विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । यतिबेला विश्व नै ऊर्जामय बनेको छ । ऊर्जा बेचेरै विश्वका कयौँ देश समृद्ध बनेका छन् । ऊर्जाका स्रोतमाथि प्रभुत्वको टकराव चल्दा कयौँ देश युद्धको चपेटामा पनि परेका छन् । हाम्रो देश नेपाल चाहिँ पेट्रोलियम ऊर्जा खरिदकै कारण चुलिएको व्यापार घाटा भोग्न विवश छ । वार्षिक २ खर्बभन्दा बढीको पेट्रोलियम र अन्य जैविक ऊर्जाको प्रयोगलाई बिजुलीले विस्थापन गर्न सके साँच्चै व्यापार घाटा घट्न सक्छ । अझ बेच्न पनि सक्ने हो भने देश नै समृद्ध बन्छ । यतिबेला विश्व नै कार्बन उत्सजर्न घटाउन हरित ऊर्जाको रट लगाइरहेको छ ।

प्रत्येक देशले कार्बन शून्य बनाउने सीमासहितको प्रतिबद्धता जारी गरेका छन् । यता ६ हजारभन्दा बढी खोलानदी हुँदै सेतो सुनको रुपमा बगिरहेको पानीबाट विद्युत् निकालेर दक्षिण एसियामै हरित ऊर्जाको वकालत नेपालले गर्न सक्छ । यी यस्तै पृष्ठभूमि र हरित ऊर्जाको बढ्दो महत्वका बीच नेपालमा वैशाख दोस्रो साता चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्न लागिएको छ । विश्वकै हाइड्रो तथा हरित ऊर्जा पक्षधरहरू उक्त एक्स्पोमा सहभागी हुने अपेक्षा गरिएको छ । प्रस्तुत छ, उक्त एक्स्पो तयारीसहितका विषयबारे आयोजक इपानका अध्यक्ष गणेश कार्कीसँग ऊर्जा खबरले गरेको संवादको सार संक्षेप :


‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको चौथो संस्करणको हिमालयन हाइड्रो एक्सपोको तयारी कसरी अघि बढिरहेको छ ? 

जलविद्युत् र अन्य ऊर्जासँग सम्बन्धित विश्वका थुप्रै देशका कम्पनीलाई हामीले निमन्त्रणा पठाइसकेका छौँ । भारत, अमेरिका, क्यानडा, युरोपेली देशका धेरै कम्पनीले सहभागी हुन रुचि देखाएका छन् । एक्स्पो आउन एक महिना बाँकी छँदै ५० प्रतिशतभन्दा बढी स्टलसमेत बिक्री भइसकेको छ । स्टललाई हामीले ‘ए’, ‘बी’ र ‘सी’ गरी ३ वर्गमा छुट्याएका छौँ । ‘सी’ वर्गका सबै स्टल बिक्री भइसकेको छ । ‘बी’ को पनि ५० प्रतिशतभन्दा बढी बिक्री भइसकेको छ । ‘ए’ को पनि बिक्री हुने क्रम जारी छ । सम्भवतः अर्को सातासम्ममा सबै स्टल बिक्री भइसक्ने हामीले आकलन गरेका छौँ । स्टल नपुग्ने अवस्था पनि आउन सक्छ । स्टल नपुगेको अवस्थामा पनि सबै पक्षको सहभागीता होस् भनेर हामीले पत्राचार गरिरहेको अवश्था छ ।

हामीले सम्माननीय राष्ट्रपति ज्यूलाई निम्ता पठाएका छौँ । उहाँको स्वीकृति प्राप्त हुनासाथ हमी थप तयारीमा लाग्छौँ । ऊर्जा मन्त्रालय, लगानी बोर्ड जस्ता थुप्रै निकाय र संस्थाले पनि हामीसँग सहकार्य गर्ने तयारी गर्नुभएको छ । हामीले वैशाखको १२, १३ र १४ गते एक्स्पो आयोजना गर्न लागिएको छ । वैशाखको १६ र १७ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनका लागि पनि यो एक्सपोले निकै ठूलो भूमिका खेल्छ भन्ने लागेको छ । र, त्यसैअनुसार हामीले थुप्रै व्यक्ति, संस्था तथा कम्पनीलाई बोलाउने काम गरेका छौँ । यो एक्स्पो भव्य बनाउन हामी लागिपरेका छौँ ।

हिमालयन हाइड्रो एक्स्पोको खास उपादेयता के हो ?

पछिल्लो समय भारतले नेपालसँग १० वर्षमा दैनिक १० हजार मेगावाट बिजुली किन्ने दीर्घकालिक विद्य्त व्यापार सम्झौता गरेको छ । त्यसपछि नेपाल सरकारले पनि १२ वर्षमा १५ हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने गरी २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र बनाएर अघि बढेको अवस्था छ । योसँगै संसारभर हरित ऊर्जाको कुरा जोडतोडका साथ उठिरहेको छ । नेपालमा पनि पेट्रोलियमसहितका जीवावशेष ऊर्जाको प्रयोग घटाउँदै नवीकरणीय ऊर्जालाई नै प्राथमिकता दिने नीति लिइएको छ । यो सन्दर्भमा हामीलाई आन्तरिक खपत र निर्यातका लागि पनि हरित ऊर्जाको आवश्यकता बढेर गएको छ ।

हरित ऊर्जाको प्रयोग बढाउन जल, वायु, सूर्यलगायतका माध्यमबाट प्राप्त हुन सक्ने विद्युत्‌ उत्पादन बढाउनु पर्ने भएको छ । विद्युत् उत्पादन गर्न हामीसँग खोला नदी मात्र भएर पनि पुग्दैन । खोलामा गएर विद्युत् आयोजना निर्माण गर्न विज्ञ अध्ययनकर्ता, इन्जिनियर, डिजाइनर, प्राविधिक, आपूर्तिकर्ता, उपकरण उत्पादक, सिमेन्ट उत्पादक, डन्डी उत्पादक, लगानीकर्ता, बैंक, वित्तीय संस्थालगायत धेरै पक्षको हातेमालो आवश्यक हुन्छ । यी सबै पक्षले सबै पक्षलाई छुट्टाछुट्टै भेट्न धेरै मेहनत र समय खर्चिनुपर्ने हुन्छ । नयाँ प्रवर्द्धकले परियोजना बनाउँदा त झनै गाह्रो हुन्छ । त्यसो हुँदा यी सबै पक्षका व्यक्ति–व्यक्तित्वलाई एकै ठाउँमा ल्याएर सहकार्य गर्न सक्ने वातावरण निर्माण गर्न हामीले यो एक्स्पो आयोजना गर्न लागेका हौँ ।

यहाँहरूले हाइड्रो एक्स्पो भन्नु भएको छ । यसमा हाइड्रो पावरसँग सम्बन्धित मात्र सहभागी हुन्छन् कि अन्य ऊर्जासँग सरोकारवला पनि आउँछन् ?

हामीले सुरुमा हाइड्रो एक्स्पो भनेर नाम राख्यौँ । अहिले यो एउटा ब्रान्ड बनिसक्यो तर यो एक्स्पोमा हाइड्रोपावरबाहेक अन्य स्रोतको विद्युत्को क्षेत्रमा लागेका व्यक्ति, कम्पनी, संस्थाहरू समेत आउनु हुन्छ । अहिले मिश्रित नवीकरणीय ऊर्जाको अवधारणा अनुसार यसमा विद्युत् उत्पादन, वितरण र उपभोगसँग सम्बन्धित सबै पक्षको सहभागीता रहन्छ । यसमा सोलार क्षेत्रका थुप्रै कम्पनीहरू सहभागी हुने देखिन्छ । त्यस्तै, विद्युतीय सवारी उत्पादक र बिक्रेता, हेभी इक्विपमेन्टका उत्पादकहरूको समेत उपस्थिति रहन्छ ।

एक्स्पोमा स्वेदशी र विदेशी सहभागीताको हिस्सा कस्तो रहन्छ ?

यसमा स्वदेशी र विदेशी कम्पनीको हिस्सा आधा/आधा नै रहन्छ । अहिले नेपालमा मन्दी छ । वस्तु तथा सेवा उत्पादनको माग घटिरहेको छ । माग बढाइदिने क्षेत्र भनेको ऊर्जा नै हो । ऊर्जा क्षेत्र अघि बढ्यो भने आफू मात्रै अघि बढ्दैन । यसले अन्य उत्पादन उद्योगसहित समग्र आर्थिक गतिविधिलाई नै गति दिन्छ । बन्द भएर रहेका उद्योगहरू खुल्न सक्छन् । नेपाल सरकारको लक्ष्यलाई नै हेर्ने हो भने पनि ऊर्जा क्षेत्रमा सन् २०३५ सम्ममा ४६ खर्ब रूपैयाँ लगानी चाहिने औँलयाइएको छ । यो हिसाबले वर्षको करिब ५ खर्ब लगानी यो क्षेत्रमा चाहिन्छ । त्यती लगानी ल्याउन सक्ने हो भने देशकै अर्थतन्त्र र आर्थिक गतिविधि चलायमान हुन्छ । यसले सबै आर्थिक सूचकलाई माथि उठाउन सक्छ । त्यसो हुँदा यो एक्स्पोमा ऊर्जा क्षेत्रसँग जुनसुकै हिसाबले जोडिन सक्ने स्वदेशी कम्पनीहरु सहभागी हुनेछन् ।

विगतमा हिमालयन हाइड्रो एक्स्पोका ३ वटा संस्करण सम्पन्न भइसकेका छन् । ती एक्स्पोका उपलब्धिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

हामीले यो एक्स्पोको सुरुवात २०७४ बाट गरेका हौँ । त्यसताका हरित तथा नवीकरणीय ऊर्जालाई हेर्ने विश्व दृष्टिकोण फरक थियो । हामी आफैँ पनि नेपालमा कति बिजुली उत्पादन गर्ने भन्नेमा अन्योलमै थियौँ । किनभने, बजारको समस्या हुने हो कि भन्ने शंकाहरू विद्यमान थिए । भारतमा बिजुली बिक्री होला/नहोला, नेपालभित्रै खपत होला/नहोला भन्ने अवस्था थियो । आज विगतको भन्दा विल्कुलै फरक सन्दर्भमा हामी यो एक्स्पो गर्दै छौँ । भारतसँग भएको सम्झौता, नेपालको आफ्नै लक्ष्य, बंगलादेशसँग भएको सम्झौता सबैको लक्ष्य पूरा गर्न हामीसँग पर्याप्त परिमाणमा बिजुली हुनु आवश्यक छ । अब नेपालमा बढीभन्दा बढी विद्युत् उत्पादन गर्नुपर्ने अवस्थामा हामी पुगेका छौँ । अहिले विश्वका धेरै सरकार, कूतनीतिक नियोग, उत्पादक, आपूर्तिकर्ता, लगानीकर्ता, व्यक्ति तथा कम्पनीले नेपालको विद्युत् क्षेत्रमा गहिरो चासो देखाइरहेका छन् । विश्वका धेरै कम्पनी तथा सरकारले नेपालको यो एक्स्पोमा सहभागीता जनाउन चाहेका छन् । त्यसो हुँदा विगतका एक्स्पोमा भन्दा आउँदो एक्स्पो ढुक्क भएर नेपालको विद्युत् उत्पादनमा अघि बढ्नेहरूका लागि राम्रो उपयुक्त मञ्च तथा अवसर बन्न सक्ने हामीले ठानेका छौँ । यसले विगतको भन्दा अझ राम्रो र फरक नतिजा दिनेमा विश्वस्त छौँ ।

विगतका एक्स्पोभन्दा यसमा के कस्ता फरक विषयवस्तु समावेश हुनेछन् ?

अहिले धेरै नयाँ प्रविधि आइसकेका छन् । हाइड्रोजन ऊर्जाको विषय छ । नवीकरणीय ऊर्जाका विषय पहिला त्यति हुँदैनथे । अहिले नयाँ प्रविधिको नवीकरणीय ऊर्जाको विषय छ । सौर्य ऊर्जाका पनि धेरै नयाँ प्रविधि आएका छन् । ती प्रविधिहरू पनि समावेश हुन्छन् । थुप्रै खालका नयाँ नयाँ उत्पादक तथा आपूर्तिकर्ता आएका छन् । नेपालका उत्पादक कम्पनीहरूलाई पनि बचाउनुपर्ने दायित्व हामीसँग भएकाले उनीहरूको सहभागीता हुन्छ । त्यस्तै, छलफल र संवादका फरक सत्रहरू पनि राखिएका छन् । त्यस्तै, विगतमा हामी उत्पादन गर्न देऊ भन्थ्यौँ । अब हामी नेपाली निजी क्षेत्र पनि सक्षम छौँ । बेच्न पनि देऊ भन्ने अवस्थामा पुगेका छौँ । त्यस्तै, आम ऊर्जा उपभोक्ताले पनि अब उत्पादन बढेको अवस्थामा खपत पनि गर्नुपर्ने रहेछ भनेर सिक्नुपर्ने बेला भएको छ । आम उपभोक्ता, विद्यालय, कलेजका विद्यार्थीलाई पनि उपस्थित गराउने गरी हामीले तयारी गरेका छौँ । विगतको भन्दा फरक नै हुन्छ ।

एक्स्पोमा स्टलको संख्या कति जति रहन्छ र अवलोकनकर्ता कति उपस्थित हुने अपेक्षा गर्नुभएको छ ?

एक्सपोमा २०० भन्दा बढी स्टलहरू रहन्छन् । यी सबै स्टल भरिभराउन हुनेछन् । अहिले ऊर्जा कुनै प्रवद्र्धक सेयरधनीको मात्रै क्षेत्र हुन छोडेको छ । धेरै सर्वसाधारणले १००० रूपैयाँ नै किननहोस् ऊर्जा परियोजनाहरूमा लगानी गर्नुभएको छ । एउटै ऊर्जा कम्पनीको सेयरधनी हजारौँ, लाखौँको संख्यामा पुग्नु भएको छ । सबैको लगानीको क्षेत्र बनेको यो सबैले प्रयोग गर्ने वस्तुको क्षेत्र पनि हो । त्यसो हुँदा यसमा सबैलाई उत्तिकै चासो रहेको हामीले पाएका छौँ । यसमा विश्वका धेरै संस्था र कम्पनीहरू पनि रहने भएकोले उनीहरूको भनाइ के रहेछ भनेर बुझ्न पनि सबैले आउनुपर्छ । त्यसो हुँदा बढीभन्दा बढी अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेका छौँ ।

यति ठूलो एक्स्पोको आयोजना गर्न ठूलै खर्च हुन्छ होला । बजेटको व्यवस्थापन कसरी गर्नुभएको छ ?

प्रायोजन गर्ने, सहप्रायोजन गर्ने, स्टल खरिद गर्नेहरूबाट रकम संकलन हुन्छ । त्यही रकमबाट एक्स्पोको खर्च व्यवस्थापन हुने अपेक्षा गरेका छौँ । प्रवेश चाहिँ निःशुल्क गरेका छौँ ।

ऊर्जासँग सरोकार राख्ने सबै पक्षलाई एक्स्पोबारे के सन्देश दिनुहुन्छ ?

यो देश हामीले नै बनाउने हो । कसैले आएर बनाइदेला भनेर सोच्नु गलत हो । अब सम्पूर्ण नेपाली जनता, नेपालका राजनीतिज्ञ, नेपालका कर्मचारी सबैको साझा मुद्दा भएको देश बनाउने नै हो । त्यसले गर्दा हामी देश बनउन नेतृत्व लिएर अघि बढ्दै छौँ । त्यसो हुँदा जो उत्पादक तथा आपूर्तिकता हुनुहुन्छ, उहाँहरूले पनि स्टल खरिद गरेर सहयोग गर्नुपर्छ । त्यसबाट उहाँहरूको व्यापार पनि वृद्धि हुन्छ । यसका साथै सम्पूर्ण नेपालीले पनि कम्तीमा एक पटक अवलोकन गरिदिएर साँच्चै ऊर्जा के रहेछ, भनेर बुझ्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ । त्यस्तै, छलफलका सत्रहरूमा सहभागी भएर ऊर्जामा लगानी गर्नु भनेको के रहेछ, लगानीका सम्भावना के कस्ता छन् भनेर बुझिदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ । साथै ऊर्जा खपतका विषयमा जागरुक हुन पनि यो एक्स्पो अवलोकन गरिदिनुहुनेछ भन्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit