विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पूर्व-पश्चिम विद्युत प्रवाहका लागि मेरुदण्डको रुपमा रहेकाे १३२ केभी डबल सर्किट प्रसारण लाइनकाे स्तरोन्नति (तार फेर्ने) कार्यमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले अवराेध गरेका छन् । करिब ४१ वर्ष अघि लाइन निर्माण गर्दा प्रभावित जग्गाहरूको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नु पर्नेलगायतका माग राखी स्थानीयले लाइनको तार फेर्ने कार्यमा अवरोध गरेका हुन् ।

स्थानीयको अवरोधका कारण गत वैशाखको पहिलो सातादेखि काम ठप्प छ । नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमतावृद्धि गर्न हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागेको छ ।

करिब २०० मेगावाट विद्युत् प्रवाह हुँदै आएकोमा लाइनकाे कन्डक्टर बदलेपछि क्षमता वृद्धि भई करिब ४००  मेगावाट प्रवाह हुनेछ । यसबाट त्यस क्षेत्रकाे विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युतलाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युतलाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित सबस्टेसनबाट कमानेसम्मको ९.५७ किलोमिटर प्रसारण लाइनमध्ये एउटा सर्किटको ७.५ किलोमिटर तार फेरिएको छ । हेटौंडा–कमाने खण्डमा तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो कन्डक्टर अस्थायी रुपमा बाँधी राखिएको छ । स्थानीयको अवरोधले बाँकी काम रोकिएको छ ।

एउटा सर्किटकाे काम सकिएपछि अर्कोको काम सुरु हुनेछ । तराई क्षेत्रमा विद्युतको माग बढेको तर कन्डक्टर बदल्नका लागि एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङलगायतका समस्या आई विद्युत मागलाई व्यवस्थापन गर्ने असहज भएको प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित टोलीले निर्माणस्थलमा गएर स्थानीय बासिन्दासँग छलफल गरी पूर्व–पश्चिम विद्युत प्रवाहका लागि मेरुदण्डको रुपमा रहेको लाइनको कामलाई अवरोध नगरिदिन आग्रह गरेका छन् ।

छलफलमा वडा नम्बर १५ का वडाध्यक्ष सुनिल मोक्तानले करिब ४१ वर्ष अघि लाइन निर्माण गर्दा मुआब्जा तथा क्षतिपूर्ति नपाएको, लाइनका कारण घर निर्माण गर्न नसकिएकोलगायतका माग स्थानीयको रहेको बताए । ‘राज्यका निकायले कानूनभन्दा बाहिर गएर निर्णय गर्न सक्दैनन्, यस्तो बाध्यता सबैले बुझ्नुपर्छ, स्थानीयले उठाएका जायज मागलाई प्राधिकरणले फिल्डमै आएर सम्बोधन गर्ने विश्वास दिलाएको छ । यसलाई अविश्वास गरी काम नै गर्न नदिने भन्ने हुँदैन, त्यसैले अवरोध नगरी काममा सहयोग गरौं’, वडाध्यक्ष मोक्तानले स्थानीयलाई आग्रह गरे ।

स्थानीयले राखेका जायज मागलाई क्रमशः सम्बोधन गर्दै जाने उल्लेख गर्दै घिसिङले करिब ४१ वर्ष अघि बनेको लाइन अहिले आएर सार्न असम्भव रहेको बताए । ‘प्रसारण लाइन निर्माणमा देशभर नै समस्या छ, निर्माणाधीन लाइनको रुट सार्न त सकिंदैन भने बनिसकेको लाइन सार्न सम्भव नै छैन,’ उनले भने, ‘यो लाइनको स्तरोन्नति सकिएन भने मर्स्याङ्दी नदी कोरिडोरका आयोजनाहरूको विद्युत प्रवाह गर्न नसकेर खेर फाल्नु पर्ने अवस्था छ, यस्तो अवस्था आएमा दैनिक रुपमा राज्यलाई करौडौं घाटा हुन्छ, त्यसले यस्तो महत्वपूर्ण लाइनको काम रोकेर सबै माग पूरा हुन्छ भन्ने नसौचौं, काममा अवरोध नगरौं ।’

प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको कित्ताकाट गर्न दिने, बैंकमा धितो राख्न पाउनेलगायतका विषयलाई नीतिगत रुपमा सम्बोधन गर्न माथिल्लो तहमा छलफल भइरहेको र स्थानीय रुपका सामाजिक मागलाई सम्बोधन गर्दै जाने पनि घिसिङले बताए । 

१३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि २०७९ साउन ४ गते ठेक्का सम्झौता भएको थियो । यो काम २०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit