले नेपालको अर्थतन्त्रको लगभग एक तिहाइ क्षति पुर्याएको सरकारी तथ्यांक छ ।
'हालैको बाढीले विप्रेषण, पर्यटन र जलविद्युत्मा निर्भर नेपाली अर्थतन्त्र र खास गरी राष्ट्रिय उत्पादन क्षमताको १२ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने विद्युत् आयोजनाहरूलाई ठूलो क्षति पुर्याएको छ,' अर्थमन्त्री वाग्लेले भने ।